कुमारी र नबिलले बढाए ब्यापक नाफा, ८ बैंक अर्बपति क्लबमा

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ८ बैंकले १ अर्बभन्दा बढी खुद नाफा आर्जन गरेका छन् । २० मध्ये ८ बैंकले यसरी नाफाको आकार उचाल्दा कुमारी बैंक भने सर्वाधिक नाफा बृद्धि गर्ने संस्था बनेको छ ।
गत आर्थिक वर्षको सुरुआति ३ महिनामा २६ करोड हाराहारी नाफा कमाएको कुमारी बैंकले यो साल १ अर्ब ८ करोड हाराहारी खुद मुनाफा गरेको छ । नेपाल राष्ट्र बैंकले दिएका केही नियामकीय छुटहरुको ज्यादातर लाभ कुमारीले प्राप्त गरेको यस आँकडाबाट देखिन्छ ।
यो तीन महिनामा कुमारीले पोहोरभन्दा ८१ करोड ४२ लाख ज्यादा नाफा आर्जन गरेको वित्तीय विवरणमा देखिएको छ । यो भनेको नेपाल एसबीआई बैंकले यो तीन महिनामा कमाएको कुल मुनाफा बराबर हो । अर्को तरिकाले भन्ने हो भने सिद्धार्थ, सिटिजन्स, कृषि विकास र राष्ट्रिय बाणिज्य बैंकको आर्जन गरेको कुल नाफाकै हाराहारी रकम कुमारी एक्लैले पोहोरको तुलनामा नाफा बृद्धि गरेको छ ।
त्यसपछि सर्वाधिक नाफा बृद्धि गर्नमा नबिल बैंक सफल भएको देखिन्छ । उसले यो सालको पहिलो त्रैमासमा पोहोरभन्दा ५८ करोड ७२ लाख बढी नाफा कमाएको छ । नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आईएमई बैंकले पनि कुमारी र नबिललाई पच्छ्याइरहेका छन् ।
एनएमबी, प्राइम, स्ट्याण्डर्ड चार्टर्ड र प्रभू बैंकले पनि धेरथोर नाफा बढाएकै छन् ।
प्रतिशतको आधारमा हेर्ने हो भने चाहीँ सिद्धार्थ बैंकले गत सालभन्दा झण्डै ८ गुणा (८०० प्रतिशत) नाफा बढाएको छ । लक्ष्मी सनराइजले ४२१ प्रतिशत र नेपाल बैंकले ३२३ प्रतिशत, कुमारीले ३०९ प्रतिशत नाफा बढाएका छन् ।
अब अर्बभन्दा बढी नाफा कमाउने सूची हेर्ने हो भने चाहीँ नबिल १ नम्बरमा आउँछ । यसले २ अर्ब ५ करोडभन्दा ज्यादा नाफा आर्जन गरेको छ । ग्लोबल आईएमईले डेढ अर्ब र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १ अर्ब ४६ करोडभन्दा धेरै नाफा गरेका छन् ।
प्राइम बैंकले सवा अर्ब, एनएमबीले १ अर्ब १४ करोड र एभरेष्टले १ अर्ब १२ करोड कमाएका छन् । कुमारी र प्रभूले पनि अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् । हिमालयन, लक्ष्मी सनराइजजस्ता ‘बीग मर्जर’ भएर आएका बैंकले भने पहिलो त्रैमासमा अर्ब नाफा बटुल्न नसकेको देखिएको छ ।