सिटिजन लाइफको आइपीओ बाँडफाँट, ९ लाखले पाए १०/१० कित्ता सेयर
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट सम्पन्न भएको हो ।
आइपीओमा कुल १५ लाख ८४ हजार ५ सय ९७ जनाको आवेदन परेपनि १४ लाख ७ हजार २ सय ३७ जना मात्र सेयर पाउनको लागि योग्य भएका छन्। अर्थात् आवेदन दिएका मध्ये १ लाख ७७ हजार ३ सय ६० जना आवेदन रद्ध भएको छ ।
माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । जसमा ९ लाख आवेदनले १०/१० कित्ताका दरले सेयर हात पारेका छन् । जसमा ५ लाखको हात खालि भएको छ ।
भदौ १५ गतेदेखि कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गरेको हो । कम्पनीले सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी कुल २४४ रुपैयाँमा आइपीओ जारी गरेको थियो । कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर जारी गर्न अनुमति पाएको थियो। सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिसेयर १०० रुपैयाँमा कम्पनीका कर्मचारीहरूका लागि निष्कासन गरिसकेको छ ।
बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयरको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि तथा ५ लाख ६२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले बाँकी रहेको ९० लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको थियो ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ त्रिपल बी प्रदान गरेको छ । यो भनेको कम्पनीको वित्तीय दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको सङ्केत गर्दछ ।













