निरन्तर सहज बन्दै बाह्य क्षेत्र, आन्तरिक अर्थतन्त्र छैन सुखद « Arthapath.com
३० आश्विन २०८०, मंगलवार

निरन्तर सहज बन्दै बाह्य क्षेत्र, आन्तरिक अर्थतन्त्र छैन सुखद



काठमाडौँ । अर्थतन्त्रका बाह्य क्षेत्र निरन्तर सहज बन्दै गएको छ । विशेषगरि नेपाल भित्रने रेमिट्यान्स र घट्दो आयात दरले नै बाह्य क्षेत्रलाई थप मजबुत बनाएको हो । 

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह २२.१० प्रतिशतले बढेर २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । यो अमेरिकी डलरमा भने १७.७० प्रतिशतले बढेर १ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ । 

मङ्गलवार नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आवको दुई महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धीको तथ्याङ्कले यस्तो देखाएको हो । 

तथ्याङ्क अनुसार शोधनान्तर स्थिति अर्थात् देशबाट बाहिरिने र भित्रिने विदेशी मुद्राको अन्तर पनि ५३ अर्ब ६१ करोडले बचतमा छ । अघिल्लो वर्षहरूमा घाटामा रहेको शोधनान्तर स्थिति पछिल्लो बचतमा देखिएको हो ।  अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा आयात ५.१ प्रतिशत, निर्यात ७.८ प्रतिशतले र कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा चालु खाता पनि २३ अर्ब ५० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३६ अर्ब ८४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २८ करोड ९० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ७७ लाखले बचतमा रहेको छ ।

यस्तै, पछिल्लो समय विदेशी विनिमय सञ्चितिमा पनि सकारात्मक सुधार देखिएको छ । भदौ मसान्तसम्ममा यस्तो सञ्चिति १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । जुन गत असार मसान्तसम्मको भने ३.९ प्रतिशतले वृद्धि भएको हो । गत असार मसान्तसम्ममा  विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २.६ प्रतिशतले वृद्धि भई १२ अर्ब १ करोड पुगेको छ ।

चालु आवको दुई महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.६ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः २९.७ प्रतिशत, ८६.० प्रतिशत र २६.२ प्रतिशत रहेका छन् । 

आन्तरिक अर्थतन्त्र छैन सुखद

बाह्य क्षेत्रमा निरन्तर सुधार देखिएता पनि आन्तरिक अर्थतन्त्रमा सुखद छैन । बजार महँगी निरन्तर उकालो लागेको छ । आयात र निर्यात पनि बढ्न सकिरहेको छैन । आन्तरिक आर्थिक गतिविधि चलायमान हुन् नसक्दा नै राजश्व पनि दबाबमा छ । निजी क्षेत्रमा बैंकहरुको कर्जा लगानी पनि बढ्न सकेको छैन ।

बजार महँगी ८.१९ प्रतिशत पुगेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.९९ प्रतिशत रहेको छ । 

दुई महिनामा कुल वस्तु निर्यात ७.८ प्रतिशतले कमी आई २६ अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३४.९ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १५.६ प्रतिशतले कमी आएको छ भने र चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३३८.५ प्रतिशत र ५.१ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिङ्क सिट, अलैँची, पार्टिकल बोड, पोलिस्टर धागो, जुस लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, जुटका सामान, ऊनी गलैँचा, औषधी (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात घटेको छ । 


प्रतिक्रिया दिनुहोस्