निक्षेप बढेको बढ्यै, कर्जा विस्तार भने बीचबाटोमै रोकियो

काठमाडौँ । चालु आर्थिक वर्ष सुरु भएपछि अर्थतन्त्रमा सुधार हुने अनुमान गरिएको थियो । यही कारण बैंकहरुको कर्जा बृद्धिमा बढोत्तरी हुने आशा गरिएको थियो ।
तर अहिलेसम्मको परिणाम हेर्दा अपेक्षा अनुसार कर्जा बढ्न सकेको देखिँदैन । बरु असोजमा बैंकिङ प्रणालीमा भारी मात्रामा निक्षेप बृद्धि भएको छ । साउनमा सरकारी भुक्तानी बाहिरिने भएका कारण ३९ अर्ब घटेको निक्षेप भदौमा ७३ अर्ब र असोजमा १ खर्ब ३३ अर्ब बढेको नेपाल बैंकसं संघले जनाएको छ ।
यो विवरण नेपालका २० वटा बाणिज्य बैंकहरुको मात्र हो । यसरी दुई महिनामा २ खर्ब ६ अर्ब निक्षेप थपिँदा यही अवधिमा कर्जा भने १ खर्ब ९ अर्बमात्रै बढेको छ । भदौमा ५३ अर्ब र असोजमा ५६ अर्ब कर्जा विस्तार भएको बैंकर्स संघको आँकडा छ । साउनको २ अर्ब समेत जोड्ने हो भने पहिलो त्रैमासमा जम्मा १ खर्ब ११ अर्बमात्रै कर्जा थपिएको छ ।
यो भनेको २.४३ प्रतिशतको मात्रै बृद्धि हो । असार मसान्तमा बाणिज्य बैंकहरुले कुल ४५ खर्ब ७१ अर्ब कर्जा प्रवाह गरेकोमा असोज मसान्तसम्म आउँदा ४६ खर्ब ८२ अर्ब पुगेको संघले जनाएको छ । असोजको मात्रै कुरा गर्ने हो भने पहिलो र दोस्रो हप्तामा ज्यादा निक्षेप जम्मा भएको देखिन्छ । कर्जा विस्तार भने तेस्रो हप्तामा बढी भएको देखिएको छ ।
यसले बढेको कर्जा पनि पुरानो ऋणको किस्ता तथा ब्याज भुक्तानीका निम्ति थप ऋण निकाल्नमा प्रयोग भएको हुनसक्ने बैंकर बताउँछन् । ‘केही हिस्सा नयाँ कर्जा पनि बढेको छ, केही पैसा चाहीँ पुरानै ऋणको भुक्तानीमा खर्चने गरी पनि नयाँ कर्जा प्रवाह भएको हुनसक्छ’ एक बैंकर भन्छन् ।
नयाँ आर्थिक वर्ष सुरु भएको एक त्रैमास बितिसक्दासम्म अर्थतन्त्रमा कर्जाको माग बढ्न नसक्नुले परिस्थिति सकारात्मक लयमा नदेखिएको बैंकरले बताएका छन् । दशैँ अघि आयोजित विद्युतीय कारको मेलाले केही गाडीको खपत बढाउँदा यसको असर कर्जामा देखिएको थियो ।
त्यसबाहेक सेयर बजारमा पनि थोरैथोरै कर्जा बढेको देखिन्छ । तर अपेक्षित मात्रामा कर्जा बढ्न सकेको छैन । खासगरी उपभोग खर्चमा बढोत्तरी हुने छाँटकाँट नदेखिएपछि पुराना वर्षहरुको तुलनामा यो साल चार्डपर्व लक्ष्यित प्रतितपत्र खोल्ने क्रम पनि कमजोर देखिएको बैंकरले बताए ।
ओरालो लाग्दै सीडी रेसियो
कर्जाको माग सुस्ताइ नै रहेका कारण अहिले बैंकहरु पर्याप्त तरलता बोकेर बसेका छन् । असोज मसान्तमा बाणिज्य बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ७८.४१ प्रतिशतमा रहेको छ । जबकी, नेपाल राष्ट्र बैंकले यस्तो अनुपात ९० प्रतिशतसम्म पुर्याउन सक्ने सुविधा दिएको छ ।
असोज मसान्तको सीडी रेसियो हेर्ने हो भने सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकको सबैभन्दा कम अर्थात् ६४.२५ प्रतिशत छ । स्रोतको तुलनामा अधिक कर्जा प्रवाह गरेर ‘इफिसियण्ट’ देखिनेमा प्राइम कमर्शियल बैंक अगाडी छ । उसले अहिलेको अवस्थामा पनि सीडी रेसियोलाई ८५.३८ प्रतिशतमा राखेको छ ।
सिटिजन्स, कुमारी र माछापुच्छ्रे बैंक पनि अधिक मात्रामा स्रोतको उपयोग गर्ने बैंकहरुमा देखिएका छन् ।
सिंगो वित्तीय प्रणालीमा भने गत आइतबार सीडी रेसियो ७८.०५ प्रतिशत रहेको केन्द्रिय बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सोमबार साँझसम्म नेपाली वित्तीय प्रणालीमा कुल ९० अर्ब ३ करोड ८० लाख अधिक तरलता देखिएको छ ।
हिमालयनमा थुप्रियो निक्षेप
गत असोजमा बाणिज्य बैंकहरुमा कुल निक्षेप १ खर्ब ३३ अर्ब ५५ करोडले बढेको थियो । त्यसमध्ये सर्वाधिक निक्षेप हिमालयन बैंकमा थुप्रिएको छ । हिमालयन एक्ले २० अर्ब ८६ करोड निक्षेप बढाएको छ । त्यसपछि ग्लोबल आईएमईले १६ अर्ब ९२ करोड, नबिलले ११ अर्ब ९७ करोड र नेपाल बैंकले ११ अर्ब ४ करोड निक्षेप बढाएका छन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको निक्षेप भने असोजमा ५१ करोड हाराहारी घटेको छ ।