दबाबमै देखियो भन्सार राजश्व, चाडबाडको बेलामा पनि आयात गर्न व्यवसायी डराएका हुन् ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा साढे दुई खर्बको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार साउन र भदौमा कुल २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ बराबरको बस्तु आयात भएको हो ।
गत साउनमा १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख रुपैयाँ बराबरको आयात भएको थियो । तर, भदौमा थप १ खर्ब ३० अर्ब रुपैयाँ बराबरको मात्रै आयात भएको छ । भदौ महिनादेखि नेपालमा चाडपर्वहरू सुरु हुन्छ । भदौ महिनालाई धेरै वस्तु आयात हुने महिनाको रूपमा लिइन्छ । यस वर्षको सो महिनामा भने आयात बढ्न नसकेको तथ्याङ्कले देखाउँछ । गत आवको भदौ महिनासम्ममा नेपालले २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने यस्तो आयात १३ अर्ब ८४ करोड ९७ लाख रुपैयाँले खुम्चिएको छ ।
अघिल्लो वर्षको तुलनामा आयात ५.०६ प्रतिशतले घटेको छ । विशेषगरि नेपालमा मुख्य चाडबाडका रूपमा दसैँ तिहार, छठ पर्वलाई लिइन्छ । यी चाडवाड असोज र कात्तिकमा पर्छन्। सोही पर्व लक्षित गर्दै व्यवसायीहरूले भदौमा नै ठुलो मात्रामा वस्तु आयात गर्ने गर्छन् । तर, यस वर्षको चाडपर्वको मुखैमा पनि आयात गर्न व्यवसायीहरू डराएको देखिन्छ । आयातको तथ्याङ्क हेर्दा उत्साहजनक पाइँदैन । विशेषगरि बजारमा डिमान्ड (माग) नभएकाले नै आयात घटेको जानकारहरू बताउँछन् । आन्तरिक अर्थतन्त्र अझै लय फर्किन नसकेकाले पनि यसको प्रभाव आयातमा देखिएको एक अधिकारीले बताए । उनले भने,–‘लामो समयदेखिको आर्थिक सङ्कटले उपभोक्ताको क्रय शक्ति घटेको छ, आम्दानी पनि घटेको छ । खर्च बढ्दो क्रममा छ । महँगीको भारमा परेका उपभोक्ता अझै उठ्न सकिरहेको अवस्था छैन । यसले आयात समेत प्रभावित भएको छ ।’
आन्तरिक अर्थतन्त्र चलायमान नभएकाले नै अन्तरदेशीय व्यापारमा त्यसको प्रभाव देखिएको जानकारवालाहरु बताउँछन् । ‘आर्थिक संकटको प्रभाव अझै छ । वस्तु तथा सेवाको बजारमा माग बढ्नै सकेको छैन । यस्तो अवस्थामा ठुलो मात्रामा आयात गर्दा बिक्री नहुने डर व्यवसायी देखिन्छन् । त्यसले पनि चाडबाडको मुखैमा आयात बढ्न नसकेको बुझिन्छ’–एक अधिकारीले भने ।
पछिल्लो समय आयातकै लागि एलसी पनि कम मात्रामा खुल्ने गरेको बैंकरहरुको भनाई छ । धेरै एलसी नखुल्दा नै बैङ्कहरूको कर्जा प्रवाह समेत बढ्न नसकेको पाइन्छ । एक बैंकरले भने,– ‘चालु आवको पहिलो दुई महिनामा आयातका लागि एलसी पनि धेरै खुलेको छैन । त्यसले बैङ्कहरूको कर्जा लगानी समेत सुस्त बनाएको छ’–उनले थपे,‘दसैँ तिहार, छठ पर्व जस्ता चाडबाडकै लागि भदौमा आयातकर्ताले आयात बढाउने गर्छन् । तर, चालु आवको भदौमा त्यस्तो सङ्केत देखिएन ।’
निर्यात पनि निराशाजनक, २ खर्ब ३३ अर्बको व्यापार घाटा
चालु आवको पहिलो दुई महिना (साउन– भदौ )मा २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँ बराबरको माल वस्तु नेपाल निर्यात गरेको छ । जुन, अघिल्लो आवको सोही अवधिको तुलनामा २ अर्ब २३ करोड ३४ लाख रुपैयाँले कमी हो। समीक्षा अवधिमा निर्यात ७.७९ प्रतिशतले घटेको छ । अघिल्लो आवको पहिलो दुई महिनामा नेपालले २८ अर्ब ६८ करोड ४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो ।
समीक्षा अवधिमा आयात अनुसार निर्यात नहुँदा पनि ठुलो मात्रामा व्यापार घाटा नेपालले व्यहोरेको छ । चालु आवको दुई महिनामा नेपालले विभिन्न देशहरुसंगको व्यापारमा २ खर्ब ३३ अर्ब ३० करोड २८ लाख रुपैयाँ घाटा व्यहोरेको हो । यद्यपि, गत आवको सोही अवधिको तुलनामा भने ४.७४ प्रतिशतले कम हो । समीक्षा अवधिमा नेपालले कुल २ खर्ब ८६ अर्ब १९ करोड ९६ लाख रुपैयाँ वैदेशिक व्यापार गरेको छ ।
आयात नबढ्दा दबाबमै भन्सार राजश्व
आयात नबढ्दा भन्सार राजश्व पनि दबाबमा देखिएको छ । नेपालमा पछिल्लो समय आयात बढ्न सकेको छैन । आयात नबढ्दा नै राजश्व वृद्धिमा पनि उत्साह नदेखिएको हो ।
विशेषगरि आर्थिक सङ्कटका कारण नेपालमा आयात बढ्न नसकेको हो । महँगी लगायतका कारण उपभोक्ताको क्रय शक्ति घटेको छ । त्यसले बजारमा वस्तुको माग घटाएको छ । यसरी बजारमा माग घट्दा आयात बढ्न सकेको छैन, जसको प्रभाव राजश्व सङ्कलनमा पनि देखिएको हो । चालु आवको दुई महिनामा आयातमार्फत सरकारलाई ६७ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ राजश्व गएको छ । तर, अघिल्लो वर्षको तुलनामा भने शून्य दशमलव ४५ प्रतिशतले मात्रै बढी हो ।
नेपाल सरकारको आम्दानी नै राजस्व सङ्कलनमा निर्भर छ । त्यसमा पनि आयातमार्फत हुने राजस्वमै सरकारको आम्दानी बढी निर्भर छ । सरकारको कुल राजश्वमा ४० प्रतिशतदेखि ५० प्रतिशतसम्मको हिस्सा भन्सार राजश्वले ओगटेको हुन्छ । यसरी आयात घट्नुलाई सकारात्मक रूपमा लिए पनि राजस्व सङ्कलनमा प्रभावित हुने गरेको विज्ञहरूको भनाई छ । गत साउनमा भने आयात मार्फत सरकारले ३२ अर्ब ३३ करोड ७३ लाख रुपैयाँ राजश्व पाएको थियो । यद्यपि, साउनको तुलनामा भने भदौमा ३५ अर्ब १३ करोड ७९ लाख बढी राजश्व उठेको छ ।













