राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति, कति प्रभावकारी होला ?

काठमाडौँ । राजस्व चुहावट नियन्त्रणका लागि राजस्व प्रशासनका तीन महत्वपूर्ण विभागहरूले संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने भएका छन्।
भन्सार विभाग, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागका विभागीय प्रमुख सहित उच्च पदस्थ अधिकारीहरू संलग्न बैठकले राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने निर्णय गरेको हो।
बैठकले अन्तर विभागीय समन्वय बढाउने र आपसमा सूचना आदान प्रदान तथा सहकार्यलाई थप मजवुत बनाउने समेत निर्णय गरेको छ। एकै मन्त्रालयका यी भिन्नभिन्न विभागले सधैँभरी समन्वय गरेरै जानु पर्ने भए पनि निरन्तर राजस्वको सीमा भेट्टाउन नसकेपछि विभागहरुले यस्तो फण्डा निकालेका छन् ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधीमा गत वर्षको सोही अवधीको तुलनामा १३..३ प्रतिशतले राजस्व वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । तर यो लक्षित राजस्वको तुलनामा निकै कम हो ।
कात्तिक १३ सम्म २ खर्ब ७५ अर्ब ५४ करोड ४७ लाख राजस्व संकलन भएको छ । यो वार्षिक लक्ष्यको १९.४१ प्रतिशत हो । वर्षभरीकै सर्वाधिक आयात हुने मौसम टरिसकेको हुनाले अब आयातमा निर्भर राजस्व ब्यापक बढोत्तरी हुने संभावना कम छ । यसले सरकारलाई यो साल पनि लक्ष्यको तुलनामा राजस्व हासिल गर्नबाट बञ्चित गराउन सक्छ ।
२०७८ कात्तिक १३ मा लक्ष्यको २४ प्रतिशत राजस्व संकलन भइसकेको थियो । त्यति हुँदा पनि वर्षान्तसम्म पुग्दा केवल ९० प्रतिशतमात्रै राजस्व उठ्न सक्यो । यसले चालू आर्थिक वर्ष पनि राजस्व र खर्चको खाडल पुरिने संभावना नभएको देखिएको छ । त्यसलाई नियन्त्रण गर्नभन्दै संयुक्त रणनीतिको अभ्यास गरिएको छ ।