के महाप्रसाद अधिकारी ‘सी ग्रेड’का गभर्नर हुन् ?

काठमाडौँ । अमेरिकाको न्यूयोर्कमा मुख्यालय भएको र संसारका १६३ देशमा आफ्ना पाठक रहेको दाबी गर्ने म्यागेजिन ग्लोबल फाइनान्सले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई विश्वकै न्यून स्तरका गभर्नरमध्ये एक भएको प्रतिवेदन सार्वजनिक गरिदिएको छ ।
उक्त प्रतिवेदनले छिमेकी मुलुक भारतका गभर्नर भने संसारकै दोस्रो उत्कृष्ठ गभर्नर भएको जनाएको छ ।
नेपाली गभर्नर महाप्रसाद अधिकारीलाई गत साल (सन् २०२३) मा ‘बी माइनस’ रेटिङ दिइएको उक्त प्रतिवेदनमा यो साल (२०२४) भने ‘सी प्लस’ रेटिङ दिइएको छ । उक्त संस्थाले मुद्रास्फीति नियन्त्रण, आर्थिक बृद्धिको लक्ष्य, मुद्रा स्थायित्व र ब्याजदर व्यवस्थापनका आधारमा यस प्रकारको ‘रेटिङ’ गरिएको जनाएको छ ।
प्रस्तुत रेटिङले नेपालका गभर्नरको कार्यप्रगति अघिल्लो सालभन्दा पनि कमजोर भएको देखाउँछ । यो सन् २०२३ को प्रगति विवरणको आधारमा तयार पारिएको प्रतिवेदन हो । यसमा कोभीड १९ को समयमा अस्वाभाविक रुपमा विस्तार भएको कर्जा प्रवाहलाई रोकिदिँदा मौद्रिक विस्तार खुम्चिएको उल्लेख छ । यसो हुँदा १३.३ प्रतिशतले बढिरहेको कर्जा विस्तार एकै पल्ट ४.६ प्रतिशतमा झरेको प्रतिवेदनमा भनिएको छ ।
मूल्यबृद्धि नियन्त्रणमा पनि गभर्नरको सफलता औसतमात्रै भएको र आर्थिक बृद्धिलाई सहायता गर्ने मामिलाई नेपाली गभर्नर ज्यादै कमजोर देखिएको प्रतिवेदनमा उल्लेख छ । सन् २०२२ मा ५.६ प्रतिशत रहेको आर्थिक बृद्धि गत साल १.९ प्रतिशतमा झरेको र यो साल पनि साढे ३ प्रतिशतमात्रै हुने अनुमान रहेको भन्दै प्रतिवेदनले गभर्नर अधिकारीको कमजोरी उल्लेख गरेको छ ।
डेनमार्क, भारत र स्वीट्जरल्याण्डका गभर्नरहरुलाई ‘ए प्लस’ रेटिङ सहित संसारका उत्कृष्ट गभर्नर घोषित गरेको उक्त प्रतिवेदले गत साल पनि भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासलाई विश्वको ‘नम्बर १’ गभर्नर घोषित गरेको थियो । २०२२ मा भने उनले ‘ए’ ग्रेड पाएका थिए ।
तर यही रेटिङलाई आधार मान्ने हो भने सन् २०२२ को अवस्थाको तुलनामा चाहीँ महाप्रसाद अधिकारीले अहिले राम्रो काम गरेको देखिएको छ । त्यस बेलाको प्रतिवेदनले उनलाई ‘सी’ ग्रेडमा राखेको थियो । अर्कोवर्ष केही महत्वपूर्ण सूचकमा सुधार आएका कारण उनी ‘बी माइनस’मा उक्लिए पनि अहिले पुनः उनको प्रभावकारीता खस्किएको देखिएको छ ।
उक्त प्रतिवेदनमा पुरै एसिया प्यासिफिक क्षेत्रमा म्यानमार (बर्मा) लाई छाड्ने हो भने सर्वाधिक कमजोर गभर्नरको रुपमा अधिकारीलाई दर्शाइएको छ । अहिले राष्ट्रिय सेना र विद्रोहीबीचको द्वन्द्व चरममा पुगेर सत्ता हत्याउने चरणमा रहेको म्यानमारमा भने त्यहाँको गभर्नर थानथान स्वेले प्रभावकारी काम गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ । उनले ‘एफ’ ग्रेड पाएका छन्, यसले सबैभन्दा ‘तन्नम’ कार्यदक्षता भएको भन्ने जनाउँछ ।
अफ्रिकी देशहरुको तुलना गर्ने हो भने चाहीँ अल्जेरिया, पश्चिम अफ्रिकी राज्यहरु, गाम्बिया, मादागास्कर, नामिबिया, ताञ्जानिया र जाम्बियाका गभर्नरहरु पनि महाप्रसादकै दाँजोमा देखिएका छन् । मौरिटेनिया र एङ्गोलाका गभर्नर भने नेपालभन्दा कमजोर देखिन्छन् ।
अमेरिकी महाद्वीपहरुमा पनि भेनेजुयला, टोबागो र बोलिभियाका गभर्नर नेपालको तुलनामा कमजोर देखिएका छन् । त्यहाँ इक्वेडर र एल साल्भाडोरका गभर्नरको हैसियत अधिकारीकै हाराहारीमा छ । युरोपमै पनि जर्जीया र पोल्याण्डका गभर्नरको कार्यप्रगति नेपालका गभर्नरभन्दा खराब देखिएको छ ।
उक्त सूचीले म्यानमार र भेनेजुयलाका गभर्नरलाई सबैभन्दा कमजोर मानेको छ । यसरी यी दुई सहित संसारका ६ वटा केन्द्रिय बैंकका गभर्नरहरुभन्दा महाप्रसाद अधिकारी र उनको दाँजोमा उभिने अरु ९ जना गभर्नर ‘राम्रा’ देखिएका छन् ।