अधिकांश आर्थिक साझेदारहरूसँग घाटा व्योहोर्ने नेपाल अमेरिकासँग किन लगातार नाफामा गइरहेको छ ?

काठमाडौँ । नेपालले २ दुई महिनामा विश्वका १२४ भन्दा बढी मुलुकसँग व्यापार गरेको छ । तर, ती सबै मुलुकहरुसंगको व्यापार सुखद छैन, अर्थात् अधिकांश आर्थिक साझेदार मुलुकहरूसँगको व्यापारमा नेपालले घाटा व्योहोरेको छ ।
चालु आर्थिक वर्ष २०७८०/८१ को भदौ मसान्तसम्ममा नेपालले २१ वटा देशसँग व्यापारमा मात्रै नाफामा छ । तर, त्यसबाहेक मुलुकसँग को व्यापारमा व्योहोरेको घाटा क हो । भन्सार विभागले हालै सार्वजनिक गरेको साउन–भदौको तथ्याङ्कले यस्तो देखाएको हो । भदौसम्म २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ बराबरको बस्तु तथा सेवा नेपालले आयात गरेको छ । तर, २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँको मात्रै निर्यात गरेको छ । चालु आवको दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ३३ अर्ब ३० करोड २८ लाख रुपैयाँ पुगेको छ ।
नेपालले सबैभन्दा धेरै व्यापार छिमेकी मुलुक भारतसँग गर्छ । तर, सोही देशसँगको व्यापारमा ठुलो घाटा छ । चालु आवको दुई महिनामा भारतसँगको व्यापारमा नेपालले १ खर्ब ४४ अर्ब २ करोड २९ लाख रुपैयाँ घाटा व्योहोरेको छ। समीक्षा महिनामा भारतबाट नेपालले १ खर्ब ६० अर्ब ७५ करोड ७९ लाख रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात गरेको छ । तर, १६ अर्ब ७३ करोड ५० लाख रुपैयाँको मात्रै निर्यात गर्न सफल भएको छ । आयात भन्दा निर्यात कम हुँदा नै देशले घाटा व्योहोर्नु परेको हो । यता, अर्को ठुलो आर्थिक साझेदार चीनसँग पनि नेपालले दुई महिनामा ४५ अर्ब ९९ करोड ९८ लाख रुपैयाँ घाटा व्योहोरेको छ । अर्थात् साउन–भदौमा चीनबाट ४६ अर्ब ५४ करोड ३२ लाख रुपैयाँको आयात भएको छ । तर, नेपालबाट भने ५४ करोड ३३ लाख रुपैयाँ बराबरको मात्रै वस्तु तथा सेवा निर्यात भएको छ।
अधिकांश मुलुकसँग घाटा व्योहोरेको नेपालले विश्वकै ठुलो अर्थतन्त्र भएको मुलुक अमेरिकासँग भने नाफा देखिएको छ । अमेरिकालाई नेपालको तेस्रो आर्थिक साझेदारको रूपमा लिइन्छ । अघिल्लो वर्षहरूमा अमेरिकासँगको व्यापारमा पनि नेपालले घाटा खाँदै आएको थियो । तर, यो क्रम पछिल्ला वर्षहरूमा सुधार आई नाफामा पुगेको छ । चालु आवको दुई महिनामा नेपालले ३ अर्ब ३६ करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा अमेरिका निर्यात गरेको छ । समीक्षा अवधिमा अमेरिकाबाट भने २ अर्ब २२ करोड ६ लाख रुपैयाँको मात्रै आयात गरेको छ । आयातको तुलनामा निर्यात बढी भएपछि नै व्यापारमा नाफा गरेको हो ।
नेपालबाट अमेरिकातर्फ सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा कार्पेट, गलैँचा, ऊनी र छुर्पी पर्छन् । यीनै वस्तुको निर्यात बढ्दा नेपाललाई अमेरिकासँगको व्यापारमा नाफा देखिएको हो । यसबाहेक नेपालबाट पास्ता, सुगन्धित तेल (अत्तर) हस्तकलाका सामग्री, हाते कागज, पस्मिना, कटनका कपडा, पस्मिनाबाट निर्मित सल र मफलर, सुनचाँदीका गरगहना, वाद्यवादनका सामग्री र ड्रइङ (पेन्टिङ) निर्यात हुन्छ । नेपालमा निर्मित पस्मिना, कार्पेट, गलैँचा र गरगहनाको ठुलो बजार अमेरिकामा देखिन्छ । भदौ महिनामा नेपालबाट १ अर्ब ११ करोड ६१ लाख रुपैयाँ बराबरको कार्पेट अमेरिकाले लगेको छ । यस्तै, ४७ करोड ८९ लाख रुपैयाँ बराबरको कुकुर बिरालो आहाराको लागि प्रयोग हुने नेपाली छुर्पी (डग च्यू) निर्यात भएको छ । जसले नेपालको अमेरिकासँगको व्यापारलाई नाफामा पुर्याउन ठुलो योगदान दिएको छ । अमेरिकासँगको व्यापारमा विशेषगरि गलैँचा, कार्पेट र कुकुर बिरालोको आहारा निर्यातको उल्लेख्य योगदान देखिन्छ ।
चालु आवको साउनमा अमेरिकासँगको व्यापारमा नेपालले ६८ करोड २९ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको थियो । अमेरिकाबाट साउनमा १ अर्ब ९ करोड ३७ लाख रुपैयाँ बराबरको वस्तु तथा आयात भएको देखिन्छ । तर, सो मुलुकमा नेपालले १ अर्ब ७७ करोड ६६ लाख रुपैयाँ बराबरको निर्यात गरेको थियो ।
अमेरिकाबाट भने विभिन्न तरकारीका बिउहरू, भटमास, कफी, चकलेट, लगायतका दर्जनौँ वस्तुहरू आयात गरेको छ । भन्सार विभागका अनुसार नेपालले एभोकार्डो, सखरखण्ड, चुइङ्गम, फुड सप्लिमेन्ट, ह्विस्कीको कच्चा पदार्थ फर्नेस आयल, बेस आयल, लुब्रिकेन्ट आयल, खाद्य तथा मेसिनरी कच्चा पदार्थ, भ्याक्सिन, कस्मेटिक सामग्रीहरू, स्याम्पु, साबुन, मेडिकल इक्युपमेन्ट लगायतका अन्य वस्तु तथा सेवा आयात भएका छन् ।
अघिल्ला पाँच वर्षसम्म नेपालले अमेरिकासँगको व्यापारमा लगातार घाटा व्योहोरेको थियो । तर, गत वर्षदेखि भने लगातार नाफामा गएको देखिन्छ । गत आर्थिक वर्ष २०७९/८० मा पनि अमेरिकासँग नेपालको व्यापार १४ करोड ६५ लाख रुपैयाँ नाफामा रहेको थियो । गत आव भार नेपालले अमेरिकाबाट १९ अर्ब ४२ करोड ४८ लाख रुपैयाँ वस्तु तथा सेवा आयात गरेको थियो । सो अवधिमा १९ अर्ब ५७ करोड १४ लाख रुपैयाँ बराबरको निर्यात गर्न सफल भएको थियो ।