लगानीकर्ताको घेराउपछि अर्थमन्त्री भने,–‘१२ करोडको क्याप हटाउँ भनेकै छु, गभर्नर मान्दैनन् त मैले के गर्ने ?’ « Arthapath.com
१५ आश्विन २०८०, सोमबार

लगानीकर्ताको घेराउपछि अर्थमन्त्री भने,–‘१२ करोडको क्याप हटाउँ भनेकै छु, गभर्नर मान्दैनन् त मैले के गर्ने ?’



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतलाई लगानीकर्ताले घेराउ गर्दै सेयर कर्जामा १२ करोडको क्याप हटाउन माग गरेका छन् ।

सोमबार नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता दिवसको अवसरमा आयोजित कार्यक्रममा लगानीकर्ताहरुले अर्थमन्त्री महतलाई सो माग गरेका हुन् ।

सेबोनले आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्वोधन गरेर फर्किने बेलामा अर्थमन्त्री महतलाई लगानीकर्ताले सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउन भनेका थिए । अर्थमन्त्री समक्ष उनीहरुले नीतिगत व्यवस्थालाई परिमार्जन गर्न माग गरेका हुन् । ‘नीतिगत व्यवस्था परिमार्जन गर्नुपर्यो, सेयर कर्जामा १२ करोडको क्याप हटाउन पर्यो’– लगानीकर्ताहरुले अर्थमन्त्री महतलाई भने ।

तर, लगानीकर्ताहरुसंग अर्थमन्त्री महतले कड्किएका थिए । उनले जे पायो त्यहीमा लगानी गर्ने भन्दै लगानीकर्ता थर्काएका थिए । उनले भने,–‘जस्तो पायो त्यस्तै कम्पनीमा लगानी गर्ने तर, डुबायो भनेर सरकारसंग गुनासो गर्ने ? तर, लगानीकर्ताले भने नीतिगत कारण नै त्यस्तो भएको गुनासो गरेका थिए । यद्यपि, सेयर कर्जामा १२ करोडको क्याप हटाउन नेपाल राष्ट्र बैंकका गभर्नरलाई अनुरोध गरेको अर्थमन्त्री महतले बताए । तर, पनि गभर्नरले नमानेको उनको भनाई थियो । ‘मैले सेयर कर्जामा १२ करोडको क्याप हटाँऊ भनेकै छु, गभर्नरलाई पनि भनेकै हुँ । तर, गभर्ननर मान्दैनन् त मैले के गर्ने ?’

फेरी लगानीकर्ताका प्रश्नका वर्षा रोकिएन । ‘निर्देशन दिने ठाउँमा भएर पनि तपाईको निर्देशन नमान्ने कस्तो संस्था बनाउनु भएको छ त ?’–उनीहरुले भने । त्यसपछि भने अर्थमन्त्री महत कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।

तर, अर्थमन्त्री महतसंग मात्रै होइन लगानीकर्ता धितो बोर्डका अध्यक्ष रमेश हमालसंग पनि प्रश्न गरे । अध्यक्ष हमालसंगको सवालजवाफमा लगानीकर्ताले कमजोर कम्पनीलाई पनि हकप्रद सेयरको किन अनुमति दिएको भन्दै आक्रोश पोखे । उनीहरुले भने–‘नकारात्मक नेटवर्थ भएका कम्पनीहरुलाई समेत हकप्रदको अनुमति दिईएको छ । बोर्डले कमजोर कम्पनीलाई किन हकप्रद सेयरको अनुमति किन दिएको ?’

तर, अध्यक्ष हमालले भने कमजोर कम्पनीलाई नै हकप्रद सेयरको अनुमति दिने जवाफ दिएका थिए । उनले भने,–‘हकप्रदको अनुमति दिने भनेको नै कमजोर कम्पनीलाई हो, प्रिमियममा आइपीओ निष्कासन गर्ने कम्पनीका लगानीकर्ताले नै आवेदन नदिए भैगो नि ।’ यद्यपि, यस्ता विषयमा गहन छलफल र सहकार्यका लागि लगानीकर्ताहरुलाई बोर्डमै आउन अध्यक्ष हमालले आव्हान गरे । उनले भने,–‘ लगानीकर्ता हाम्रा अभिभावक हो, यस्ता गहन विषयहरुको छलफलका लागि बोर्डमै आउनु होला ।’


प्रतिक्रिया दिनुहोस्