डिजिटल दक्षिणा : नोट छाडौं, मोबाइलमा दक्षिणा पठाऔं

काठमाडौं । आजको युग प्रविधि अर्थात् डिजिटल युगमा प्रवेश गरिसकेको छ । प्रविधिले संसारलाई एकै ठाउँमा जोडेको छ । विकसितदेखि विकासउन्मुख देशहरू समेत प्रविधि तिब्रे विकाससँगै आफुलाई अपडेटेड गरिरहेका छन् । पहिले घन्टौं लाग्ने काम अहिले क्षणमै गर्न सकिने भइसकेको छ । विश्वमा विज्ञान र प्रविधिको विकास तीव्र गतिमा भइरहेको छ । विज्ञान र प्रविधिको विकास र विस्तारका लागि विश्व आज प्रतिस्पर्धात्मक रूपमा अघि बढेको छ ।
विश्वसँगै नेपाल पनि प्रविधिमा अगाडि बढिरहेको छ । नेपालमा पनि प्रविधिको प्रयोग दिनप्रतिदिन बढिरहेको छ । अहिले अधिकांश मानिसहरू प्रविधिको प्रयोग गर्छन् । हरेक क्षेत्रमा प्रविधिको प्रयोग बढ्दो छ । आर्थिक गतिविधिमा त झन् प्रविधिको प्रयोग बढ्दो छ ।
अहिले बैंक खाता खोल्न बैंक धाउनुपर्दैन । बिजुली, खानेपानी, इन्टरनेट लगायत सरकारी बिल घर बसीबसी तिर्न सकिन्छ । सपिङ गर्न बजार धाउनु पर्दैन । एक क्लिकको भरमा आफूले रोजेको सामान घरमै आइपुग्छ । प्रविधिले समयको मात्र बचत भएको छैन । अनावश्यक खर्चले समेत न्यूनीकरण गरेको छ । मान्छेहरू डिजिटल कारोबारमा अभ्यस्त भइसकेका छन् । सपिङ मलदेखि रेष्टुरेण्टहरुले पनि नगदरहित कारोबार सुरु गरिसकेका छन् । लगभग सबै ठाउँमा इन्टरनेटको पहुँच पुगिसकेको छ ।
त्यसैले दशैँ, तिहार लगायत चाडपर्वलाई लिएर पनि डिजिटल दक्षिणाको बहस चल्न थालेका छन् । कोभिड-१९ बाट सिर्जित महामारीपछि झनै फैलिएको डिजिटल कारोबार अहिले डिजिटल कारोबार दक्षिणासम्म पुगेको छ ।
केही वर्ष पहिलेदेखि नै डिजिटल दक्षिणाको चर्चा परिचर्चा सुरु भएको हो । दशैँमा नयाँ नोट छपाईले मुलुकलाई आर्थिक भार पर्न जाने भन्दै विज्ञहरु दशैँको दक्षिणालाई नै डिजिटल रुपमा पठाउनुपर्ने बताउँदै आएका छन् ।
सकेसम्म नयाँ नोट सटहीभन्दा पनि डिजिटल कारोबारलाई बढावा दिन बैंकरहरूले पनि आग्रह गरिरहेका छन् ।
डिजिटल दक्षिणालाई प्रोत्साहन गर्दै बैंकहरू
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले दशैँलाई लक्षित गर्दै डिजिटल दक्षिणालाई प्रोत्साहन गर्ने उद्देश्यले क्यासब्याकसहित विभिन्न स्किम समेत ल्याउन थालेका छन् । केही बैंकले डिजिटल दशैँको फ्रेमवर्क बनाएका छन् । बैंकहरुले दसैँमा डिजिटल दक्षिणा दिनेहरुलाई आकर्षक उपहार नै दिने घोषणा गरेका छन् ।
सिटिजन्स बैंकले ‘सिटिजन्स डिजिटल दक्षिणा’ योजनामार्फत आकर्षण क्यास ब्याकको अफर ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरी ल्याएको यो योजनामा प्रतिकारोबारमा १०० रुपैयाँ प्राप्त गर्नेछन् । यो योजना विजया दशमीदेखि चतुर्दशी (असोज २६ गतेदेखि ३० गते) सम्म लागु हुने बैंकले जनाएको छ । प्रत्येक कारोबारमा न्यूनतम ५०० रुपैयाँ खर्च गर्नुपर्नेछ । साथै कारोबारको कैफियत (रिमार्क)मा अनिवार्य रूपमा ‘सिटिजन्स दक्षिणा’ लेख्नुपर्ने छ । नगद फिर्ता रकम अभियान समाप्त भएको ७ कार्य दिनपछि जम्मा गरिने बैंकले जनाएको छ ।
कुमारी बैंकले पनि दशैँ दक्षिणा अफर ल्याएको छ । बैंकले आउँदो विजया–दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरूलाई शुभकामनास्वरूप दशैँ दक्षिणा अफर ल्याएको हो।
घटस्थापनादेखि महानवमीसम्मको नौ दिनका लागि दशैँ उत्सव क्यास ब्याक सञ्चालन गरिरहेको बैंकले विजया दशमीको दिनमा मोबाइल बंैकिङबाट रकम ट्रान्सफर गर्ने एक हजार सेवाग्राहीलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० रूपैयाँ दक्षिणा प्रदान गर्नेछ।
त्यसैगरी एकादशीदेखि कोजाग्रत पूर्णिमासम्मको चार दिन कुमारी बैंकका सेवाग्राहीहरूले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बंैकिङमार्फत वस्तु तथा सेवा खरिदबापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम पाँच सय एक रूपैयाँ बराबरको दशैँ दक्षिणा प्राप्त गर्न सक्ने छन्।
लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजेदेखि बेलुका ११:५९ बजेसम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ। यसप्रकारको प्रोत्साहनले सेवाग्राहीहरूमा चाडबाडहरूमा हुने वित्तीय कारोबारहरू विद्युतीय भुक्तानीका माध्यमबाट आकर्षित गरी डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकको छ।
यस अलावा अन्य बैंक तथा वित्तीय संस्थाले पनि डिजिटल दक्षिणा अफर ल्याएका छन् । डिजिटल वालेटहरू इसेवा, खल्ती लगायतले पनि दशैँमा बम्पर अफर ल्याएको छ ।
विस्तारै डिजिटल कारोबारमा बाणी पार्नका निमित्त राष्ट्र बैंकले समेत नयाँ नोट सटही बन्द गरेको छ । यद्यपि, प्रयोगमा आइसकेका सुकिला नोट भने वितरण गरेको छ । नगद कारोबारलाई निरुत्साहित गर्ने योजनामा राष्ट्र बैंक ।
यस्ता छन् चुनौतीका पाटो
डिजिटल दक्षिणा कार्यान्वयनमा चुनौती पनि उत्तिकै छ । हामीलाई दशैँमा टिका ग्रहण गरिसकेपछि कटकटे नयाँ नोट लिने बानी परिसकेको छ । नयाँ नोट भन्ने बित्तिकै हामी दशैँ नै सम्झन्छौँ ।
कुनैपनि कुराको परिवर्तन असम्भव छैन । तर परिवर्तन हुनको लागि भने समय लाग्नुका साथै अनेक चुनौती पनि थपिदिन्छ । दशैँमा टिका लागएर दक्षिणा दिने चलन निकै पुरानो बनिसकेको छ । हाम्रो बानी यस्तो बनिसकेको छ कि दशैँमा जमारा, टिका र दक्षिणा अनिवार्य नै बनिसकेको छ । हुनेले मात्र होइन दशैँमा नहुनेले समेत सरसापट गरेर समेत दशैँ मनाउने गरेका छन् ।
यद्यपि यसलाई विस्तारै बदल्दै लैजान सकिने विज्ञहरू बताउँछन् ।