भेन्यूको सस्तो भेरियन्ट पनि नेपालमै बन्दै, दशैँपछि नयाँ क्रेटाको पालाे « Arthapath.com
२४ असार २०८२, मंगलबार

भेन्यूको सस्तो भेरियन्ट पनि नेपालमै बन्दै, दशैँपछि नयाँ क्रेटाको पालाे



काठमाडौँ । पेट्रोलियम गाडीको माग आधा घटेपछि हुण्डाईले स्वदेशमै एसेम्बल गरेर मूल्य घटाउने नयाँ रणनीति अपनाएको छ । स्वदेशी एसेम्बल गाडीमा झण्डै १० प्रतिशतका दरले मूल्य घटाइएको कम्पनीले जनाएको छ ।

ग्राहकको मन जित्न र बजारमा प्रतिस्पर्धा गर्न कम्पनीले यस्तो रणनीति अपनाएको हो । स्वदेशमा एसेम्बल गर्दा सीप र प्रविधि पनि भित्रिने र गाडीको मूल्य पनि सस्तो पर्ने कम्पनीका बजार तथा सञ्चार प्रबन्धक सन्दीप शर्माले जानकारी दिए । नेपालमा हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेण्टलले एसेम्बल प्लान्ट सञ्चालन गरिसकेको छ ।

अहिलेसम्म भेन्यू एस र भेन्यू एसएक्स मोडेलका २०० युनिट गाडी स्वदेशमै एसेम्बल भइसकेको कम्पनीले जनाएको छ । ‘त्यही गाडी बजारमा पठाइएको छ’ उनले भने, ‘अबको दुई साताभित्र अर्को भेरियन्टको गाडी एसेम्बल गर्न सुरु हुन्छ ।’

पहिलो चरणमा भेन्यू गाडी उत्पादन गर्ने भने पनि त्यसको माथिल्लो (महँगो) भेरियन्टका गाडी एसेम्बल भएका थिए । अहिले एसेम्बल भएका गाडी ४४ लाख र ४८ लाख मूल्यका हुन् । अब एसेम्बल गर्न लागिएको ‘भेन्यू ई’ भेरियन्ट भने ४० लाख हाराहारीको हुने छ ।

नेपालमा एसेम्बल हुन थालेपछि ‘ई’ भेरियन्टको मूल्यमै ‘एस’ भेरियन्टको गाडी उपलब्ध गराइएको कम्पनीको भनाइ छ । त्यसैले सुरुमा एस र एसएक्स एसेम्बल गरिएको हो । उही मूल्यमा पहिलेभन्दा राम्रो र सुविधासम्पन्न गाडी पाइने भएपछि त्यस्ता गाडीको माग बढ्छ भन्ने कम्पनीको अनुमान थियो ।

तर ग्राहकले अझ सस्तो गाडी पनि खोज्न थालेपछि भेन्यूको सबैभन्दा सस्तो भेरियण्ट उत्पादन गर्न लागिएको कम्पनीले जनाएको छ । ‘कस्तो खालका गाडीको माग छ, त्यसैलाई हामीले उत्पादन गर्ने हो’ शर्माले थपे ।

नेपालमा एसेम्बल भएपछि भारतीय एसेम्बल गाडीको तुलनामा भेन्यू एसको मूल्य ४ लाख र एसएक्सको ४.५ लाख सस्तिएको छ । अहिले बजारमा पेट्रोलीयमबाट चल्ने गाडीको माग घटेपनि हुण्डाईले नेपालीको मन जित्न थप लगानी गरेको कम्पनीले बताएको छ ।

भेन्यू नेपालमा बन्न थालेपछि भारतबाट यस्तो गाडीको आयात रोकिएको छ । ‘अहिलेसम्म हामीसँग पुरानो स्टकको २–४ वटा गाडी बाँकी छन् । स्वदेशमै एसेम्बल हुन थालेपछि यस्ता गाडीको आयात रोकिएको छ’ शर्माले भने ।

गत वैशाख अन्तिम साता परासी स्थित लक्ष्मी हुण्डाईको एसेम्बल प्लान्टबारे जानकारी दिँदै कम्पनीका बजार तथा सञ्चार प्रबन्धक सन्दीप शर्मा ।

घट्दो माग

अहिले पनि हुण्डाईले दिनमा ३ सिफ्ट उद्योग चलाउन सक्ने सामथ्र्य राख्छ । तर त्यसरी गरिएको उत्पादन विक्री हुने बजार हुनुपर्यो । एउटामात्रै मोडेल चलाएर पनि एसेम्बल प्लान्ट सफल हुँदैन । त्यही लाइन (एसेम्बल प्लान्ट)ले सानो गाडी, ठूला गाडी र ईभी पनि निकाल्न सक्छ ।

अहिलेकै पूर्वाधारमा रहेर क्रेटा, ग्राण्ड आई १०, ईभी सबै बन्ने गरी हुण्डाईले तयारी गरेको छ । ईभीमा काम गर्न सक्ने मान्छेहरु तयार पार्न केही समय लाग्ने कम्पनीले जनाएको छ ।

पेट्रोलियम इन्धन गाडीका लागि भने अहिले पनि कुनै गाह्रो छैन । अहिले बजारको माग नै सुस्त गतिमा बढिरहेका कारण आफूहरुले पनि अलि विस्तारै काम गरौँ भन्ने सोच राखेको शर्मा बताउँछन् ।

हुण्डाईले नेपालमा वार्षिक २ हजार जति गाडी विक्री भइरहेको जनाएको छ । बजार चलायमान भएको बेला गाडीको माग ४ हजारसम्म पुगेको थियो । यो अंकलाई अझै बढाउने उद्देश्यले नै नेपालमा एसेम्बल प्लान्ट सञ्चालनमा ल्याइएको उनले बताए ।

यसका लागि बजारमा पहूँच बढाउने, डिलरहरु खोल्ने, सेवा केन्द्रहरु थप्ने जस्ता काम पनि सँगसँगै गर्दै जाने योजना कम्पनीको छ ।


प्रतिक्रिया दिनुहोस्