८ श्रावण २०८३, शुक्रबार

बैंकिङ्ग प्रणालीमा एकै दिन भित्रियो ८ अर्ब निक्षेप, ब्याजदर घट्दा पनि बढेन कर्जा लगानी 



काठमाडौं । एकै दिन बैंकिङ्ग प्रणालीमा ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार बैङ्क तथा वित्तीय संस्थामा एकै दिन सो बराबरको निक्षेप भित्रिएको हो । 

गत आइतबारसम्म बैङ्क तथा वित्तीय संस्थासँग ५९ खर्ब २१ अर्ब रुपैयाँ रहेको निक्षेप भोलिपल्टै अर्थात् सोमबारसम्म भने ५९ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । एकै दिन वाणिज्य बैङ्कहरूमा भने ९ अर्ब रुपैयाँ निक्षेप वृद्धि भएको छ । आइतबारसम्म वाणिज्य बैङ्कहरूको कुल निक्षेप ५२ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ । 

बैंकिङ्ग प्रणालीमा निक्षेप बढेता पनि कर्जा लगानी भने उल्टै घटेको छ । पछिल्लो बैङ्कहरूले ब्याजदर घटाएका छन् । ब्याजदर घटे पनि कर्जाको माग पनि बढेको छैन । एक दिनमै कर्जा लगानी २ अर्ब रुपैयाँले घटेको छ । मङ्सिरका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.३३१ प्रतिशत र संस्थागत मुद्दती तर्फको ०.३०६६ प्रतिशतले घटाएका हुन् । कात्तिक महिनामा बैङ्कहरूको यस्तो औसत ब्याजदर व्यक्तिगत र संस्थागत निक्षेपतर्फ क्रमशः ९.९६४ प्रतिशत र ७.८५२६ प्रतिशत रहेको रहेको थियो । मङ्सिरमा अधिकांश बैङ्कको बेस रेट (आधार दर) पनि घटेको छ । आधार दर घटेपछि कर्जाको ब्याजदर पनि घटेको छ । यसरी ब्याजदर घट्दा पनि कर्जा प्रवाह भने बढ्न नसकेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ । 

बैङ्क तथा वित्तीय संस्थाले गत आइतबारसम्म ४९ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । तर, सोमबारसम्म भने २ अर्बले घटेर ४९ खर्ब ७७ अर्ब रुपैयाँ कायम भएको छ  । वाणिज्य बैङ्कहरूको हालसम्मको कर्जा प्रवाह ४४ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ । तर, गत सोमबारसम्म भने बैङ्कहरूले कुल ४४ खर्ब ६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । निक्षेप सङ्कलनको तुलनामा कर्जा प्रवाह एकदमै सुस्त छ । बैङ्कहरूमा तरलता सहज भएपछि अन्तर बैङ्क कारोबारको ब्याजदर पनि घट्दै गएको छ । हाल अन्तर बैङ्क ब्याजदर २.५३ प्रतिशतमा झरेको छ ।

राष्ट्र बैङ्कका अनुसार बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) पनि क्रमिक रूपमा घटेको छ । अहिले यस्तो अनुपात ८१.१४ प्रतिशत भन्दा तल झरेको छ । बैङ्क तथा वित्तीय संस्थाहरू हाल कर्जा लगानीका लागि निकै सहज अवस्थामा देखिएका हुन् । बैङ्क तथा वित्तीय संस्थाहरूले सिडी रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरी कर्जा प्रवाह गर्न पाउँछन् ।


प्रतिक्रिया दिनुहोस्