अमेरिकी फिडरल बैङ्कले ब्याजदर बढाएपछि डलर मजबुत: जसले घट्यो सुनको भाउ, चाडबाडले बढ्ला कारोबार ?

काठमाडौँ । असोज महिनाको दोस्रो दिन अर्थात् २ गते सुनको मूल्य १ लाख १३ हजार रुपैयाँ पुगेको थियो । तर, त्यसपछिका दिनहरूमा भने निरन्तर गिरावट आएको छ । असोज महिना सुरु भएसँगै सुनको भाउ घटेको पाइन्छ ।
नेपाली बजारमा छापावाला सुनको भाउ दुई सातामै ६ हजार रुपैयाँभन्दा बढीले घट्यो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज अर्थात् असोज १७ गते छापावाला सुनको भाउ १ लाख ६ हजार ९०० रुपैयाँ कायम भएको छ । असोज दोस्रो सातासम्म आइपुग्दा सुनको भाउ ६ हजार १०० रुपैयाँले घटेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मै सुनको भाउ घटेपछि स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको हो । हाल अमेरिकी फिडरल बैङ्कले ब्याजदर वृद्धि गरेको छ । ब्याजदर बढाएपछि डलर मजबुत बनेको छ । डलर मजबुत हुँदा नै सुनको मूल्य घट्दै गएको हो । ‘अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नै स्थानीय बजारमा पनि गिरावट आएको हो । विशेषगरि अमेरिकी फिडरल बैङ्कले ब्याजदर बढाएको छ । ब्याजदर बढाउँदा डलर मजबुत बनेपछि सुनको मूल्य घटेको हो’–महासङ्घ अध्यक्ष मनिरत्न शाक्यले बताए ।
गत वर्ष भने अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर बढेको थियो । तर, यस वर्ष भने केही घटेको छ । बैङ्कको ब्याजदर कम हुँदा नै सुनमा लगानीकर्ताको आकर्षण पनि बढ्छ । लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ पनि बढ्दै जान्छ । डलरको मूल्य मजबुत बन्दै गर्दा सुनको मूल्य घट्ने अध्यक्ष शाक्यले बताए । डलरप्रतिको आकर्षण कायमै रहेको खण्डमा भने सुनको भाउमा कमी आउन सक्ने उनको भनाई छ । ‘अमेरिकी डलर मजबुत बन्दै गएका कारण त्यसतर्फ लगानीकर्ता आकर्षण हुँदा विश्व बजारमा सुनको मूल्यमा सामान्य कमी आएको हो’– अध्यक्ष शाक्यले भने ।
डलर बलियो बन्दै गएपछि नै विश्वका ठुला ठुला मुलुकहरूले बैङ्कमा ब्लकमा राखी सुन बेचर डलरप्रति आकर्षित भएको व्यवसायीहरू बताउँछन् । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ४४ पैसा पुगेको छ । आज डलरको खरिददर १३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४४ पैसा कायम भएको हो । यसअघि अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ५४ पैसा पुगेको थियो । जुन, हालसम्मकै उच्च हो । अमेरिकी डलर बढ्दै जाँदा यसले विश्वभरिको व्यापार र आन्तरिक कारोबारलाई समेत असर पार्नेछ । यसले आयात गर्ने सामग्रीका लागि थप महँगो पर्छ ।
दैनिक २० केजी बजार माग, चाडबाडले बढाउँला कारोबार ?
अहिले नेपाली हिन्दुहरूको महान् चाड वडा दसै, तिहार लगायतका चाडपर्व नजिकिएको छ । चाडबाड नजिकिएसँगै सुन बजार पनि गति लिन थालेको छ । यद्यपि, अघिल्ला वर्षहरूको तुलनामा सुनको माग अलि कम रहेको महासङ्घले जनाएको छ ।
यद्यपि, अब दसै, तिहार लगायतको चाडपर्वले भने कारोबार बढाउने महासङ्घ अध्यक्ष शाक्यले बताए । अहिले सुनको दैनिक माग २० केजी रहेको उनले बताए । ‘तुलनात्मक रूपमा बजार माग अलि कम नै छ । तर, आउँदै गरेको दसै, तिहार, छठ लगायतका चाडपर्वहरूले भने कारोबार बढ्छ । अहिले दैनिक २० केजी हाराहारीमै बजार माग छ’–अध्यक्ष शाक्यले भने ।
नेपालमा विशेषगरि तीज, दसैँ, तिहार लगायतका चाडपर्व र बिहेको सिजनमा बढी सुनको कारोबार हुने गरेको छ । यद्यपि, गत तिजमा पनि खास कारोबार बढ्न नसको व्यवसायीहरू बताउँछन् । अघिल्लो केही वर्षहरूको तुलनामा यस वर्षको मुख्य सिजन मानिने तीजमा व्यापार नबढेको उनीहरूको भनाई छ ।
सुनको मूल्यमा भारी वृद्धि भएपछि तीजको बेला पनि सुनको कारोबारमा गिरावट घटेको उनीहरू बताउँछन् । आर्थिक मन्दी र मूल्यवृद्धिको असर सुनचाँदी व्यापारमा देखिएको हो । अहिले नेपाली बजारमा सुनको मूल्य १ लाख रुपैयाँभन्दा माथि नै छ । मूल्य घटेपछि नै कारोबार बढ्न व्यवसायीहरू बताउँछन् । तर, निरन्तर रूपमा भाउ उकालो लागेपछि व्यापार प्रभावित भएको उनीहरूको भनाई छ ।
यद्यपि, पछिल्ला केही दिन लगातार सुनको भाउमा गिरावट आएको छ । मूल्य सस्तिएसँगै कारोबार बढ्ने बताइन्छ । ‘पछिल्लो समय सुनको भाउ पनि लगातार सस्तिएको छ । चाडपर्व र बिहेको सिजन पनि सुरु हुन्छ, त्यसले बिस्तारै कारोबार बढाउँछ’–एक सुन व्यवसायीले बताए । उनले भने,–‘दसै, तिहार नजिकिएकाले हो । अहिले पसलमा केही चहलपहल बढेको छ । मूल्य पनि घटेको छ । अब व्यापार बढ्ने आशा छ ।’
पछिल्लो समय देखिएको आर्थिक मन्दी र मूल्य वृद्धिका कारण पनि सुन व्यापारमा उत्साह देखिएको थिएन । आर्थिक मन्दी र मूल्य वृद्धि लगायतको मारमा उपभोक्ताहरू परेका छन् । उनीहरूको खर्च गर्ने क्षमता पनि घटेको छ । त्यसले व्यापार व्यवसाय पनि निकै प्रभावित भएको थियो । तर, पछिल्लो समय आर्थिक गतिविधि बिस्तारै चलायमान बन्दै गएको छ । नजिकिएका चाडबाडले पनि बिस्तारै सुनको व्यापारले गति लिने बताइन्छ ।