हिमालयन बैंकको साधारण सभा सम्पन्न, के–के एजेण्डा भए पारित ? « Arthapath.com
११ असार २०८२, बुधबार

हिमालयन बैंकको साधारण सभा सम्पन्न, के–के एजेण्डा भए पारित ?



काठमाडौँ । हिमालयन बैंक लिमिटेडको एकतीसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैक तथा यसका सहायक कम्पनीहरु सहितको एकिकृत वित्तीय विवरण पारित गरेको हो ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष श्रेष्ठले समीक्षा वर्षमा सिभिल बैंकलाई प्राप्ति गरी एकिकृत कारोबार सुरु गरेको तथा तत्कालिन सिभिल क्यापिटल मार्केट लिमिटेडलाई पनि बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले प्राप्ति गरी एकिकृत कारोबार सुरु गरिसकेकको जानकारी गराए ।

यसका साथै उनले सिभिल लघुवीत्त वित्तीय संस्थाको नाम परिवर्तत गरी यस बैंकको सहायक कम्पनी हिमालयन लघुवीत्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार संचालन गरिरहेको जानकारी गराए । उनले बैंकले निकट भविष्यमा आफ्नो सेवा विस्तारलाई ध्यानमा राखी धितोपत्र सम्बन्धी कारोबार गर्न हिमालयन सेक्युरिटिज लिमिटेडको नाममा अर्को सहायक कम्पनी दर्ता गरी कारोबार सुरु गर्न नियामक निकायबाट स्वीकृति प्राप्त गर्ने प्रक्रियामा रहेको जानकारी गराए ।

उनले बैंकले आ.व. २०७९/०८० को अन्त्य सम्म प्राप्ति सहित रु. २ खर्ब ७८ अर्ब ५२ करोड निक्षेप संकलन र रु. २ खर्ब ४२ अर्ब ७५ करोड कर्जा प्रवाह गरेको जानकारी गराए । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ६२.४२ र ५५.१७ प्रतिशतले बढी हो । उनले विश्वका आर्थिक, सामाजिक तथा भू—राजनीतिक घटनाहरुका कारण हाल यस बैंक तथा सम्पूर्ण बैकिङ्ग क्षेत्रले नै चुनौतीको सामना गरिरहेको रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्