नेपालबाट बाहिरिने रेमिट्यान्स ७३.५५ प्रतिशतले बढ्यो, कति लैजान्छन् विदेशी कामदारले ?
काठमाडौं । नेपालबाट बाहिरिने रेमिट्यान्स ह्वात्तै बढेको छ । दुई महिनामा विदेशी कामदारले नेपालबाट आफ्नो देशमा झन्डै २ अर्ब रुपैयाँ लगेका छन् ।
नेपाल राष्ट्र बैङ्कले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिना अर्थात् साउन र भदौमा सो बराबरको रेमिट्यान्स नेपालबाट बाहिरिएको हो ।
नेपाल सरकारको वर्क पर्मिट ल्याएर नेपालमा काम गर्न आउने विदेशी कामदारले सो बराबरको रेमिट्यान्स आफ्नो देश पठाएका हुन् । नेपालमा काम गर्न आउने विदेशी कामदारले आफूले कमाएको ७५ प्रतिशत रकम आफ्नो देशमा पठाउन सक्छन् । विदेशी कामदारले आफूले कमाएको २५ प्रतिशत रकम नेपालमै खर्च गर्नुपर्ने प्रावधान छ ।
गत साउन र भदौमा मात्रै अर्ब ८१ करोड ८० लाख रुपैयाँ नेपालबाट विदेशी कामदारले आफ्नो देशमा पठाएका हुन् । यो गत आवको साउन र भदौमा ७३.५५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा पनि नेपालबाट १ अर्ब ४ करोड ७५ लाख रुपैयाँ बढी बाहिरिएको थियो ।
नेपालमा विदेशी लगानीका कम्पनी, आयोजनाहरूमा विदेशी कर्मचारी छन् । विभिन्न बैङ्क तथा वित्तीय संस्थामा समेत विदेशी कर्मचारी छन् । जलविद्युत आयोजनाहरूमा पनि चिनियाँ, भारतीय कामदारहरू आउने गर्छन् । उनीहरूले यहाँ कमाएर आफ्नो देशमा रेमिट्यान्स पठाउँछन् ।
गत आवभर पनि नेपालबाट ६ अर्ब ६१ करोड २८ लाख रुपैयाँ रेमिट्यान्स नेपालबाट बाहिरिएको थियो । यस्तै, आव २०७९/८० मा ७ अर्ब ६७ करोड ९१ लाख रुपैयाँ विदेशी कामदारले आफ्नो देशमा पठाएका थिए । त्यसभन्दा अघिल्लो आव २०७७/७८ मा पनि ६ अर्ब १ करोड ८५ लाख रुपैयाँ नेपालबाट बाहिरिएको थियो ।
नेपालका अनौपचारिक क्षेत्रमा भारतीय कामदार थुप्रै छन् । उनीहरूले अनौपचारिक रूपमा (नगद बोकेर) नै आफूले कमाएको पैसा आफ्नो देशमा लैजाने गर्छन् । मुख्य रूपमा नेपालबाट भारतमा ठुलो परिमाणमा रेमिट्यान्स पुग्छ । त्यसबाहेकका अन्य मुलुकले पनि नेपालबाट रेमिट्यान्स लैजान्छन् ।
नेपालमा आएर थुप्रै भारतीयहरू नागरिकहरू आएर अनौपचारिक रूपमा काम गर्छन् । उनीहरू चटपट बिक्री, फलफूल बिक्री गर्ने, सडक तथा निर्माणजन्य काममा आबद्ध छन् । त्यसबाट उनीहरूले आफूले कमाएको पैसा अनौपचारिक रूपमै लैजान्छन्, यसको हिसाब भने छैन ।
नेपालमा आएर औपचारिक रूपमा काम गर्ने भारतीय, चाइनिज लगायतका देशका नागरिकले रेमिट्यान्स लैजाने गरेका छन् । नेपालका जलविद्युत आयोजनाहरूमा चिनियाँ कामदार छन् । डाबर नेपाल, युनिलिभर जस्ता मल्टीनेशन कम्पनीमा विदेशी कर्मचारी छन् । उनीहरूले यहाँ कमाएको पैसा रेमिट्यान्स मार्फत आफ्नो देश पटाउँछन्, जसरी नेपालीले बाहिर गएर नेपालमा रेमिट्यान्स पठाउँछन् ।
दुई महिनामै नेपाल भित्रियो २२८ अर्ब रेमिट्यान्स
तर, नेपाल भित्रने रेमिट्यान्स पनि उच्च दोहोरो अङ्कमा बढेको छ । चालु आवको पहिलो दुई महिनामै नेपालमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन गत आवको साउन र भदौको तुलनामा २२.१० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा पनि नेपालमा १ खर्ब ८७ अर्ब ३ करोड ९९ लाख रुपैयाँ रेमिट्यान्स नेपाल आएको थियो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको थियो । विशेषगरि चाडपर्व नजिकिएकाले पनि साउन र भदौमा नेपाल भित्रने रेमिट्यान्स बढेको हो । चालु आवको दुई महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २८.३ प्रतिशतले कमी आई ७४ हजार ४५५ कायम भएको छ । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १८.३ प्रतिशतले कमी आई ३२ हजार ४ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७०.६ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई २ खर्ब ५१ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १९.५ प्रतिशतले बढेको थियो ।













