धनीको बैंकको शीर्ष सूचीमा ग्लोबल आइएमई, नबिल र आरविवि, कुन बैंकसँग कति छ सम्पत्ति ?

काठमाडौं । वाणिज्य बैंकहरुको कुल सम्पत्ति ६९ खर्ब नाघेको छ । एकै वर्षमा बैंकहरुको झन्डै साढे सात खर्ब सम्पत्ति बढेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९-८० मा २० वटा वाणिज्य बैंकहरुसँग ६१ खर्ब ८० अर्ब ५० करोड ८३ लाख रुपैयाँ बराबरको सम्पत्ति थियो । तर, गत आवसम्म आइपुग्दा भने बैंकहरुको सम्पत्ति ७ खर्ब ३२ अर्ब १६ करोडले बढेर ६९ खर्ब १२ अर्ब ६७ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
धनी बैंकको पहिलो सूचीमा ग्लोबल आइएमई र नबिल बैंक दोस्रो सूचीमा छन् ।सम्पत्तिको आधारमा सबैभन्दा धनी ग्लोबल आइएमई बैंक छ । बैंकसँग ६ खर्ब ४ अर्ब ३९ करोड ५८ लाख रुपैयाँ सम्पत्ति छ । एक वर्षमा ग्लोबल आइएमईको सम्पत्ति ७७ अर्ब ५१ करोड ३२ लाख रुपैयाँ थपिएको छ । अघिल्लो आवमा पनि बैंकसँग ५ खर्ब २६ अर्ब ८८ करोड २५ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको थियो । यता, नबिल बैंकसँग पनि ५ खर्ब २ अर्ब २७ करोड ५३ लाख रुपैयाँ बराबरको सम्पत्ति छ । एक वर्षमा नबिल बैंकको सम्पत्ति ७७ अर्ब २१ करोड ८१ लाख रुपैयाँ थपिएको छ ।
यस्तै, धनी बैंकको तेस्रो सूचीमा रहेको राष्ट्रिय वाणिज्य बैंकसँग पनि ५ खर्ब ९ अर्ब ९५ करोड ६ लाख रुपैयाँ छ । बैंकको सम्पत्ति एक वर्षमा १ खर्ब १५ अर्ब ९२ करोड ८९ लाख रुपैयाँ थपिएको छ। अघिल्लो आवमा चौंथो सूचीमा रहेको बैंक गत आवमा भने तेस्रो स्थानमा आएको हो ।
धनी बैंकको चौंथो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ । बैंकसँग कुल ४ खर्ब ९२ अर्ब ७९ करोड ४६ लाख रुपैयाँ छ । अघिल्लो आवको तुलनामा बैंकको सम्पत्ति ४६ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बढेको हो ।
बैंकको सम्पत्ति गणना गर्दा हरेक बैंकमा भएको नगद तथा नगद सामान, नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात, व्युत्पन्न (डेरिभेटिभ) वित्तीय उपकरणहरुलाई लिने गरिन्छ । यसका साथै अन्य व्यापारिक सम्पत्ति, वित्तीय संस्थालाई दिएको कर्जा सापटी, ग्राहकलाई दिएको कर्जा सापटी, लगानी सुरक्षण पत्र, चालू कर सम्पत्ति, सहायक कम्पनीमा लगानी, सम्बद्ध कम्पनीमा लगानी, लगानी सम्पत्ति, सम्पत्ति तथा उपकरण, ख्याती तथा अमूर्त सम्पत्ति, स्थगन कर सम्पत्ति र अन्य सम्पत्तिलाई लिने गरिन्छ ।
धनी बैंकको पाँचौं स्थानमा रहेको कुमारी बैंकसँग ४ खर्ब १२ अर्ब ६२ करोड १७ लाख, छैठौं स्थानमा रहेको एनआइसी एशिया बैंकसँग ४ खर्ब ११ अर्ब २२ करोड ३९ लाख रुपैयाँ बराबरको सम्पत्ति छ ।
यस्तै, लक्ष्मी सनराइज बैंकसँग ३ खर्ब ९९ अर्ब १ करोड ७० लाख, प्रभुसँग ३ खर्ब ६५ अर्ब ४१ करोड, हिमालयनसँग ३ खर्ब ५७ अर्ब ५० करोड २० लाख, नेपाल बैंकसँग ३ खर्ब ३९ अर्ब ४७ करोड ९५ लाख, कृषि विकास बैंकसँग ३ खर्ब १२ अर्ब ९९ करोड २० लाख रुपैयाँ बराबरको सम्पत्ति छ ।
यता, सिद्धार्थ बैंकको कुल सम्पत्ति २ खर्ब ९६ अर्ब ८५ करोड १८ लाख, एनएमबिको २ खर्ब ९५ अर्ब १० करोड १५ लाख, एभरेष्टसँग २ खर्ब ९३ अर्ब ९६ करोड ११ लाख, प्राइमको २ खर्ब ६७ अर्ब ३४ कारेड ३५ लाख, सानिमाको २ खर्ब ३३ अर्ब ७८ करोड ५१ लाख, सिटिजनको २ खर्ब २२ अर्ब ५९ करोड २० लाख र नेपाल एसबिआईको २ खर्ब ८ अर्ब ८२ करोड २० लाख रुपैयाँ, माछापुच्छ्रेको १ खर्ब ८९ अर्ब ६२ करोड २५ लाख र स्ट्याण्डर्ड चार्टर्डको १ खर्ब ४० अर्ब ७८ करोड २० लाख रुपैयाँ छ ।