दुई महिनामा १८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता: नयाँभन्दा पुरानो उद्योगमा धेरै, कुन क्षेत्रमा कति ?
काठमाडौं । दुई महिनामा करिब १८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता भएको छ । उद्योग विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
यी दुई महिनामा कुल १७ अर्ब ८५ करोड ६३ लाख ४४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको छ । भदौ मसान्तसम्ममा सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट(एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट(टीटीए) क्षेत्रसहित नयाँ उद्योगमा गरी लगानी प्रतिबद्धता जनाएका छन् ।
भदौमा ५ अर्ब ८८ करोड ८५ लाख १४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको विभागले जनाएको छ । यद्यपि, यो गत साउनको तुलनामा भने ५०.७९ प्रतिशतले कमी हो । गत साउनमा कुल ११ अर्ब ९६ करोड ७८ लाख ३० हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको थियो ।
भदौमा नयाँ उद्योगभन्दा पुरानो उद्योगमा बढी लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार भदौमा ५१ वटा नयाँ उद्योगका लागि २ अर्ब ७२ करोड २४ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । तर, पुरानो उद्योगमा भदौमा एसपीए र एसएसएमार्फत ११ वटा उद्योगका लागि ३ अर्ब १६ करोड ६१ लाख १४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।
विभागका अनुसार विभिन्न मुलुकहरूबाट १११ वटा नयाँ उद्योगमा १४ अर्ब ६५ करोड ४२ लाख रुपैयाँ लगानी प्रतिबद्धता भएको छ । चालु आवको साउन देखि भदौसम्ममा एसपीए/एसएसएममार्फत् १२ वटा उद्योगमा लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । विभागका अनुसार ती उद्योगका लागि ३ अर्ब २० करोड २१ लाख रुपैयाँ लगानी प्रतिबद्धता भएको छ ।

चालु आवको दुई महिनामा विभागमा दर्ता भई लगानी प्रतिबद्धता जनाएका उद्योगहरूबाट ५ हजार ५०२ जनाले रोजगारी पाउने छन् । नयाँ उद्योगमा लगानी प्रतिबद्धता आएकोमध्ये २ वटा ठुला, ५ वटा मध्यम र १०४ वटा साना उद्योग रहेका छन् ।
विभागका अनुसार सबैभन्दा धेरै पर्यटन क्षेत्रका उद्योगमा लगानी प्रतिबद्धता भएको छ । समीक्षा अवधिमा पर्यटन क्षेत्रमा ५३ वटा लगानी प्रतिबद्धता भएको हो । यस्तै, सेवा क्षेत्रमा ४४, उत्पादन क्षेत्रमा ९, सूचना तथा प्रविधि क्षेत्रमा २, पूर्वाधार क्षेत्रमा २ र कृषि क्षेत्रमा १ वटा उद्योगमा लगानी प्रतिबद्धता जनाइएको छ ।
हालसम्म ४ खर्ब ६४ अर्ब ६२ करोड ३१ लाख रुपैयाँको लगानी प्रतिबद्धता भएको विभागले जनाएको छ । त्यसबाट ३ लाख १४ हजार ५८७ जनाले रोजगारी पाएका छन् । गत आर्थिक वर्ष २०७९/८० मा भने ३८ अर्ब ६६ करोड ९० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी आएको थियो ।
गत आवमा ३२७ वटा उद्योग तथा कम्पनीमा विदेशी लगानी प्रतिबद्धता आएको हो । १७ हजार १२ जनालाई रोजगारी दिने गरी विदेशी लगानी प्रतिबद्धता आएको हो । समीक्षा वर्षमा साना आकारका २९७, मध्यमा आकारका २५ र ठुला स्केलका ५ कम्पनीमा विदेशी लगानी प्रतिबद्धता आएको हो । त्यसमा सेवा क्षेत्रमा सबै भन्दा धेरै उद्योग रहेका छन् । सेवा क्षेत्रमा १३४ वटा उद्योगले विदेशी लगानी ल्याउने प्रतिबद्धता भएको थियो ।
यसै गरी पूर्वाधारमा १०, आईसीटीमा १६, उत्पादनमा २९, ऊर्जामा १, कृषिमा १, पर्यटनमा १३४ र मिनिरल्समा २ उद्योग तथा कम्पनीले विदेशी लगानी ल्याउने प्रतिबद्धता जनाइएको थियो ।













