७० प्रतिशतले बढ्यो वैदेशिक अध्ययन शीर्षकमा बाहिरिने रकम, विदेश भ्रमणमा नेपालीको खर्च साढे २३ अर्ब
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा वैदेशिक अध्ययनमा बाहिरिने रकम ७० प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आवको पहिलो चार महिनामा विदेश पढ्न जाने विद्यार्थीले २२ अर्ब ६१ करोड रुपैयाँ लगेका थिए । तर, यसपालि त्यो रकम ३८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।
नेपालबाट जापान, अष्ट्रेलिया, युरोप, अमेरिका जस्ता मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीले त्यो बराबरको रकम लगेका हुन् । विशेषगरि गरी यी मुलुक नै नेपाली विद्यार्थीको रोजाइमा देखिन्छ । पढाइका साथै राम्रो कमाई हुने भएपछि नेपाली विद्यार्थी विदेशिने गरेको छन् ।
गत आवभरमा भने वैदेशिक अध्ययनमा १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो । यो वर्ष त्यो भन्दा पनि बढी रकम बाहिरिने आकलन गरिएको छ ।
पछिल्लो समय वैदेशिक अध्ययनमा जाने नेपाली विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । नेपालमा रोजगारीको अवसर छैन । शिक्षाको गुणस्तर छैन, त्यसमाथि शिक्षा महँगो हुँदै गएको छ । यी यस्ता कारण नेपाली विद्यार्थीमा नेपालमै बस्ने मनोबल घट्दै गएको जानकारहरू बताउँछन् । त्यसपछि पछिल्लो समय एसइई तथा प्लस टु सक्न साथ वैदेशिक अध्ययनमा जाने विद्यार्थीको लहर छ ।
अध्ययन र कमाई दुवै हुने भएपछि यस प्रति आकर्षण बढ्दै गएको छ । विदेशमा पढ्दै काम गर्दा पनि आम्दानी गर्न सक्ने र पढिसकेपछि योग्यता अनुसार काम पाउने अवसर हुने भएकाले पनि नेपाली विद्यार्थीहरुको विदेश अध्ययन मोह बढ्दै गएको देखिन्छ ।
यसरी वैदेशिक अध्ययनमा जाने विद्यार्थीको सङ्ख्या बढेपछि यस मार्फत बाहिरिने रकम पनि बढेको हो । विदेशी पढ्न जाने विद्यार्थीको कलेज शुल्क र आवास शुल्क लगायतका पैसा नेपालबाटै लैजानुपर्ने हुन्छ ।
विदेश भ्रमणमा नेपालीको खर्च साढे २३ अर्ब
यसै गरी समीक्षा अवधिमा विदेश भ्रमणमा नेपालीले साढे २३ अर्ब खर्च गरेका छन् । तथ्याङ्क अनुसार समीक्षा अवधिमा भ्रमण तर्फको खर्च २३ अर्ब ४८ करोड छ ।
गत आवको यसै अवधिमा यस्तो खर्च १४ अर्ब ९३ करोड थियो । समीक्षा अवधिमा यसरी हुने खर्च ६६ प्रतिशतले बढेको देखिन्छ ।
समीक्षा अवधिमा विदेशी पर्यटक मार्फत हुने आम्दानी पनि ४७.२ प्रतिशतले बढेर २५ अर्ब ७४ करोड पुगेको छ । गत आवको यस अवधिको यस्तो आम्दानी १७ अर्ब ४९ करोड रुपैयाँ थियो ।













