नेपाल बैंकले सिइओका लागि दरखास्त आव्हान, २१ दिनभित्र आवेदन दिन सकिने

काठमाडौँ । नेपाल बैङ्कमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) को दरखास्त आव्हान गरेको छ । बैङ्कले रिक्त रहेको सिइओ पदका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न लागेको हो ।
बैङ्कका तत्कालीन सिइओ कृष्णबहादुर अधिकारी एक हप्ता अघि नै आफ्नो कार्यकाल सकेर बाहिरिएका छन् । उनी चार वर्षे कार्यकाल सकेर बाहिरिए पछि बैङ्कको सिइओ पद रिक्त छ । सोही रिक्त सिइओ पदमा दरखास्त दिने व्यक्तिले आजैका मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ ।
उक्त पदका लागि शैक्षिक योग्यता व्यवस्थापन, बैङ्किङ, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखा शास्त्र, तथ्याङ्क शास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने छ ।
यस्तै, चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैङ्किङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्य शास्त्र, तथ्याङ्क शास्त्र, लेखा शास्त्र, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी बैङ्किङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, सङ्गठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय सङ्घ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा दस वर्षको कार्य अनुभव भएको हुनुपर्ने बैङ्कले जनाएको छ । यसका साथै कार्यकारी प्रमुखको नियुक्तिको सम्बन्धमा नेपाल राष्ट्र बैङ्कले तोकेको मापदण्ड पूरा गरेको हुनुपर्ने छ ।
