७ श्रावण २०८३, बिहिबार

डलरको भाउले नयाँ कीर्तिमानी उचाइ बनाई रहँदा नेपाली रुपैयाँ भने इतिहासकै कमजोर, अर्थतन्त्रमा कस्तो असर ?



काठमडौं । तिहारको मुखैमा अमेरिकी डलरको भाउले नयाँ कीर्तिमानी रेकर्ड बनाएको छ । आइतबार डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको हो । 

नेपाल राष्ट्र बैङ्कका अनुसार आइतबार एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ  ६५ पैसा पुगेको छ । यो नै हालसम्मको उच्च बिन्दु हो । आइतबारका लागि अमेरिकी डलरको खरिद दर भने १३३ रुपैयाँ ०५ पैसा कायम भएको राष्ट्र बैङ्कले जनाएको छ । 

यसअघि कात्तिक १६ गते बिहीबार पनि डलरको बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो । त्यसभन्दा अगाडि गत असोज २, ३ र ३० गते पनि डलरको भाउ नयाँ उचाइमा पुगेको थियो । त्यस बेला डलरको बिक्रीदर १३३ रुपैयाँ ५४ पैसा कायम भएको थियो । तर, पछिल्लो समय डलरको भाउ निरन्तर उकालो लागि रहेको छ । 

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ भने कमजोर बनेको छ । भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ पनि इतिहासकै कमजोर भएको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण नै त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो । भारतीय रुपैयाँसँग नेपाली मुद्राको स्थिर विनिमय दर छ । यसले भारु कमजोर हुँदा नेपाली मुद्रा समेत कमजोर भएको हो ।  

डलरको भाउ वृद्धिले नेपाली अर्थतन्त्रमा भने नकारात्मक र सकारात्मक दुवै असर पार्ने गर्दछ । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदाहरुले डलरमा रेमिट्यान्स पठाउँछन्, जसले डलरको भाउ बढ्दा रेमिट्यान्समा पनि बढोत्तरी हुन्छ । यसका साथै पर्यटन क्षेत्रमा पनि डलरको भाउ बढ्दा राम्रै प्रभाव पर्छ । नेपाल घुम्न आउने विदेशी पर्यटकहरूले डलर बोकेर आउँछन् र यहाँ खर्च गरेर जान्छन् । यो नेपाली अर्थतन्त्रको लागि सकारात्मक छ । 

तर, डलरको भाउ बढ्दा नेपाललाई फाइदाभन्दा नोक्सानी धेरै हुने गर्दछ ।  अमेरिकी डलर बढ्दै जाँदा यसले विश्व बजारको व्यापार र आन्तरिक कारोबारलाई समेत असर पार्ने गर्दछ । यसले आयात गर्ने सामग्रीका लागि थप महँगो पार्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा हरेक वस्तुको मूल्य वृद्धि हुने गर्दछ । भारतसहित तेस्रो मुलुकबाट आयात हुने मोटर, मोबाइल फोन, इलेकट्रोनिक्सका सामान, लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ लगायत सामान महँगो पर्नेछन् ।  


प्रतिक्रिया दिनुहोस्