नेपाल–भारतबीच दीर्घकालीन विद्युत् व्यापारको बाटो खुला, भारतद्वारा सम्झौता पत्रको मस्यौदा स्वीकृत « Arthapath.com
१९ भाद्र २०८०, मंगलवार

नेपाल–भारतबीच दीर्घकालीन विद्युत् व्यापारको बाटो खुला, भारतद्वारा सम्झौता पत्रको मस्यौदा स्वीकृत



काठमाडौं । भारतको मन्त्रीपरिषद्ले नेपाल भारत दीर्घकालीन विद्युत् व्यापार सम्बन्धी सम्झौता पत्रको मस्यौदा स्वीकृत गरेको छ । हालै बसेको इन्डियन क्याबिनेटले उक्त मस्यौदा स्वीकृत गरेको हो ।

आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् किन्ने गरी भारतले उक्त मस्यौदा स्वीकृत गरेको हो । भारतको विद्युत् मन्त्रालयले गत असार पहिलो साता नै उक्त मस्यौदा मन्त्रीपरिषद्मा पेस गरेको थियो । त्यसको साढे दुई महिनापछि मन्त्रीपरिषद्ले मस्यौदा स्वीकृत गरेको हो । 

योसँगै नेपाल र भारतबिच दीर्घकालीन विद्युत् व्यापार सम्झौता गर्न बाटो खुला भएको छ । अब छिट्टै दुवै देशका ऊर्जा सचिवले सम्झौता पत्रमा हस्ताक्षर गर्नेछन् । त्यसा लागि एक विशेष समारोह आयोजना गरिनेछ । सम्झौता पत्रमा हस्ताक्षर भएपछि नेपाल विद्युत् प्राधिकरणले भारतका विद्युत् व्यापार कम्पनीहरूसँग दीर्घकालीन पीपीए गर्न सक्नेछ । 

गत जेठमा सम्पन्न प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको भारत भ्रमणमा नेपाल र भारतबिच दीर्घकालीन विद्युत् व्यापार गर्ने समझदारी भएको थियो । नेपालको तर्फबाट ऊर्जा सचिव दिनेश घिमिरे र भारतको तर्फबाट  तत्कालीन विद्युत् सचिव आलोक कुमारले  त्यसमा हस्ताक्षर गरेका थिए । 

अन्तिम सम्झौता पनि त्यस बेला नै गर्ने भनिएको थियो । त्यसका लागि नेपालले अन्तिम सम्झौता पत्रको मस्यौदा समेत मन्त्रीपरिषद्बाट स्वीकृत गरेर  लगेको थियो । तर, भारतको आन्तरिक निकाय र मन्त्रालयबाट त्यो स्वीकृत भएको थिएन । त्यसपछि त्यस बेला प्रारम्भिक सहमति मात्रै भएको थियो । त्यसलाई पूर्णता दिन सम्झौता पत्रमा नै हस्ताक्षर गर्नुपर्ने थियो, जुन सम्झौता पत्रको मस्यौदा भारतको मन्त्री परिषद्ले स्वीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्