‘नाडा अटो शो’ लक्षित बैंकहरूको स्किम : सवारी किन्नेलाई सस्तो ब्याजदरमै कर्जा, यस्ता छन् आकर्षक सुविधा

काठमाडौं । नाडा अटो शो-२०२४ आजबाट काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको छ । ६ दिन (आगामी भदौ १६ गते) सम्म मेलाको उद्घाटन अर्थमन्त्री अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका हुन् । मेलामा पहिलो दिन नै अवलोकनकर्ता उल्लेख्य सहभागिता देखिएको छ ।
अटो शोमा ९५ वटा प्रदर्शक सहभागी छन् भने १३० वटा स्टलको व्यवस्था राखिएको छ । प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स्हरूको सहभागिता छ ।
वित्तिय संस्था अन्तर्गत नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले सहभागी जनाएका छन् । यी बैंकहरूले आकर्षक स्किमसहित अटो शोमा सवारी खरिद गर्ने ग्राहकहरूलाई सहज फाइनान्सिङको सुविधा प्रदान गर्नेछन् ।
बैंकहरुले अटो शोलाई लक्षित गरी विभिन्न अफर ल्याएका छन् । कुनै बैंकको अफर नाडा अटो शो अवधिभर मात्र रहेको छ भने कतिपयको फेस्टिभ अवधि अर्थात् मङ्सिरसम्म रहेको छ । यी बैंकहरूले सस्तो ब्याजदरमा आकर्षक अटोलोन प्रदान गर्नेछ ।
कुन बैंकको ब्याज कति ?
नाडा अटो शोमा सहभागी नबिल बैंकले विद्युतीय सवारी खरिद गर्नेहरूको लागि आकर्षक सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ । नबिलले ५ वर्षका लागि ८.२५ प्रतिशत र ७ वर्षसम्मका लागि ८.४९ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । ७ वर्ष अवधिका लागि ८० प्रतिशतसम्म फाईनान्सिङ गर्ने बैंकको भनाइ छ । नबिलको यो अफर फेस्टिभ अवधिभर सञ्चालन हुनेछ ।
यस्तै ग्लोबल आईएमई बैंकले पनि विद्युतीय कार (ईभी) किन्न चाहनेलाई ७.९९ प्रतिशतमै ऋण दिने बताएको छ । बैंकले नाडा अटो शोमा विद्युतीय कार किन्नेलाई सस्तो ब्याजमा कर्जा दिन लागेको हो । बैंकको यो आकर्षक अफर नाडा अवधिभर मात्र सञ्चालन हुनेछ ।
बैंकले ५ वर्षभन्दा कम अवधिको कर्जा फिक्स्ड ब्याजदर ७.९९ प्रतिशत तोकेको छ । त्यस्तै,५ वर्षभन्दा बढी अवधिको लागि ८.४९ प्रतिशत ब्याजदर तोकेको छ ।
इन्धनबाट चल्ने गाडीको हकमा अवधि ५ वर्षभन्दा अवधिका लागि ८.४९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । ५ वर्ष भन्दा बढी अवधिका लागि भने ९.४९ प्रतिशत ब्याजदर तोकिएको बैंकले जनाएको छ ।
लक्ष्मी सनराइज बैंकले पनि विद्युतीय सवारीलाई नै प्राथमिकतामा राखेको छ । बैंकले विद्युतीय गाडीका खरिदका लागि ८.९९ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ गर्नेदेखि ७ वर्षको लागि निश्चित ब्याजदर उपलब्ध गराउने स्किम ल्याएको छ ।
बैंकले ३ दिन भित्रै कर्जाको निर्णय दिने समेत बैंकले जनाएको छ । १ वर्षसम्म निःशुल्क भिसा एटिएम, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ पनि दिने भएको छ ।
यता, सानिमा बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङसहित ७ वर्षसम्मका लागि ८.४९ प्रतिशतमा निश्चित ब्याजदरमा कर्जा दिने भएको छ । बैंकले गर्ने भएको छ । बैंकले गो ईलेक्ट्रिक, गो ग्रिन भन्ने नाराका साथ विद्युतीय सवारीमा कर्जा दिने भएको छ ।
त्यसैगरी, माछापुच्छ्रे बैंकले पनि नाडा अटो शो गरेर आकर्षण अफर ल्याएको छ । बैंकले आफ्नै गाडी किन्ने सपना सजिलै साकार, माछापुच्छ्रे बैंकको सवारी कर्जाका साथ भन्ने नारासहित कर्जा अफर ल्याएको हो ।
६ वर्षसम्मका लागि विद्युतीय गाडीमा खरिदका लागि ग्राहकलाइ ७० प्रतिशत फाइनान्सिङ गर्ने भएको छ ।
त्यस्तै, इन्धनबाट गाडीमा ८ वर्षका लागि कर्जा लिँदा ५० प्रतिशत फाइनान्सिङ गर्ने जनाएको छ । बैंकले आधारदरमा ०.५ देखि १ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिनेछ ।
हिमालयन बैंकले विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहक लक्षित गरेर आधारदरमा ०.५० प्रतिशत थपेर कर्जा दिने भएको छ ।
त्यसैगरी इन्धनबाट चल्ने गाडीमा खरिदका लागि आधार दरमा ०.६५ प्रतिशत प्रिमियम थप गर्ने बैंकले जनाएको छ । बैंकले ८ वर्षका लागि कर्जा प्रदान गर्नेछ । कर्जा लिँदा ८० प्रतिशतसम्म फाइनान्सिङ गर्नेछ ।
नाडा अटो शो मा सहभागी एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै सवारी कर्जा प्रदान गर्ने जनाएको छ ।
बैंकले दुई वर्षसम्मको लागि स्थिर र दुई वर्षपछि बेसरेटमा १ प्रतिशत प्रिमियम थप गरेर ब्याजदर कायम गर्ने छ । बैंकले विद्युतीय सवारीका लागि पाँच वर्षको लागि ८० प्रतिशतसम्मको फाइनान्स सुविधा पनि प्रदान गर्ने जनाएको छ ।
पेट्रोलियम सवारी साधनका लागि सात वर्षसम्मको लागि ५० प्रतिशतसम्मको फाइनान्स सुविधा प्रदान गर्नेछ ।