महँगी नियन्त्रणमा आएको राष्ट्र बैंकको आँकडा, १९ महिनापछि भारतभन्दा सस्तो !

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत कात्तिकमा औसत महँगीको दर भारी मात्रामा घटेको तथ्यांक सार्वजनिक गरेको छ । गत भदौमा ८.१९ प्रतिशत पुगेको मुद्रास्फीति कात्तिकमा आउँदा ५.३८ प्रतिशतमा झरेको बताएको छ । केन्द्रिय बैंकले गत असोजको तुलनामा कात्तिकमा समग्र बजार सस्तो भएको उल्लेख गरेको छ ।
यसबीचमा तरकारीको भाउ सबैभन्दा धेरै सस्तिएको केन्द्रिय बैंकले उल्लेख गरेको छ । त्यसबाहेक फलफूल, माछामासु, घिउतेल, चिनी, अण्डा र मसलाको भाउ घटेको तथ्यांक सार्वजनिक भएको छ । घरको मूल्य सस्तिएको, सञ्चार र मनोरञ्जन सेवा पनि सस्तो भएको राष्ट्र बैंकको तथ्यांक छ ।
केन्द्रिय बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत् मुद्रास्फीति दरलाई ६.५ प्रतिशत भित्र राख्ने अनुमान गरेको थियो । तर भदौको तुलनामा असोजमा केही सस्तिएको नेपाली बजार कात्तिकमा आउँदा निकै सस्तो भइसकेको देखिएको छ । यी दुई महिनामा मात्रै झण्डै ३ प्रतिशत विन्दुले मुद्रास्फीति घटेको छ ।
महँगी नियन्त्रणमा भारतलाई उछिन्यो
यससँगै १९ महिनापछि नेपाली बजारको मुद्रास्फीति भारतमा भन्दा पनि सुस्त बन्न पुगेको हो । २०७७/७८ सालतिर लामो समय भारतभन्द नेपालमा महँगीको दर कम भएको थियो । २०७६ को अन्त्यतिरबाट कोभीडको कारण देखाउँदै नेपाली बजारमा खाद्यान्न लगायत वस्तुको ब्यापक मूल्य बृद्धि भयो ।
तर धेरै उपभोक्ताले कयौं आवस्यक वस्तुहरु सुरुमै भण्डारण गरेका कारण महामारी चर्किंँदै जाँदा बजारमा माग कम हुन पुग्यो । अर्कातिर महामारीबाट बच्न थुप्रै मानिसहरु ‘गाऊँ फर्क अभियान’मा सहभागि भए । यसले कृषिजन्य वस्तुको उत्पादन बढ्न गयो र धेरै ब्यापारीलाई ‘स्टक क्लियरेन्स’ गर्न गाह्रो पर्यो । यस्तो विशेष परिस्थितिमा भारतभन्दा सस्तो हुन पुगेको नेपाली बजार अहिले पुनः एक पटक त्यही अवस्था दोहोरिएको छ ।

यसअघि २०७८ पुस र चैत महिनामा भारतको तुलनामा नेपाली बजारको मुद्रास्फीति कम भएको थियो । २०७८ को असोजसम्म भने नेपाली बजार तुलनात्मक रुपमा सस्तो नै देखिएको थियो ।
गत कात्तिकमा हिन्दु समाजले दशैं र तिहारजस्ता दुई ठूला पर्व मनायो । तराइमा मनाइने मुख्य पर्व छठ पनि मंसिरको सुरुमै परेका कारण यसका लागि आवस्यक कतिपय किनमेल कात्तिकमै भए । तर यी पर्वलाई लक्ष्यित गरेर बजारमा ल्याइएका कयौं वस्तुहरु अपेक्षाकृत रुपमा बिकेनन् र मूल्य सस्तिन पुग्यो ।
सरकारले नै बेच्न ल्याएको खसी र च्यांग्रा बिकेनन् । यसले गर्दा मध्ये दशैंमा मासु सस्तियो । लत्ताकपडादेखि मोबाइललगायतका वस्तु पनि चार्डपर्वमा बिकेनन् । दशैंमा गउँ गएको ठूलो जनसंख्या तिहारसम्मै शहर फर्किएन । रोजगारी कटौति र खर्चयोग्य आम्दानीमा भएको कमीले समग्र बजारमा माग घट्न पुग्यो ।
तिहारमा भाइमसलाका सामान अपेक्षा गरेजस्तो बिकेन । पुष्प व्यवसायीले त राम्रै घाटा सहनु पर्यो । हिउँदे तरकारीको भाउ धेरै वर्षपछि अस्वाभाविक रुपमा सस्तियो । पछिल्लो समय भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि यसको भाउ बढे पनि अरु कतिपय तरकारीको भाउ विगतका वर्षमा भन्दा निकै सस्तो भएका छन् ।
ब्याजदर घटाउने आँट
विगतमा बढ्दो महँगिलाई नियन्त्रण गर्न भन्दै ब्याजदर बढाइरहेको राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मार्फत् ब्याजदर घटाउने नीति अघि सारेको थियो । नीतिगत ब्याजदरलाई साढे ५ प्रतिशतमा झारेपछि यो अमेरिकाको ब्याजदर बराबर हुन आइपुगेको छ ।
अमेरिकामा गत जुलाइदेखि फेडेरल फण्ड रेट ५.२५ देखि ५.५० प्रतिशत पुर्याइएको छ । बेलायतको बैंक अफ इङ्ल्याण्डले गत अगष्टबाट बैंक दर २.२५ प्रतिशत पुर्याएको छ । भारतले गत फेब्रुअरीबाटै रिपो रेटलाई ६.५ प्रतिशत र स्थायी तरलता सुविधाको ब्याजदर ६.७५ प्रतिशत कायम गरेको छ ।
नेपालमा बैंक दर (स्थायी तरलता सुविधाको दर) ७ प्रतिशत बनाइएको छ । तर निक्षेप संकलन बोलकबोल दर ३ प्रतिशतमा झारिएको छ । यसले आक्रामक स्तरमा ब्याजदर घटाउन राष्ट्र बैंक किन तयार भयो भन्ने प्रश्नको जवाफ मुद्रास्फीतिको तथ्यांकले दिएको छ । मूल्य बृद्धिको औसत दर नियन्त्रणमा आइसकेपछि केन्द्रिय बैंकहरुले आन्तरिक अर्थतन्त्र चलायमान बनाउन ब्याजदर घटाउँछन् ।
नेपालमा कतिपय विज्ञ र केही सञ्चारमाध्यमले समते सरकार र खासगरी अर्थमन्त्रीको जबरजस्त दबाबमा परेर राष्ट्र बैंकले ब्याजदर घटाएको टिप्पणीहरु भइरहेका छन् । यस्तो बेला राष्ट्र बैंककै आँकडाले यी धारणाहरुलाई चिरेको अधिकारीहरु बताउँछन् ।