अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थाल्यो, ब्यारेलको ८२ डलरसम्म कारोबार हुँदै

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा लगातार बढिरहेको कच्चा तेलको भाउ अहिले फेरि घट्न थालेको छ ।
केही हप्ता केहीसम्म झन्डै ब्यारेलको १०० डलर नजिक पुगेको कच्चा तेलको मूल्य घट्न थालेको हो । आइतबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ८२ डलरदेखि ८६ डलरसम्ममा कारोबार भएको छ ।
हाल मुर्बान क्रुडको भाउ प्रति ब्यारेल ८६.१२ डलर माथि पुगेको छ । आयल प्राइसका अनुसार लण्डन बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल ८४.५८ डलर र डब्लूटीआई अर्थात् युनाईटेड स्टेट्स क्रुडको मूल्य प्रतिब्यारेल ८२.७९ डलर हाराहारीमा छ । तर, केही महिना अघिसम्म यस्तो तेलको भाउ ७५ डलरसम्म थियो । गत जुलाइमा मात्रै ७० देखि ७५ डलर (प्रतिब्यारेल) हाराहारीमा कारोबार हुँदै आएको थियो ।

ओपेके अर्थात् तेल उत्पादक तथा निर्यातक मुलुकहरूको सङ्गठन र साउदी अरेबियाले उत्पादन कटौती गरेका छन् । त्यसले अन्तर्राष्ट्रिय बजारमा आपूर्ति कम भएको छ, त्यसको प्रत्यक्ष असरमा मूल्यमा परिरहेको छ । तर, पछिल्ला दिनमा भने अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घट्न थालेको छ । यसले नेपाली बजारमा पनि सकारात्मक प्रभाव पर्नेछ ।
विश्व बजारमा लगातार कच्चा तेलको मूल्य बढेपछि नेपालमा पनि पेट्रोलियम पदार्थको भाउ बढ्ने गर्छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढुवानी खर्च बढाउँछ, त्यसले थप मुद्रास्फीति (महँगी) बढाउन मद्दत पुग्छ ।
नेपालले सबै प्रशोधित पेट्रोलियम पदार्थको आयात भारतबाट गर्छ । तर भारतले पनि विभिन्न मुलुकबाट कच्चा तेल ल्याएर प्रशोधन गर्ने हो । यस कारण साउदी अरबले बढाएको तेलको भाउको असर नेपाली बजारमा पनि पर्छ । अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटपछि नेपाली बजारमा पनि सकरात्मक प्रभाव पर्ने बताइन्छ । यसले पेट्रोलियम घट्न सक्ने अनुमान छ । तर, नेपाल आयल निगमले भने पेट्रोलको भाउ बढाइरहेको छ ।