चीनबाट तेब्बर बढ्यो विद्युतीय सवारीसाधनको आयात

धुन्चे । नेपालको चीनसँग जोडिएको सीमा नाकामध्ये व्यस्त र बढी राजस्व उठ्ने रसुवागढी नाकाबाट पछिल्लो समय विद्युतीय सवारीसाधन आयातमा बढोत्तरी भइरहेको छ । सो नाकाबाट सबैभन्दा बढी विद्युतीय कार, १० र १५ सिटका माइक्रो भ्यान तथा बस नेपाल भित्रिरहेका छन् ।
चालू आर्थिक वर्ष ०८०।८१ को साउनदेखि चैत मसान्तसम्म सो नाकाबाट चार हजार सात सय ६ साना–ठुला सवारीसाधन आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । तीमध्ये चार हजार ६ सय ७९ विद्युतीय कार, माइक्रो भ्यान र माइक्रो बस नेपालतर्फ भित्रिएका हुन् । सो नाकाबाट पाँच हजार आठ सय ५० सवारीसाधन भन्सार प्रक्रिया पूरा गरी भित्रिएको रसुवा भन्सार कार्यालयका सूचना अधिकृत निर्मल कँडेलले जानकारी दिए ।
विद्युतीय कारको खरिद मूल्य चिनियाँ उत्पादक कम्पनीमा रु. २८ लाख ५१ हजार र भन्सार शुल्क रु. ११ लाख ९८ हजार छ । रसुवा प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालू आवका नौ महिनामा रु. १५ अर्ब ७७ करोड राजस्व असुली भएको हो । तुलनात्मक हिसाबले एक सय ६६ प्रतिशत राजस्व वृद्धि भएको पाठकले बताए । गत आवको यस अवधिमा रु. पाँच अर्ब ९४ करोड मात्र असुली भएको थियो । ठुलो सङ्ख्यामा चीनबाट सवारीसाधन आयात भएकाले चालू आवमा करबापतको राजस्व बढेको हो ।
चालू आवका नौ महिनामा रु. ४८ अर्ब ५९ करोड बराबरको सामग्री आयात भएको थियो । आयातित सामग्रीमा सानाठूला सवारीसाधन, इलेक्ट्रिक सामान, जुत्ता, चप्पल, तयारी कपडा, लसुन, स्याउ, ओखरलगायत दैनिक उपभोग्य सामग्री छन् । ०७१ देखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा वर्षमा दैनिक तीन सयदेखि चार सय सवारीसाधन आवतजावत हुने गरेको छ ।
चीनले अन्तर्राष्ट्रिय नाकाका रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएकाले व्यापार, व्यवसाय पनि चलायमान भइरहेको स्थानीय होटेल व्यवसायी पदम रुम्बाले बताए । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।
मुलुकमा विद्युतीय सवारीको आयात उल्लेख्य रूपमा बढेको भन्सार विभागको तथ्याङ्कले देखिएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको चालू आ.व.को पहिलो १० महिनाको विवरणअनुसार हालसम्म आठ हजार चार सय ९७ वटा चारपाङ्ग्रे विद्युतीय गाडी नेपाली बजारमा भित्रिएका छन् । यो वृद्धि गत वर्षको तुलनामा करिब तीन गुणाले बढी हो । विभागको तथ्याङ्कअनुसार गत वर्ष सोही अवधिमा दुई हजार नौ सय ५५ वटा चारपाङ्ग्रे गाडी भित्रिएका थिए ।
वैशाखसम्ममा ५० किलोवाटसम्मका तीन हजार चार सय ७२, ५१ देखि एक सय किलोवाटसम्मका चार हजार आठ सय ९६ वटा, एक सय एकदेखि दुई सय किलोवाटसम्मका एक सय पाँच वटा र त्यसभन्दा ठुला क्षमताका २४ वटा कार, जिप, भ्यान आयात भएको देखिएको छ । वैशाख महिनामा मात्र एक हजार चार सय वटा विद्युतीय कार भित्रिएको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
तीन पाङ्ग्रे विद्युतीय सवारी आयात पनि सात हजार नौ सय ७० थान तयारी अवस्थाका र दुई हजार दुई सय २६ थान फिटिङ नगरिएका तीन पाङ्ग्रे विद्युतीय सवारी भित्रिएका हुन् । विद्युतीय सवारीको यो आयातमार्फत चालू आवको साउनदेखि वैशाखसम्ममा २१ अर्ब आठ करोड ८० लाख ३९ हजार रुपैयाँ बराबरको यस्ता साधनको आयातबाट सरकारले नौ अर्ब ३६ करोड ४४ लाख ४३ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ । गत वर्ष यो अवधिमा आठ अर्ब ४१ करोड रुपैयाँका दुई हजार नौ सय ५५ विद्युतीय कार आयात हुँदा दुई अर्ब ३० करोड ८८ लाख ५५ हजार रुपैयाँ राजस्व पाएको थियो ।