सेयर किन्न ग्लोबल, कुमारी र सिद्धार्थ बैंकले दिए धेरै ऋण: ३ वटाले घटाए, लगानीकर्ताले कुन बैंकबाट कति लगे ? « Arthapath.com
१४ जेष्ठ २०८२, बुधबार

सेयर किन्न ग्लोबल, कुमारी र सिद्धार्थ बैंकले दिए धेरै ऋण: ३ वटाले घटाए, लगानीकर्ताले कुन बैंकबाट कति लगे ?



काठमाडौं । सेयर कर्जा विस्तारमा वाणिज्य बैंकहरु आक्रामक नै देखिएका छन् । बैंकहरुले एक महिनामा झन्डै साढे सात अर्ब रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८१–८२ को भदौ महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो । पछिल्लो समय बैंकबाट ऋण लिएर धमाधम सेयर किन्नेहरु निरन्तर बढीरहेको तथ्याङ्कले देखाउँछ ।

चालु आवको साउन मसान्तसम्ममा ७१ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ कर्जा सेयर धितोमा कर्जा प्रवाह गरेका थिए । तर, भदौ मसान्तसम्ममा आइपुग्दा बैंकहरुले ७९ अर्ब १४ करोड १० लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् । भदौ महिनामा मात्रै बैंकहरुले भने ७ अर्ब ४४ करोड ७९ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

बैंकहरु सेयर धितोमा प्रवाह गर्ने कर्जा विस्तारमा एग्रेसिभ देखिएका हुन् । हाल संचालनमा रहेका वाणिज्य बैंक मध्ये १६ वटा बैंकले सेयर धितो कर्जा बढाएका छन् । ३ वटा बैंकले घटाएका छन् । एनआइसी एशिया, नबिल र हिमालयन बैंक भने पुरानै कर्जा असुलीमा देखिएका छन् । ती बाहेकका बैंकको यस्तो कर्जा भने बढाएका छन् ।

भदौ महिनामा तीन वटा बैंकले भने अर्ब बढी सेयर धितो कर्जा प्रवाह गरेका छन् । भदौ महिनामा सबैभन्दा ग्लोबल आइएमई बैंकले दिएको छ । बैंकले एकै महिना १ अर्ब ५४ करोड ७२ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ । हालसम्ममा भने बैंकले यस्तो शीर्षकमा कुल ९ अर्ब ६७ करोड १४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

दोस्रो सूचीमा भने कुमारी बैंक देखिएको छ । भदौमा कुमारीले १ अर्ब ३२ करोड ३९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । तेस्रो स्थानमा रहेको सिद्धार्थ बैंकले पनि १ अर्ब २५ करोड ९९ लाख रुपैयाँ कर्जा दिएको छ ।

यस्तै, प्राइमले ७३ करोड ५० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ७३ करोड १२ लाख, सिटिजन्स बैंकले ४३ करोड ४५ लाख, नेपाल बैंकले ३७ करोड २० लाख, माछापुच्छ्रेले ३३ करोड ७० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।

यता, सानिमा बैंकले भदौ महिनामा मात्रै २८ करोड ८१ लाख, एभरेष्टले २५ करोड ४५ लाख, एनएमबिले २३ करोड ३४ लाख, प्रभूले २१ करोड ८९ लाख, लक्ष्मी सनराइज बैंकले १३ करोड २३ लाख, राष्ट्रिय वाणिज्य बैंकले ११ करोड ४८ लाख, कृषि विकासले १ करोड १६ लाख, नेपाल एसबिआईले ५२ लाख रुपैयाँ कर्जा सेयर धितोमा दिएका छन् ।

तर, एनआइसी एशियाको सेयर धितो कर्जा भने २७ करोड ६२ लाख घटेको छ । यस्तै, साउनको तुलनामा नबिलको १९ करोड र हिमालयन बैंकको ८ करोड ५८ लाख रुपैयाँ गिरावट आएको छ ।


प्रतिक्रिया दिनुहोस्