अनलाइनबाटै ऋण आदान प्रदान गर्न सकिने, नीतिगत व्यवस्था गर्न सुझाव « Arthapath.com
१५ माघ २०८०, सोमबार

अनलाइनबाटै ऋण आदान प्रदान गर्न सकिने, नीतिगत व्यवस्था गर्न सुझाव



काठमाडौं । नेपाल राष्ट्र बैङ्कको एक अध्ययनले व्यक्ति–व्यक्तिबिच अनलाइनबाटै ऋण आदान प्रदान गर्न मिल्ने गरी नीति ल्याउन सुझाव दिएको छ । राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले गरेको एक अध्ययनले अनलाइनबाटै व्यक्ति–व्यक्तिबिच ऋण कारोबार मिल्ने नीतिगत व्यवस्था गर्न राष्ट्र बैङ्कलाई नै सुझाव दिएको हो । 

राष्ट्र बैङ्कले उक्त अध्ययनको प्रतिवेदन आइतबार सार्वजनिक गरेको छ । जुन प्रतिवेदनले व्यक्ति–व्यक्तिबिच ऋण कारोबार गराउने अनलाइन प्लेटफर्मलाई लाइसेन्स दिने नीति ल्याउन सुझाव दिएको छ । यो नीति कार्यान्वयनमा आएमा आम सर्वसाधारण व्यक्तिहरूले अनलाइनबाटै निश्चित रकमसम्मको पैसा ऋण स्वरूप आदान प्रदान गर्न सक्नेछन् । यस्तो व्यवस्था उत्तर छिमेकी मुलुक चीन,  दक्षिण छिमेकी मुलुक भारत सहित देशहरूमा प्रचलित छन् ।  यो निकै आकर्षित वित्तीय सेवा हो । 

यसमा केन्द्रीय बैङ्कले निश्चित सङ्ख्यामा यस्तो सेवा प्रदान गर्ने कम्पनी (प्लेटफर्म) लाई लाइसेन्स दिनेछ । त्यसपछि लाइसेन्स प्राप्त कम्पनीले अनलाइन मार्फत व्यक्ति–व्यक्तिबिच ऋण कारोबार गराउन सक्नेछ । यस्तो सेवा लिन चाहने व्यक्तिहरू सम्बन्धित कम्पनीको सदस्य बन्नु पर्नेछ । त्यसपछि निज व्यक्तिहरूले सोही प्लेटफर्म मार्फत आफ्नो पैसा ऋणको रूपमा लगानी गर्न सक्नेछन् । पैसा चाहिने व्यक्तिहरूले त्यसबाटै ऋण लिन सक्नेछन् । 

अहिले नेप्सेको सिस्टममा सामान्य तरिकाले आफूसँग भएको शेयर बिक्री र अरूसँग भएको शेयर किन्न सकिन्छ । त्यसरी नै यसको सिस्टममा आम व्यक्तिहरूले पैसा चाहिने भए कर्जा लिन सक्नेछन् । आफूसँग पैसा भएमा ऋण लगानी गर्न सक्नेछन् । ब्याजदर भने आपसी समझदारीमा नै कायम गरिनेछ । तत्काललाई कर्जाको सीमा भने निकै कम राख्ने राष्ट्र बैङ्कको तयारी छ । 

यस्तो कर्जा लिन धितो आवश्यक पर्ने छैन । यसमा सदस्य हुने व्यक्तिहरूको क्रेडिट रेटिङ तथा स्कोरिङ गरिनेछ । त्यसकै आधारमा सम्बन्धित व्यक्तिहरूले ऋण कारोबारका लागि योग्य तथा विश्वास गरिनेछ ।

यसै गरी क्राउड फन्डीङ सञ्चालन गर्ने प्लेटफर्मलाई पनि लाइसेन्स दिन सुझाव दिइनेछ । यसले बिशेषगरि साना तथा मझौला उद्यम परियोजनालाई लगानी जुटाउन सहयोग पुग्नेछ । परियोजना भएका व्यक्ति तथा समूहले यसको प्लेटफर्ममा राख्नेछन्, त्यसमा पैसा भएका व्यक्ति तथा संस्थाले ऋण लगानी गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्