बाढी र डुबानमा परेका ईभीले यसरी ल्याउँदै छ बीमा कम्पनीमा लफडा

काठमाडौँ । हालैको बाढी पहिरो र डुबानमा परेर क्षति भएका विद्युतीय सवारीको बीमा भुक्तानीमा गम्भीर समस्या देखिन थालेको छ ।
बीमकहरुका अनुसार नेपालमा भएका सवारीसाधन मर्मत गर्ने जनशक्ति ईभीको प्राविधिक पाटोमा दक्ष देखिँदैनन् । बीमाका सर्भेयरहरु पनि इभीका विषयमा दक्ष छैनन् । ‘त्यसले गर्दा कुनै पनि मालसामानको वास्तविक क्षति भएको हो की होइन भनेर पुष्टि गर्ने आधार नै छैन’, एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने ।
एउटा ग्यारेजले भनेको कुरा अर्को ग्यारेजमा गएर पुनःपुष्टि गर्ने प्रबन्ध ईभीको हकमा नभएको बीमा कम्पनीहरु बताउँछन् । कुनै पनि पार्टपूर्जा नयाँ फेर्नुपर्ने हो वा मर्मत गर्नुपर्ने हो भन्ने पुष्टि गर्न पनि सक्ने अवस्था नभएको बीमक बताउँछन् । ‘अहिले त डिलरले जे भन्छ, त्यही पत्याउने बाहेक कुनै उपाय छैन’, ती सीईओले भने । यसो गर्दा डिलरले आफ्नो ब्यापार बढाउन नचाहिने सामान पनि फेर्नुपर्छ भन्यो भने पत्याउनुपर्ने अवस्था रहेको उनले बताए ।
त्यतिमात्रै होइन, हरेक ब्राण्डका गाडीको पार्टपूर्जा उनीहरुको आधिकारिक डिलरमा मात्रै प्राप्त हुने अवस्था छ । वैकल्पिक बजार तयार हुनै सकेको छैन । यस्तो अवस्थामा पार्टपूर्जाको वास्तविक मूल्य कति हो भन्ने पनि अन्योल रहेको बीमकहरु बताउँछन् । बजारमा प्रतिस्पर्धा नहुँदा डिलरप्रति पूर्ण विस्वास गर्नुपर्ने अवस्था आएको उनीहरुको भनाइ छ ।
यस्ता कारणले वास्तविक क्षति कति हो र त्यसको मर्मत लागत कसरी तय गर्ने भन्ने समस्या आएको ती बीमक बताउँछन् ।
पछिल्लो समयय काठमाडौँमा ईभीको विक्री बढेको छ । अधिकतर हाउजिङहरुमा ईभीको उपस्थिति बाक्लो देखिएको बीमकहरु बताउँछन् । तर काठमाडौँमा मात्रै ५–७ वटा हाउजिङ डुबानमा परेका छन् । हाउजिङ बाहेक पनि देशभर धेरै ठाउँमा डुबानमा परेको छ । ईभी गाडी डुबानमा परेर पानी पसेपछि धेरै कुरा बिग्रिने गरेको भनिन्छ । तर केके पार्टपूर्जा कसरी विग्रिन्छ भन्ने उदाहरण अब प्राप्त हुने बीमक बताउँछन् ।
बाढी आएदेखि अहिलेसम्म एउटै कम्पनीमा औसत ५० वटा हाराहारी गाडीको बीमा दाबी आइसकेको बीमा कम्पनीहरु बताउँछन् । यस अघि पनि ईभी गाडीको दाबी नआएको होइन । तर विगतमा अधिकतर दाबी दुर्घटनासँग जोडिएर आउँथे । त्यस्तो अवस्थामा सामान्य मानिसले पनि हेरेरै कुनकुन सामान फेर्नुपर्ने र कुन नपर्ने भन्ने छुट्याउन सक्थ्यो ।
तर बाढी र डुबानका कारण क्षति भएको ईभीमा अधिकांश ब्याट्रीमा समस्या देखिएको बताइएको छ । यसै पनि ब्याट्रीको मूल्य महँगो पछि । एउटा कारको मूल्यमा ३० देखि ४० प्रतिशत हिस्सा ब्याट्रीले ओगट्छ । अर्कातिर त्यसको मर्मत गर्दा पुग्छ की फेर्नुपर्छ भन्ने पनि स्पष्ट हुन कठीन अवस्था छ । ‘हामीले कुनै सामान फेर्ने र कुनै मर्मत गरेर चलाउँला, तर त्यसपछि गाडीको इफिसियन्सीमा केही फरक पर्छ की पर्दैन भन्ने प्रश्न अर्कातिर छ’, अर्को एक बीमकका सीईओले भने ।
पार्टपूर्जाको मूल्य पुष्टि गर्ने आधार नहुनु, वैकल्पिक बजार नहुनु, डिलरले भनेको कुरामा पूर्ण विस्वास गर्नुपर्ने बाध्यता हुनु, दक्ष कामदार नहुनु, बीमा सर्भेयरलाई इभीको बारेमा पर्याप्त जानकारी नहुनु जस्ता कयौँ कारणले अहिले अप्ठेरो परेको बीमक बताउँछन् । ‘अहिले नेपालमा ईभीको बजार अलि राम्रो हुँदै गएको थियो । यही बेला एकैचोटी नकारात्मक प्रकोप आइदियो’ ती सीईओले भने ।
हालैको बाढीका कारण सिर्जना भएको समस्यामा हालसम्म प्राप्त भएको करीब ५ अर्बको सम्पत्ति बीमा दाबी प्राप्त भएको बीमा कम्पनीहरुले जनाएका छन् । त्यसमध्ये ३० प्रतिशत हाराहारी मोटर बीमाको दाबी रहेको बीमक बताउँछन् । यो आँकडा ईभीमात्रै होइन, आईसीई गाडीको पनि हो । तर आईसीई गाडीको पार्टपूर्जाका बारेमा बीमा कम्पनीहरु र तिनका सर्भेयरहरुले सहजै क्षतिको अनुमान लगाउन सक्ने अवस्था छ ।
तर ईभीको हकमा त्यस्तो नभएको बीमक बताउँछन् । ‘हामीले कोटेसन हेर्दा कहिल्यै नाम नै नसुनेका पार्टपूर्जाका नाम लेखिएको छ । ती सामानको कति मूलय पर्छ भनेर कसरी पुष्टि गर्ने ?’, बीमक भन्छन् । यो नयाँ चुनौतीको विषय बनेको उनीहरुको भनाइ छ ।
त्यसो त, बीकममात्रै होइन गाडीका डिलरलाई पनि यो समस्याले सताउने भएको छ । बीमकलाई क्षतिको बारेमा सम्झाउन र पार्टपूर्जाको मूल्यमा राजि गराउन डिलरहरुको पनि कम्ता टाउको दुखाइ हुनेवाला छैन । गाडी धनीहरुले पनि बिग्रिएको गाडी मर्मत पछि प्राप्त गर्न लामो समय कुर्नुपर्ने हुनसक्छ । साथै, अहिले मर्मत गरिसकेपछि पनि गाडी पुरानै हालतमा फर्किन्छ की फर्किन्न भन्ने कुनै सुनिश्चितता नभएको देखिन्छ ।