वालेट मार्फत हुने भुक्तानीमा व्यापक सुधार: तीन महिनामै ६६ अर्बको कारोबार, एक वर्षमै थपिए ५४ लाख बढी प्रयोगकर्ता « Arthapath.com
२१ असार २०८२, शनिबार

वालेट मार्फत हुने भुक्तानीमा व्यापक सुधार: तीन महिनामै ६६ अर्बको कारोबार, एक वर्षमै थपिए ५४ लाख बढी प्रयोगकर्ता



काठमाडौँ । वालेट मार्फत हुने कारोबारमा बढोत्तरी देखिएको छ । पछिल्लो समय विद्युतीय भुक्तानी सेवा प्रदायक वालेट मार्फत कारोबार रकम बढ्दै गएको हो । 

नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्षको तीन महिनामै वालेट मार्फत ६५ अर्ब ८० करोड ४० लाख रुपैयाँ माथि पुगेको छ । गत असोजमा मात्रै २२ अर्ब ७९ करोड ६० लाख बढीको भुक्तानी वालेट मार्फत भएको थियो । जुन गत वर्षको सोही महिनाको तुलनामा ३७.५९ प्रतिशतले बढी हो । गत वर्षको असोजमा भने १६ अर्ब ५६ करोड ८० लाख रुपैयाँ बराबरको भुक्तानी वालेट मार्फत भएको थियो । चालु आवको असोजमा मात्रै २ करोड २६ लाख २२ हजार १७० पटक कारोबार भएको छ । 

राष्ट्र बैङ्कका अनुसार चालु आवको साउन महिनामा २१ अर्ब ९१ करोड ६० लाख, भदौमा २१ लाख ९ करोड २० लाख रुपैयाँ बराबरको भुक्तानी वालेट मार्फत भएको थियो । पछिल्लो वालेट प्रयोगकर्ताको सङ्ख्या वृद्धि भएसँगै यस मार्फत हुने कारोबार पनि बढ्दै गएको राष्ट्र बैङ्कले जनाएको छ ।

वालेट कारोबार प्रचलनमा आएको केही वर्ष मात्रै भएको छ । तर, प्रचलनमा आएको छोटो समयमा नै वालेटको प्रयोग बढ्दै गएको तथ्याङ्कले देखाउँछ । विशषगरि वालेटको सेवा तथा सुविधाको दायर व्यापक रूपमा विस्तार भएसङै यस मार्फत हुने कारोबार रकम बढेको गएको राष्ट्र बैङ्कले जनाएको छ ।

पछिल्लो एक वर्षमै वालेट प्रयोगकर्ताको सङ्ख्या ५४ लाख ३६ हजार ३४१ वटा थपिएका छन् । राष्ट्र बैङ्कका अनुसार गत वर्षको असोजसम्म १ करोड ४८ लाख ३९ हजार ८२० ले वालेट प्रयोग गरेका थिए । तर, त्यो सङ्ख्या एक वर्षमै ३६.६३ प्रतिशतले बढेर २ करोड २ लाख ७६ हजार १६१ पुगेको छ । गत भदौसम्ममा पनि यस्तो सङ्ख्या १ करोड ९९ लाख २२ हजार ४४३ रहेको थियो । 

वालेट मार्फत बैङ्क खातामा पैसा जम्मा गर्ने, इन्टरनेट/पानी/बिजुलीको बिल पे गर्ने, हवाई टिकट, फिल्म टिकट, मोबाइल रिचार्ज लगायत थुप्रै सेवा सुविधा यसमा हुन्छन् । हाल नेपालमा ई सेवा, खल्ती, प्रभु पे, आईएमई पे, इनेट जस्ता अन्य वालेट कम्पनीले विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्दै आएका छन् । यसको दायरा बढेसँगै प्रयोगकर्ता र कारोबार रकम पनि बढ्दै गएको हो । 

पछिल्लो समय यसको व्यावसायिक विकास हुँदै गएको राष्ट्र बैङ्कका अधिकारीहरू बताउँछन् । यो आर्थिक रूपमा सुरक्षित पनि रहेकोले यसको प्रयोगकर्ता र कारोबार रकम बढेको उनीहरूको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्