सुस्ताएको अटो व्यवसाय जगाउन तातिए बैंकहरु, गाडी किन्ने ग्राहक तान्न ब्याजदर सस्तो बनाउने प्रतिस्पर्धा « Arthapath.com
२४ असार २०८२, मंगलबार

सुस्ताएको अटो व्यवसाय जगाउन तातिए बैंकहरु, गाडी किन्ने ग्राहक तान्न ब्याजदर सस्तो बनाउने प्रतिस्पर्धा



काठमाडौं । कोरोना महामारी र आर्थिक संकुचनले प्रभावित नेपाली अटो बजार अझै पनि लयमा फर्किन सकेको छैन । अझै पनि अटो ब्यापारमा सुस्त नै छ ।

गाडी व्यापारमा महामारी, आर्थिक मन्दी र आयातमा लगाइएको प्रतिबन्धले ठूलो धक्का पुगेको थियो । यसका साथै बढ्दो बजार महँगी, उच्च ब्याजदर, आर्थिक संकटले अटो क्षेत्र निकै नै प्रभावित भएको थियो ।

तर, पछिल्लो समय अपेक्षित रुपमा गाडीको व्यापार बढ्न नसकेता पनि केही सुधारको संकेत भने देखिएको छ । विस्तारै आर्थिक गतिविधि बढ्न थालेको छ । अर्थतन्त्रका आन्तरिक तथा बाह्य क्षेत्र पनि बलियो बन्दै गएका छन् ।

अटो बजारमा पनि लयमा फर्किने क्रमा देखिन्छ। विशेष गरि नियामकीय तवरबाट गरिएको केही नीतिगत सहजीकरण र घट्दो बैंक ब्याजदर पनि अटो क्षेत्रलाई चलायमान बनाउन जोडबल गरिरहेको छ । यता, व्यवासायीहरु पनि गाडी बिकाउनका लागि विभिन्न छुट लगायतका अफरहरु ल्याएका छन् ।

मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डमा यो वर्षको नाडा अटो शो सुरु हुँदैछ । आगामी भदौ १६ गते आइतबारसम्म चल्ने उक्त मेलामा पनि बैंकहरुले स्टल नै राखेर विभिन्न छुट स्किमहरु ल्याएका छन् । सुस्ताएको अटो व्यवसायलाई नै चलायमान बनाउनेगरि बैंकहरुले ब्याजदरमा प्रतिस्पर्धा नै देखिन्छ । ग्राहक तान्न बैंकहरुले प्रिमियम कम जोडेर सस्तो ब्याजदरमा सवारी कर्जा दिने उपलब्ध गराउने अफर ल्याएका छन् ।

एकातर्फ बैंकहरुको स्थिर ब्याजदर अर्को तर्फ व्यवसायीहरुको छुट सुविधाले अटो व्यवसाय गतिशिल हुने अपेक्षा गरिएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडाले हरेक वर्ष अटो शो आयोजना गर्दै आएको छ ।

पछिल्लो समय समग्र बैंकिङ्ग क्षेत्रमै कर्जाको माग न्युन रहेको अवस्था छ । ब्याजदर भने हरेक महिना घट्दै आएको छ । अन्य क्षेत्रको तुलनामा बैंकहरुले सेयर बजार, घरजग्गा र अटो क्षेत्रमा लगानी बढाउन तातिएका छन् । यति बेला विभिन्न स्किमहरु ल्याएर सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन बैंकहरु तयार छन् । कतिपय बैंकहरुले एकल अंकको ब्याजदरमै कर्जा दिने खालका योजनाहरु ल्याएका छन् । हाल बैंकहरुले अस्थिर तथा स्थिर गरि दुई प्रकारले कर्जा उपलब्ध गराउँदै आएका छन् ।

अस्थिर ब्याजदर बैंकहरुको आधार दर घटबढ हुँदा परिवर्तन हुने ब्याजदर हो भने जुन अवधिका लागि लिइन्छ, त्यही समयसम्म परिवर्तन नहुने ब्याजदरलाई स्थिर ब्याजदर भनिन्छ । बैंकहरुले पेट्रोलियम भन्दा विद्युतीय सवारीमा कर्जा लगानी बढाउन केन्द्रित देखिन्छ । ब्याजदर अन्य सुविधाका लागि हिसावले विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई आकर्षित गराउन खोजेका हुन् । गाडी खरिदमा सहज फाइनान्सिङ लगायत सरल सुविधा ल्याएका छन् ।

सस्तो ब्याजमा गाडी किन्न कुन बैंक रोज्ने ?

बैंकहरुको आधार दर अनुसार नै ऋणको ब्याज सस्तो र महँगो हुने संकेत गर्दछ । कम आधार दर भएका बैंकबाट ऋण लिँदा सस्तो ब्याज पर्न जान्छ । यद्यपि, बैंक र कर्जाको प्रकृति अनुसार भने फरक पनि पर्छ । हाल बैंकहरुले कर्जाको प्रकृति अनुसार आधर दरमा १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् ।

गाडी खरिदका लागि नबिल बैंकले ४ प्रतिशतसम्म प्रिमियम लिने जनाएको छ । हाल बैंकको आधारदर ७.६३ प्रतिशत छ । बैंकबाट अटो लोन लिँदा प्राइभेटमा आधार दरमा २ देखि ४ प्रतिशत र कमर्सियलमा आधार दरमा ३ देखि ४ प्रतिशत प्रिमियम जोडिने छ । विद्युतीय गाडीमा प्राइभेटतर्फ १ देखि ३ प्रतिशत र कमर्सियलमा आधारदरमा ३ देखि ४ प्रतिशत प्रिमियम थपिने बैंकले जनाएको छ। बैंकको स्थिर ब्याजदर भने १०.४९ प्रतिशत रहेको छ।

यस्तै, ग्लोबल आइएमई बैंकले आधार दरमा ३.५० प्रतिशत प्रिमियम थपिने छ । हाल बैंकको आधार दर ८.९ प्रतिशत छ । हाल ९.१९ प्रतिशत आधार दर रहेको एनआइसी एशियाले भने ३ प्रतिशत प्रिमियम थपेर सवारी कर्जा उपलब्ध गराउने भएको छ। यता, सिद्धार्थ बैंकले पनि आधार दरमा ३.२५ प्रतिशत प्रिमिय जोडिने जनाएको छ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आधार दरमा ४.५० प्रतिशत, हिमालयनले ४ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले ४, एनएमबिले ४.५, माछापुच्छ्रेले ४, प्रभुले ४.५, सिटिजन्सले ४, प्राइमले ५ र लक्ष्मी सनराइजले ३.५० प्रतिशत प्रिमियम जोड्ने भएका छन् । हाल यी बैंकहरुको आधार दर ७.६९ प्रतिशत, ९.०८ प्रतिशत, ६.६, ८.४२, ८.२६ , ८.०२ र ८.२६ प्रतिशत छ।

यस्तै, सानिमा बैंकको आधार दर ७.८३ प्रतिशत, प्राइमको ८.४९ प्रतिशत, नेपाल एसबिआईको ८.३, राष्ट्रिय वाणिज्य बैंकको ६.७१, कुमारीको ८.८९, नेपाल बैंकको ७.९७, एभरेष्टको ७.२९ र कृषि विकास बैंकको ८.०७ प्रतिशत छ । यी बैंकहरुले सवारी कर्जा दिँदा भने क्रमशः ५ प्रतिशत, ३ प्रतिशत, ३.२५ प्रतिशत, ३.५, ५,३.५ र २.५ प्रतिशत प्रिमियम थपिने जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्