७ श्रावण २०८३, बिहिबार

११ लाखको हात रित्तो हुने उन्नति सहकार्य लघुवित्तको एफपिओ कहिले हुन्छ बाँडफाँट ?



काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओमा ११ लाख भन्दा बढीको हात रित्तो हुने भएको छ । एफपिओमा अन्तिम दिनसम्म ११ लाख २२ हजार ९११ जनाले १ करोड २४ लाख ४३ हजार ६६० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा ६९.७३ गुणा बढी आवेदन हो ।

कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले एफपिओ अर्का साता मात्र बाँडफाँट हुने जनाएको छ । सार्वजनिक बिदा परेको कारण आवश्यक काम बाँकी रहेको हुँदा अर्का साता भित्र बाँडफाँट गर्ने गरी तयारीमा रहेको जनाएको छ । माग भन्दा बढी आवेदन परेको हुँदा एफपिओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा १७ हजार ८४५ जनाले १०।१० कित्ताका दरले सेयर हात पार्नेछन् ।

सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको थियो । कम्पनीले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर निष्काशन गरेको थियो ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बी प्लस प्रदान गरेको छ। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्