वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुको ‘बीमा’ आकर्षण कस्तो ?

कुन कम्पनीले कति गर्छन् आम्दानी ?
काठमाडौं । वैदेशिक रोजगार बीमा मार्फत जीवन बीमा कम्पनीहरुले डेढ अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
चालु आवको ७ महिनाको अवधिमा कम्पनीहरुले कुल १ अर्ब ७१ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क उठाएका हुन् । तर, यो गत वर्षको माघ मसान्तसम्मको तुलनामा भने १२.७६ प्रतिशत कमी हो । गत वर्षको सोही अवधिमा वैदेशिक रोजगार बीमा मार्फत कम्पनीहरुले १ अर्ब ९६ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क उठाएका थिए ।
वैदेशिक रोजगार बीमा गर्ने नेपालीहरूको संख्यामा कम आएको देखिएको छ । वैदेशिक रोजगारीमा जानेहरू नेपाली कामदारहरुको संख्या वृद्धिमा आएको गिरावटले नै यस्तो बीमामा आकर्षण पनि घटेको तथ्याङ्कले देखाउँछ ।
यद्यपि, गत वर्षको तुलनामा केही घटेपनि आकर्षण कम भन्न नमिल्ने कम्पनी बताउँछन् । पछिल्लो समय बीमा कम्पनीहरूले डिजिटल प्रविधिलाई बढी फोकस गरेका छन् । प्रविधिलाई नै आत्मसात् गर्दै जाँदा कतिपय झन्झटिला प्रक्रियामा सेवाग्राहीहरू अलमलिन नपर्ने भएपछि पनि धेरै सहज भएको छ । अनलाइन प्रविधि मार्फत पनि बीमालेख खरिद गर्न सकिने भएकाले पनि बढी चासो बढेको छ, यसले वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरु अत्याधिक चासोका साथ बीमा सहभागिता जनाउने गरेको कम्पनीहरु बताउँछन् ।
चालु आवको ७ महिनामा वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरुको कुल १९ लाख ६५ हजार ७६४ वटा बीमालेख सक्रिय देखिएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरू अनिवार्य रूपमा म्यादी बीमा गर्नुपर्दछ । सोही अनुसार नै गरिएको बीमामा सो सङ्ख्यामा पोलेसी सक्रिय देखिएको हो । पछिल्लो समय वैदेशिक रोजगार बीमालाई पुल मार्फत सञ्चालन गरिएको छ ।
गत माघ महिनामा मात्रै कम्पनीहरुले वैदेशिक रोजगार बीमा मार्फत ६१ हजार ९७९ बीमालेख बिक्री गरि २६ करोड २४ लाख रुपैयाँ आम्दानी गरेका थिए । हाल नेशनल लाइफ, नेपाल लाइफ, एशियन, आइएमई, सन नेपाल, रिलायवल, सिटिजन, सूर्यज्योति, सानिमा रिलयान्स र प्रभु महालक्ष्मी लाइफले वैदेशिक रोजगारी बीमा गर्दै आएका छन् । समीक्षा अवधिमा वैदेशिक रोजगार बीमाको दायित्व (बीमाङ्क रकम) ६१ अर्ब ९७ करोिड ९० लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा सबैभन्दा धेरै आम्दानी सन नेपाल लाइफको देखिएको छ । कम्पनीले वैदेशिक रोजगार बीमा मार्फत ४३ करोड २४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ७ महिनामा ७ लाख ४६ हजार ७३१ वटा बीमालेख बिक्री गरेको छ।
कुल संकलित बीमा शुल्क र सक्रिय रहेको बीमालेखको आधारमा सन नेपाल लाइफ वैदेशिक रोजगारमा जाने नेपालीको कामदारको रोजाईमा परेको देखिन्छ । सन नेपाल लाइफ मार्फत नै बढी बीमा गरेको तथ्याङ्कबाट पुष्टि हुन्छ ।
दोस्रो सूचीमा रहेको नेपाल लाइफले पनि ३ लाख ८३ हजार ६९६ वटा वैदेशिक बीमालेख बिक्री गरि कुल ३६ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ ।
तेस्रो सूचीमा रहेको आइएमई लाइफ पनि वैदेशिक रोजगारमा जाने नेपाली कामदारको रोजाईमा परेको देखिन्छ । कम्पनीले पनि ७ महिनामा १ लाख ५७ हजार २५९ वटा वैदेशिक रोजगार बीमालेख बिक्री गरेको छ । कम्पनीले समिक्षा अवधिमा १९ करोड ३५ लाख रुपैयाँ शुल्क वैदेशिक रोजगार बीमा मार्फत उठाएको छ ।
यस्तै, एयिशन लाइफले १५ करोड ३१ लाख, नेशनलले १५ करोड १० लाख, सूर्यज्योतिले ११ करोड ९३ लाख, सानिमा रिलायन्सले ११ करोड ७१ लाख, रिलायवल नेपालले १० करोड ३८ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् ।
त्यसैगरि सिटिजन लाइफले ७ महिनामा ६ करोड ८१ लाख र प्रभु महालक्ष्मीले १५ लाख रुपैयाँ शुल्क वैदेशिक रोजगार बीमा मार्फत संकलन गरेका छन् ।
