७ श्रावण २०८३, बिहिबार

नेपालीले पाउने विदेशी पेन्सन बापतको रकम ४४% ले बढ्यो, तीन महिनामै साढे १७ करोड डलर भित्रियो



काठमाडौं । नेपालमा पेन्सन बापत साढे १७ करोड डलर बढी विदेशी मुद्रा भित्रिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा सो बराबरको विदेशी मुद्रा पेन्सन बापत भित्रिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्ममा १७ करोड ७२ लाख अमेरिकी डलर पेन्सन बापत आएको हो । यो नेपाली रुपैयाँमा भने २३ अर्ब ५० करोड ४७ लाख रुपैयाँ भित्रिएको हो । गत आवको असोज मसान्तसम्मको तुलनमा भने यस्तो रकम ४४.४९ प्रतिशतले वृद्धि भएको हो । गत आवको सो अवधिमा १६ अर्ब २६ करोड ६४ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा नेपाल भित्रिएको थियो । यो अमेरिकी डलरमा भने १२ करोड ६७ लाख रहेको छ ।

नेपालीहरूले वैदेशिक रोजगारीबाट रिटायर अर्थात् अवकाश भएपछि नियमित रूपमा पेन्सन पाउँछन् । पछिल्लो समय यस्तो रकम निरन्तर बढ्दै गएको छ । यसरी पेन्सन बापत नेपाल भित्रने विदेशी मुद्राले पनि नेपाली अर्थतन्त्रमा ठुलै योगदान रहने राष्ट्रका अधिकारी बताउँछन् । विशेषगरि यसले अर्थतन्त्रको बाह्य क्षेत्र सहज बनाउन भूमिका खेल्ने उनीहरूको तर्क छ ।

नेपालीहरूले भारत, सिंगापुर लगायतका देशको आर्मी लगायतका सरकारी सेवामा रोजगारी गर्दै आएका छन् । यसका साथै अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि काम गर्ने गरेका छन् । त्यहाँबाट रिटायर (अवकाश) भएपछि उनीहरूले त्यहाँको कानुनी प्रावधानबाट नियमित पेन्सन पनि पाउँछन् । उनीहरूले सम्बन्धित देशबाट मासिक, अर्धवार्षिक, वार्षिक रूपमा पेन्सन पाउँछन् । सोही बापत नेपालमा विदेशी मुद्रा भित्रिएको हो ।

अघिल्ला आवहरूमा भने यस्तो रकम १० अर्ब भन्दा कम थियो । तर, पछिल्लो समयमा भने निरन्तर वृद्धि भइरहेको छ । विशेषगरि नेपालमा सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट आउने गरेको छ । पछिल्लो समय यस्तो आम्दानी बढ्दै पनि गएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको हो ।

गत आवमा मात्रै कुल ७५ अर्ब २४ करोड २९ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा पेन्सन मार्फत नेपाल भित्रिएको थियो । राष्ट्र बैंकका अनुसार अघिल्लो आवमा पनि करिव ६२ अर्ब रुपैयाँ आएको थियो । यस्तै, आव २०७७/७८ मा ५८ अर्ब ५९ करोड ५१ लाख डलर पेन्सन नेपाल भित्रिएको थियो ।


प्रतिक्रिया दिनुहोस्