एनआरएनलाई दोस्रो बजारमा प्रवेश गराउन अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा के-के छ ? « Arthapath.com
१७ असार २०८२, मंगलबार

एनआरएनलाई दोस्रो बजारमा प्रवेश गराउन अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा के-के छ ?



काठमाडौं । गैर आवासीय नेपालीहरूले नेपालको दोस्रो बजारमा कारोबार गर्नका लागि छुट्टै बैङ्क खाता खोल्ने व्यवस्था गर्नुपर्ने भएको छ ।नेपाल धितोपत्र बोर्डले तयार पारेको गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानीका लागि बाटो खुल्ला गर्न अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको हो । 

समितिले एनआरएनलाई भित्र्याउन गर्नुपर्ने नीतिगत परिवर्तन, राष्ट्र बैङ्क, धितोपत्र बोडले गर्नुपर्ने काम तथा प्रक्रियागत सुझावलाई समेटेर प्रतिवेदन तयार गरेको हो । राष्ट्र बैङ्कले गैर आवासीय नेपालीहरूलाई दोस्रो बजारमा कारोबार गर्नको लागि अलग्गै बैङ्क खाता खोल्ने सक्ने व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । 

यस्तै, गैर आवासीय नेपालीले धितोपत्र बजारमा गर्ने लगानी र रकम फिर्ता लैजाने सम्बन्धमा स्पष्ट र सहज हुने गरी छुट्टै निर्देशन जारी गर्नुपर्ने, धितोपत्र बोर्डले गैर आवासीय नेपालीले डिम्याट खाता खोल्ने प्रक्रियामा डिजिटल माध्यमबाट समेत खाता खोल्न सकिने व्यवस्था लागू गर्ने प्रतिवेदनमा उल्लेख छ । 

त्यसैगरि गैर आवासीय नेपालीले खरिद गर्न सक्ने–लगानी गर्न पाउने धितोपत्र/क्षेत्र/सङ्ख्या/लगानीको सीमा रकम–अवधि सम्बन्धी व्यवस्थाका लागि बोर्डले अलग्गै नियमावली तर्जुमा गर्नुपर्ने उल्लेख छ । अध्ययन समितिले दुवै नियामक निकाय नेपाल राष्ट्र बैङ्क र नेपाल धितोपत्र बोर्डले गर्नुपर्ने काम कारबाही लागि विभिन्न सुझाव समेत दिइएको छ । 

यसका लागि राष्ट्र बैङ्कले गैर आवासीय नेपालीलाई धितोपत्र बजारमा लगानी गर्नका लागि सहजीकरण गरिदिन संरक्षक सदस्य बैङ्कको व्यवस्था गर्न सकिने गरी नीतिगतरुपमा नै व्यवस्था गर्नुपर्ने, धितो पत्रमा लगानी गर्ने प्रयोजनका लागि तोकिएको संरक्षक सदस्य बैङ्कमा गैर आवासीय नेपालीले अलग्गै बैङ्क खाता खोल्न सक्ने व्यवस्था गरिदिने, लगानी र रकम फिर्ता लैजाने सम्बन्धमा स्पष्ट र सहज हुने गरी छुट्टै निर्देशन–नियमन, कार्यविधि जारी गर्ने  गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख  छ ।

यसका साथै गैर आवासीय नेपालीले संरक्षक सदस्य बैङ्कमा विदेशी मुद्रा खाता खोल्ने र रेमिटयान्स मार्फत विदेशी मुद्रा जम्मा गर्न सक्ने, सदस्य बैङ्कहरूले गैर आवासीय नेपालीहरूलाई उक्त विदेशी मुद्रा खातामा रहने कुल मौज्दातलाई सुरक्षणको रूपमा राखी सोको प्रचलित विनियमय दरले हुने रकमको बढीमा ९० प्रतिशतसम्म नेपाली मुद्रामा कर्जा प्रदान गर्न सक्ने र गैर आवासीय नेपालीहरूले सो नेपाली मुद्रामा लिएको कर्जा रकमबाट धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सक्ने, सदस्य बैङ्कबाट लिएको कर्जाको राफसाफ गरेपश्चात् रेमिटयान्स मार्फत ल्याएको जति रकम वा विदेशी मुद्रा खातामा जम्मा रहेको मौज्दात चाहेको बखतमा विप्रेषण गर्न सक्ने गरी आवश्यक व्यवस्था तोकिदिन सक्ने, यसबाट गैर आवासीय नेपालीलाई नेपाली धितोपत्र बजारमा लगानीको लागि आकर्षित गर्न सकिने र जसका माध्यमबाट विदेशी मुद्रा नेपाल भित्र्याउन तथा धितोपत्र बजार मार्फत पुँजी निर्माण तथा परिचालन गर्न सहज भई समग्र अर्थतन्त्रलाई नै सकारात्मक योगदान पुग्न सक्ने अध्ययन समितिको प्रतिवदनमा उल्लेख छ । 

यता, गैर आवासीय नेपालीले डिम्याट खाता खोल्ने प्रक्रियामा डिजिटल माध्यमबाट समेत खाता खोल्न सकिने व्यवस्था लागू गर्न नेपाल धितोपत्र बोर्डलाई अध्ययन समितिले सुझाव दिएको छ । बोर्डले यसका लागि धितोपत्रको केन्द्रीय निक्षेप सेवा विनियमावलीमा देहाय अनुसारको प्रावधान थप–संशोधन गर्नुपर्ने, निक्षेप सदस्यहरुले गैर आवासीय नेपालीहरूको डिम्याट खाता खोल्दा नेपाल सरकारले जारी गरेको गैर आवासीय परिचयपत्रका आधारमा विद्युतीय माध्यमबाट ग्राहक पहिचान गरी खाता खोल्न तथा खाता अद्यावधिक गर्न सक्ने व्यवस्था गर्नुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

यस्तै, गैर आवासीय नेपालीलाई धितोपत्र दलालकोमा ट्रेडिङ्ग खाता खोल्न, ग्राहक पहिचानलाई सरलीकरण गरी प्रविधि प्रयोग गर्न धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ देहाय अनुसारको प्रावधान थप गर्नुपर्ने, धितोपत्र दलालले गैर आवासीय नेपालीको कारोबार गर्नु अघि ग्राहकको ट्रेडिङ्ग खाता खोल्दा तथा ग्राहक पहिचान विवरण राख्दा गैर आवासीय नेपालीको परिचयपत्रका आधारमा विद्युतीय माध्यमबाट गर्न सक्ने, साथै त्यस्तो विवरण तोकिएको समय अन्तरालमा विद्युतीय माध्यमबाट अद्यावधिक गर्ने सम्पूर्ण जिम्मा धितोपत्र दलालले गर्ने  उल्लेख छ । 

धितोपत्र दलालले सेवा प्रदान गर्दा अपनाउनुपर्ने उपाय र सेवालाई सरलीकरण गर्ने देहाय अनुसारको व्यवस्था गर्नुपर्ने, धितोपत्रको दोस्रो बजारमा गरिने कारोबारका लागी खोलिएको बैङ्क खाता, डिम्याट खाता र धितोपत्र दलालसँग खोलेको खाता एक आपसमा आवद्ध हुनु पर्ने, गैर आवासीय नेपालीले कारोबार गरेको धितोपत्रको राफसाफ तथा फर्छ्यौट गरी प्रचलित कर एवं शुल्क कमिसनहरू भुक्तान गरी ग्राहकको बैङ्क खातामा रकम तथा डिम्याट खातामा शेयर जम्मा गरिदिने, गैर आवासीय नेपालीले खरिद गर्न सक्ने–लगानी गर्न पाउने धितोपत्र–क्षेत्र–सङ्ख्या–लगानीको सीमा रकम–अवधि तथा रकम फिर्ता लाने प्रक्रिया, सूचीकृत सङ्गठित संस्थाको वार्षिक साधारण सभामा मतदान गर्ने तथा सञ्चालक समितिमा भाग लिने सम्बन्धी व्यवस्था, सम्पत्ति हस्तान्तरण–अपुताली सम्बन्धी व्यवस्थाका आदि सम्बन्धी व्यवस्थाका लागि बोर्डले अलग्गै नियमावली तर्जुमा गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । 

यस्तै, गैर आवासीय नेपालीका लागि धितोपत्रको दोस्रो बजारमा परिवर्तनीय बैङ्क खाता खोली कारोबारका लागि सहजीकरण गर्न (विदेशी तथा स्वदेशी मुद्रामा खाता खोल्ने) धितोपत्र बोर्डको अनुरोधमा नेपाल राष्ट्र बैङ्कबाट इच्छुक वाणिज्य बैङ्कहरूलाई गैर आवासीय नेपालीको लागि नेपालको दोस्रो बजारमा कारोबारका लागि सहजीकरण गर्न संरक्षक सदस्य बैङ्कको अनुमतिको व्यवस्था गर्नु पर्ने, संरक्षक सदस्य बैङ्कले गैर आवासीय नेपाली ग्राहकको तर्फबाट डिम्याट खाता खोल्ने, धितोपत्र दलालकोमा ग्राहकको तर्फबाट कारोबार खाता खोलिदिने, ग्राहकको तर्फबाट विद्युतीय निर्देशन पुर्जी जारी गर्न सक्ने सम्बन्धमा धितोपत्र बोर्डलेसदस्य बैङ्कको कार्यक्षेत्र तोक्ने व्यवस्था मिलाउने, सदस्य बैङ्कले शुल्क लिई गैर आवासीय नेपालीसँग सम्झौता गरी यी सेवा प्रदान गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ । 

त्यसैगरि संरक्षक सदस्य बैङ्कले गैर आवासीय नेपाली ग्राहकको कारोबारको प्रतिवेदन नेपाल राष्ट्र बैङ्क तथा धितोपत्र बोर्डलाई तोकिएको समयभित्र गराउनुपर्ने व्यवस्था मिलाउने,यसैगरी धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न इच्छुक गैर आवासीय नेपालीले गैर आवासीय नेपालीको परिचयपत्रका आधारमा अनुमति प्राप्त संरक्षक सदस्य बैङ्क मध्ये कुनै एक बैंकसँग आफै वा त्यस्तो बैङ्कको विदेश स्थित उपलब्ध प्रतिनिधि एजेन्ट वा त्यस्तो बैङ्कले गरेको विद्युतीय माध्यम मार्फत सम्पर्क स्थापित गरी त्यस्तो बैङ्कमा विदेशी मुद्रा खाता खोल्नु पर्ने व्यवस्था गर्नुपर्ने सुझाव समितिले दिएको छ ।

समितिले संरक्षक सदस्य बैङ्कले गैर आवासीय नेपालीको तर्फबाट डिम्याट खाता खोल्ने तथा धितोपत्र दलालकोमा ग्राहकको कारोबार खाता खोलिदिई त्यसको युजर आइडी तथा पासवर्ड ग्राहकलाई उपलब्ध गराउने व्यवस्था मिलाउने र ग्राहकले कारोबार गरेपछि विद्युतीय निर्देशन पुर्जी जारी बैङ्क आफैले गरिदिने र सोको जानकारी ग्राहकलाई तत्कालै गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने जनाएको छ ।

प्रतिवेदनमा भनिएको छ,–‘ग्राहकले कारोबार गर्ने प्रयोजनका लागि विदेशी मुद्रा खातामा सर्वप्रथम रकम जम्मा गर्नुपर्ने व्यवस्था गर्ने र ग्राहकको अनुरोधमा उक्त खातामा जम्मा भएको विदेशी मुद्रामा अङ्कित रकममध्ये ग्राहकले चाहे जति रकम कारोबार प्रयोजनका लागि खोलिएको नेपाली मुद्राको चल्ती खातामा प्रचलित विनिमय दरले रकमान्तर गरी जम्मा गरिदिने व्यवस्था संरक्षक सदस्य बैङ्कले मिलाउनुपर्ने छ । त्यस्तो खातालाई ग्राहकको डिम्याट खाता तथा कारोबार खातासँग आवद्ध  गराई त्यस्तो खाताबाट खरिद कारोबार गर्दा कट्टा गर्ने र बिक्री कारोबार गर्दा जम्मा गर्ने व्यवस्था बैङ्कले मिलाउने मिलाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ। बैङ्कले यो कार्यको लागि कुनै धितोपत्र दलालसँग सम्झौता गरी कार्य गर्न सक्नेछन्।’

यस्तो छ अध्ययन प्रतिवेदन


प्रतिक्रिया दिनुहोस्