बढ्दै नेपाली अदुवाको अन्तर्राष्ट्रिय व्यापार: वार्षिक करोडौंकौ निकासी, तर किन सन्तुष्ट छैनन् व्यवसायी ?

काठमाडौँ । नेपालमा उत्पादित अदुवाको अन्तर्राष्ट्रिय व्यापार बढ्दो क्रममा छ । अदुवा उत्पादनमा नेपाल विश्वकै चौथो स्थानमा पर्छ । नेपालबाट सर्वाधिक विदेश निर्यात हुने कृषिजन्य उत्पादनमध्ये अदुवा पनि एक हो । यसको निर्यात पछिल्लो समय निरन्तर बढ्दै गएको सरकारी आँकडाले यस्तो देखाउँछ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामै ३३ करोड बढीको अदुवा निर्यात भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार दुई महिनामै ३३ करोड १ लाख ४८ हजार रुपैयाँ बराबरको २ हजार ६१४ मेट्रिक टन बढी नेपाली अदुवा निर्यात भएको हो । जुन गत आवको सोही अवधि (साउन र भदौ) को तुलनामा १७७.८८ प्रतिशतले बढी हो । गत वर्षको सो अवधिमा नेपालबाट ११ करोड ८८ लाख रुपैयाँ बराबरको अदुवा अन्य मलुकहरुमा पुगेको थियो ।
नेपालमा उत्पादित अदुवा भारत, बङ्गलादेश, नेदरल्याण्ड, जापान, जर्मनी, युएई, कतार लगायतका मुलुकमा पुग्ने गरेको छ । नेपाली अदुवाको सबैभन्दा ठुलो बजारमा भनेको छिमेकी मुलुक भारत हो । मसला उत्पादनमा भारतमा विश्वकै ठुलो बजार भएकाले नै नेपालबाट आयात गर्ने गरेको छ । भारतीय व्यवसायीले नेपाली अदुवा खरिद गरेर पाउडर, मसला बनाएर तेस्रो मुलुकमा निर्यात गर्छन् । चालु आवको पहिलो महिनामा भारत मात्रै नेपाली अदुवा निर्यात भएको छ । गत भदौ मसान्तसम्ममा ३२ करोड ४७ लाख रुपैयाँ बराबरको अदुवा भारतीय बजारमा पुगेको छ । यता, कतारमा भने ५३ लाख रुपैयाँ बराबरको अदुवा निर्यात भएको विभागले जनाएको छ ।
गत आवभर भने १ अर्ब २२ करोड २२ लाख ३३ हजार रुपैयाँ बराबरको २३ हजार १३ मेट्रिक टन बढी अदुवा नेपालबाट निकासी भएको थियो । यो विभागको तथ्याङ्क अनुसार १० वर्ष यताकै बढी हो । गत आव २०७९/८० भन्दा अघिल्ला वर्षहरूमा १ अर्बभन्दा कम मात्रामा अदुवा निर्यात भएको थियो । गत वर्ष नेपालको उत्पादन बढेको र भारतको उत्पादन घटेपछि नै निर्यात बढेको अदुवा उत्पादक तथा व्यवसायी सङ्घका महासचिव हेमन्तराज बोहराले बताए । ‘गत वर्ष भारतमा अदुवा उत्पादन कम भएको थियो । उत्पादन घटेपछि नेपालबाट खरिद गरेको हो । त्यसले निर्यात बढेको हो ।’
नेपालमा उत्पादनमा समस्या नरहेको उनको भनाई छ । तर, भारतीय बजारमा नै व्यवसाय निर्भर रहेको महासचिव बोहराले बताए । उनले भने,–‘हाम्रो उत्पादनमा समस्या छैन । व्यवसाय नै भारतीय बजारमा नै डिपेन हुन्छ । हाल नेपालमा वार्षिक ३ लाख मेट्रिक हाराहारीमा उत्पादन भइरहेको छ ।’
पछिल्लो १० वर्षको अवधिमा नेपालले ५ अर्ब ५७ करोड १४ लाख रुपैयाँ बराबरको अदुवा बिक्री गरेको छ । विशेषगरि आव २०७६/७७ बाट भने अदुवा निकासी बढेको देखिन्छ । सो आवमा नेपालबाट ४३ करोड ६२ लाख ९१ हजार रुपैयाँ बराबरको ८ हजार ८४७ मेट्रिक टन अदुवा निर्यात भएको थियो । यस्तै, आव २०७७/७८ मा पनि थप बढेर ४४ करोड ८३ हजार रुपैयाँ बराबरको ६ हजार ६५ मेट्रिक टन बढी अदुवा निर्यात भएको छ । तथ्याङ्क अनुसार अघिल्लो आवमा भने ६४ करोड १४ लाख बढीको अदुवा निकासी भएको थियो ।

अदुवा आयातमा रोक लगाउनुपर्ने व्यवसायीहरूको माग, नेपाली किसान प्रोत्साहन गर्नुपर्ने
निर्यात बढी रहेता पनि अन्य मुलुकहरूबाट नेपालले अदुवा आयात गर्ने गरेको छ । नेपालको निर्यात बढी रहेको पनि दुई महिनामा ७ करोड भन्दा बढीको अदुवा आयात भएको देखिएको छ ।
विभागका तथ्याङ्क अनुसार साउन र भदौमा ७ करोड ३४ लाख २८ हजार रुपैयाँ बराबरको अदुवा आयात भएको छ । समीक्षा अवधिमा सबैभन्दा धेरै भारतबाटै अदुवा आयात भएको हो । उक्त मुलुकबाट ४ करोड १९ लाख बढीको अदुवा आयात भएको छ । यस्तै, इन्डोनेसियाबाट १ करोड ८२ लाख, नाइजेरियाबाट १ करोड ३१ लाख र थाइल्याण्डबाटम १ लाख बढीको अदुवा आयात गरिएको छ ।
नेपालका उत्पादन राम्रो हुँदा हुँदै पनि अन्य मुलुकबाट आयात हुनु राम्रो नभएको व्यवसायीहरू बताउँछन् । उनीहरू भन्छन्,–‘नेपालमा अदुवा उत्पादन राम्रो छ । आन्तरिक रूपमा उत्पादित अदुवाले पर्याप्त मात्रमा धान्न सक्छ । तर, यस्तो अवस्थामा पनि आयात हुँदै आएको छ । यो राम्रो भएन ।’
अन्य देशको अदुवा सस्तो मूल्यमा आयात गर्दा पनि नेपाली उत्पादनले खास स्थान पाउन नसकेको उनीहरूको भनाई छ । अदुवा आयातमा रोक लगाउनुपर्ने व्यवसायीहरू बताउँछन् । एक व्यवसायीले भने,–‘अन्य मुलुकहरूबाट आयात हुने अदुवालाई निरुत्साहित गर्न आवश्यक छ । हाम्रो उत्पादन राम्रै छ । आयातले नेपाली किसानहरूलाई असर गर्छ ।’
नेपाली किसानलाई प्रोत्साहन गर्दै अदुवा उत्पादन अझै बढाउन सरकारले विशेष ध्यान दिन आवश्यक रहेको उनले बताए । मूल्यको अस्थिरताले नेपाली अदुवा व्यवसायीहरू समस्या भइरहेको बताइन्छ । ती व्यवसायीले भने–‘नेपाली किसानको परम्परागत कृषि प्रणालीको समस्या र सरकारले पनि विशेष भूमिका निर्वाह गर्नुपर्छ । सरकारले कृषिका लागि आत्मनिर्भर हुने लक्ष्यका साथ व्यावसायिक अदुवा खेती विस्तार गर्न आवश्यक छ।’
नेपाली कृषकहरूले पुरानै शैलीमा बिना प्रविधि अदुवा उत्पादन गरिरहेका छन् । यसमा सरकारले प्रविधिको विकास गरि गुणस्तरीय र उत्पादन वृद्धिमा सहयोग गर्नुपर्ने उनीहरू बताउँछन् । अदुवाको थप निकासी र व्यावसायिक खेती विस्तारका लागि सरकारले विशेष ध्यान दिनुपर्ने व्यवसायीहरू बताउँछन् ।
सरकारले कृषकलाई प्रशस्त सुविधा र अनुदान दिएर उत्पादन पनि बढाउनुपर्ने उनीहरूका माग छ । नेपालबाट झन्डै एक दर्जन बढी जिल्लाहरूमा अदुवा खेती हुने गरेको छ । हाल नेपालको सिन्धुली, धनुषा, पाल्पा, धादिङ, प्युठान, ताप्लेजुङ, महोत्तरी, रौतहट, बारा, पर्सा, चितवन लगायतमा यसको खेती हुने गरेको छ । ती जिल्ला हरुवा अदुवाको व्यावसायिक खेती हुने गरेको हो ।