१६ प्रतिशत बढ्यो रेमिट्यान्स, एकै वर्ष भित्रियो साढे १४ खर्ब
काठमाडौं । एक वर्षमा साढे १४ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०–८१ को साउनदेखि असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
गत आवमा कुल १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रीएको छ । जुन अघिल्लो आवमा तुलनामा १६.५ प्रतिशत बढी हो । अघिल्ला आवमा पनि १२ खर्ब ४० अर्ब ६८ करोड रुपैयाँ नेपाल भित्रिएको थियो ।
अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । गत आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २७२ रहेको थियो ।













