सरकारको आम्दानी र खर्चमा देखियो सुधार: झन्डै १२ प्रतिशत उठ्यो राजस्व, खर्चको आँकडा कस्तो ? « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सरकारको आम्दानी र खर्चमा देखियो सुधार: झन्डै १२ प्रतिशत उठ्यो राजस्व, खर्चको आँकडा कस्तो ?



काठमाडौं । सरकारको राजश्व संकलन र विकास खर्चमा सुधार देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को दुई दुई महिना (साउन–भदौ) को तथ्याङ्कले यस्तो देखाएको हो ।

दुई महिनाको अवधिमा सरकारले वार्षिक लक्ष्यको ७.३९ प्रतिशत खर्च गरेको छ । तर, आम्दानी भने ११.५२ प्रतिशत भएको देखिन्छ । साउन र भदौ महिनाको आँकडा अनुसार सरकारको खर्च भन्दा आम्दानी केही बढी देखिएको हो ।

चालु आवमा सरकारले कुल १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ आम्दानी गर्ने वार्षिक लक्ष्य लिएको छ । कुल लक्ष्यको ११.७२ प्रतिशत आम्दानी दुई महिनामा गरेको हो । साउन र भदौमा सरकारले कुल १ खर्ब ६९ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको छ । तर, खर्च भने न्युन देखिएको छ । यो वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । चालु आवको पहिलो दुई महिनामा लक्ष्यको ७.३९ प्रतिशत अर्थात् १ खर्ब ३७ अर्ब ५५ करोड २७ लाख रुपैयाँ खर्च गरेको छ ।

कार्यालयका अनुसार गत आवको पहिलो दुई महिनामा सरकारले लक्ष्यको १०.६७ प्रतिशत आम्दानी गरेको थियो । यता, खर्च भने ७.६३ प्रतिशत गरेको थियो ।

कार्यालयका अनुसार चालु आवको दुई महिनामा राजश्व संकलन ११.७२ प्रतिशत संलकन गरेको छ । कर राजश्व ११.३१ प्रतिशत र गैर राजश्व आम्दानी वार्षिक लक्ष्यको १५.६९ प्रतिशत रहेको छ । कार्यालयका अनुसार चालु आवमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।

यस्तै, कर राजश्व १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख, गैर कर राजश्व मार्फत भने १ अर्ब ३५ अर्ब ९ करोड ३४ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । तर, चालु आवको पहिलो दुई महिनामा सरकारले कुल राजश्व १ खर्ब ६६ अर्ब ३८ करोड ७६ लाख रुपैयाँ संकलन गरेको छ । यस्तै, कर राजश्व १ खर्ब ४५ अर्ब १९ करोड ३३ लाख र गैर राजश्व २१ अर्ब १९क रोड ४३ लाख रुपैयाँ संकलन गरेको छ । तर, अनुदान र अन्य आम्दानी भने शून्य देखिएको छ । यो वर्ष सरकारले ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ अनुदान मार्फत आम्दानी हुने लक्ष्य लिएको छ ।

दुई महिनाको अवधिमा सरकारको विकासे खर्च (पुँजीगत) ४.२३ प्रतिशत देखिएको छ । ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ पुँजीगत गर्ने लक्ष्य लिएको छ । साउन र भदौमा भने १४ अर्ब ८९ करोड ४० लाख रुपैयाँ मात्रै खर्च गरेको छ । यता, चालु खर्च भने लक्ष्यको ७.२८ प्रतिशत अर्थात् ८२ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ भएको देखिन्छ ।

चालु आवमा कुल ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ चालु खर्च हुने सरकारको लक्ष्य छ । यता, वित्तीय खर्च भने १०.८ प्रतिशत भएको कार्यालयले जनाएको छ । दुई महिनामा ३९ अर्ब ६७ करोड २२ लाख रुपैयाँ वित्तीय खर्च गरेको हो । यो आवमा सरकारले ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ वित्तीय खर्च गर्ने लक्ष्य राखेको छ ।


प्रतिक्रिया दिनुहोस्