अब कहिले हुन्छ तत्काललाई रोकिएको बंगलादेशसँग नेपालको ‘विद्युत व्यापार’ सम्झौता ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

अब कहिले हुन्छ तत्काललाई रोकिएको बंगलादेशसँग नेपालको ‘विद्युत व्यापार’ सम्झौता ?



काठमाडौं । नेपाल र बंगलादेशबीच हुने भनिएको विद्युत व्यापार सम्झौता धकेलिएको छ । बंगलादेशमा आरक्षणको विरोधमा भएको हिंसात्मक आन्दोलनले विद्युत व्यापार सम्झौता अनिश्चित बनेको हो ।

नेपालबाट बंगलादेशले ४० मेगावाट विद्युत लैजाने निर्णय गरेको थियो । उक्त विद्युत बिक्री गर्न नेपाल र बंगलादेशबीच साउन दोस्रो साता नै सम्झौता हुने भनिएको थियो । हाल भारतसँग निर्भर बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्ने योजना थियो ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार जुलाई २८ अर्थात् साउन १३ गते आइतबार त्रिपक्षीय सम्झौता गर्ने सहमति भएको थियो । बंगलादेश र भारतबाट प्रतिनिधि काठमाडौंमा आउने र नेपालसँग विदुत व्यापारका लागि त्रिपक्षीय सम्झौता गर्ने मिति तय गरिएको थियो ।

सम्झौताका लागि भारतका उर्जा मन्त्री मनोहरलाल खट्टर, बंगलादेशका मन्त्री पनि सहभागि हुने योजना थियो । उनीहरुलाई उर्जा मन्त्री दिपक खड्काले निम्ता पनि गरेका थिए । त्रिपक्षीय सम्झौताको अन्तिम चरणमा पुगेको पनि बंगलादेश चलिरहेको हिंसात्मक आन्दोलनले हाललाई रोकिएको हो । बंगलादेशसँगको विद्युत व्यापार सम्झौता पछि धकेलिएको उर्जा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त सम्झौता अब २ महिनासम्म धकेलिने भएको हो ।

यद्यपि, बंगलादेशको आन्दोलन रोकिएपछि वातावरण अनुकुल भएमा तोकिएको मिति अघि नै सम्झौता हुन सक्ने मन्त्रालयले जनाएको छ । त्यसका लागि नेपाल विद्युत प्राधिरकण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय विद्युत व्यापार निगम (एनभीभीएन) बीच त्रिपक्षीय सम्झौता गर्ने भनिएको थियो ।

बंगलादेश सरकारले सरकारी सेवा तथा रोजगारीको क्रममा आरक्षणको व्यवस्था लागू गरेको छ । सो व्यवस्था लागू गरेपछि विश्वविद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन् । आन्दोलनमा डेढसय भन्दा धेरैले ज्यान गुमाईसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्