७ श्रावण २०८३, बिहिबार

वैदेशिक व्यापारमा देखिएन सुधार: आयात र निर्यात दुवै घट्यो, ९ खर्ब नाघ्यो व्यापार घाटा



काठमाडौं । नेपालको वैदेशिक व्यापार अझै सुध्रिन सकेको छैन । पछिल्लो समय आयात र निर्यातको व्यापारमा कमी आएको हो ।

विशेषगरि आर्थिक गतिविधिमा सुधार आउन नसक्दा नै आयात र निर्यातको व्यापारमा संकुचन आएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा पनि आयात र निर्यात दुवै घटेको छ ।

समिक्षा अवधिमा आयात २.६६ प्रतिशत घटेको छ । चालु आवको ८ महिनामा नेपालले कुल १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँ बराबरको आयात गरेको छ । तर, यो गत आवको फागुन मसान्तसम्मको तुलनामा भने २८ अर्ब १६ करोड २८ लाख रुपैयाँ कमी हो । गत आवको सोही अवधिमा नेपालले कुल १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको थियो ।

समिक्षा अवधिमा नेपालबाट हुने निर्यातको व्यापार पनि ३.९९ प्रतिशत घटेको छ। गत आवको फागुन मसान्तसम्ममा नेपालबाट कुल १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो । तर, चालु आवको सोही अवधिमा भने सवा चार अर्ब घटेको छ । चालु आवको ८ महिनामा नेपालले कुल १ खर्ब ६१ करोड ७४ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ ।

समिक्षा अवधिमा नेपालले कुल ११ खर्ब ३० अर्ब ८४ कराड १ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । आयातको तुलनामा निर्यातको व्यापारमा ठुलो अन्तर छ । समिक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ छ । यद्यपि, गत आवको तुलनामा भने यो २.७८ प्रतिशत कमी हो ।


प्रतिक्रिया दिनुहोस्