महँगोमा आन्तरिक ऋण उठाएर सस्तो ब्याजको विदेशी ऋणी तिर्दै सरकार, वैदेशिक ऋण प्राप्ति भन्दा भुक्तानी धेरै
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक ऋण प्राप्ति भन्दा भुक्तानी रकम बढी देखिएको छ । चालु आवको कात्तिक महिनासम्ममा वैदेशिक ऋण प्राप्ति भन्दा भुक्तानी ३३ करोड ३१ लाख रुपैयाँ बढी छ ।
मतलब सरकारले महँगोमा आन्तरिक ऋण उठाएर सस्तो व्याजको विदेशी ऋणी तिरिरहेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेका पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो ।
सरकारले चालु आवको पहिलो ४ महिनामा १५ अर्ब ८५ करोड ३० लाख बराबरको विदेशी ऋण लिएको छ । तर, सरकारले यसै अवधिमा १६ अर्ब १८ करोड ६१ लाख बराबरको पुरानो विदेशी ऋण तिरेको छ । त्यसमा १२ अर्ब ६० करोड ५१ लाख सावाँ भुक्तानी गरिएको छ । ३ अर्ब ५८ करोड १० लाख रुपैयाँ व्याज भुक्तानी गरिएको छ ।
ऋण प्राप्ति भन्दा भुक्तानी बढी हुँदा विदेशी मुद्रा सञ्चिति प्रभावित हुने गर्छ । साथै, ऋणकै उपयोग पनि राम्रो हुँदैन । त्यसमाथि आन्तरिक ऋण उठाएर विदेशी ऋण तिनुपर्दा सरकारको दायित्व थप बढ्छ, किनकि आन्तरिक ऋणको ब्याजदर महँगो हुन्छ । सरकारले विभिन्न दातृ निकायसँग सहुलियतमा ऋण लिएको हुन्छ । त्यसले गर्दा ऋणको ब्याजदर सस्तो हुन्छ । साथै, नेपालले विकासशील राष्ट्र भएका कारण विभिन्न अन्तर्राष्ट्रिय सुविधा प्रयोग गरेर सस्तोमा ऋण ल्याइरहेको हुन्छ । तर, नेपालमै भने महँगोमा ऋण लिन सरकार बाध्य छ।
साढे २३ खर्ब माथि नेपालको ऋण
कात्तिक मसान्तसम्म आउँदा सरकारको ऋण साढे २३ खर्ब भन्दा माथि पुगेको छ । सरकारी प्रतिवेदनअनुसार कात्तिकसम्म सरकारले तिर्नुपर्ने ऋण २३ खर्ब ५७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । त्यसमा ११ खर्ब ८३ अर्ब ५७ करोड आन्तरिक ऋण र ११ खर्ब ७३ अर्ब ४९ करोड वैदेशिक ऋण रहेको छ ।













