अपर तामाकोशीले बेच्यो ५ अर्ब ३५ करोडको बिजुली, सुधारिँदै गरेको वित्तीय अवस्था कस्तो ?
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले नोक्सानी घटाएको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
कम्पनी गत वर्षको पुस मसान्तसम्ममा ८२ करोड ४८ लाख ४६ हजार रुपैयाँ नोक्सानी थियो । तर, चालु आवको सोही अवधिमा भने नोक्सानी ह्वात्तै घटाएको छ । समिक्षा अवधिमा कम्पनी २५ करोड ७६ लाख ४० हजार रुपैयाँ नोक्सानीमा छ ।
६ महिनामा कम्पनीले ५ अर्ब ३५ करोड ६३ लाख ९२ हजार रुपैयाँ बराबरको बिद्युत बिक्री गरेको छ । गत वर्षको तुलनामा कम्पनीको विद्युत बिक्री आम्दानी ७.४४ प्रतिशत बढेको हो । गत वर्षको दोस्रो त्रैमासमा भने कम्पनीले ४ अर्ब ९८ करोड ५१ लाख ८६ हजार रुपैयाँ बराबरको विद्युत बेचेको थियो ।
समिक्षा अवधिमा कम्पनीको संचालन नाफा पनि २ अर्ब ७८ करोड ६२ लाख रुपैयाँबाट बढेर ३ अर्ब १६ करोड २७ लाख ५० हजार रुपैयाँ कायम भएको छ । यस्तै, समिक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी करिब ६९ लाख रुपैयाँ मात्र छ । अन्य आम्दानी पनि ४ लाख रुपैयाँ मात्रै छ ।
हाल कम्पनीको चुक्ता पुँजी १९ अर्ब ४७ करोड ८० लाख रुपैयाँ रहेको छ । तर, कम्पनीको रिटेन्ड अर्निङ्ग भने ७ अर्ब ५७ करोड ४० लाख रुपैयाँ ऋणात्मक छ । समिक्षा अवधिमा कम्पनीको दीर्घकालिन ऋण भने ७२ अर्ब ७७ करोड ५३ लाख रुपैयाँ छ ।
कम्पनीले ऋणात्मक रहेको प्रतिसेयर आम्दानी पनि सुधार गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा ७ रुपैयाँ ७९ पैसा ऋणात्मक रहेको प्रतिसेयर आम्दानी अहिले भने घटाएको छ। हाल कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ३२ पैसा मात्रै ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने ६१ रुपैयाँ ११ पैसा छ।













