साढे २० खर्ब पुग्यो विदेशी विनिमय सञ्चिति, एक वर्षको आयात धान्न पुग्ने
काठमाडौं । विदेशी विनिमय सञ्चिति साढे २० खर्ब पुगेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०–८१ को साउनदेखि असार मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको छ।
एक वर्षको अवधिमा यस्तो सञ्चिति ३२.६ प्रतिशत बढेको हो । अघिल्लो आवमा असार मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६क रोड रुपैयाँ रहेको थियो । तर, गत आवको सोही अवधिमा आइपुग्दा भने बढेर ५ खर्ब बढेर २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ पुगेको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ असार मसान्तमा ३०.४ प्रतिशतले वृद्घि भई १५ अर्ब २७ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति अघिल्लो असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेको रहेको थियो । तर, गत असार मसान्तसम्म आइपुग्दा भने ३७.४ प्रतिशत वृद्घि भई १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । तर, अघिल्लो वर्षको असार मसान्तमा यस्तो सञ्चिति १ खर्ब ९३ अर्ब ५९ करोड रहेको थियो ।
गत असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ । आव २०८०-८१ को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
गत असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।













