फेरिँदै सरकारी बैंकको वित्तीय चित्र, अहिले कुनको अवस्था कस्तो ? « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

फेरिँदै सरकारी बैंकको वित्तीय चित्र, अहिले कुनको अवस्था कस्तो ?



काठमाडौं । सरकारी स्वामित्वमा रहेका तीन वाणिज्य बैंकहरुको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ । बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । हाल राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंक सरकारी स्वामित्व सहित संचालनमा छन् । यी तीनै वटा बैंकहरुले अन्य निजी बैंक तथा वित्तीय सस्थाहरुसँगै निकै प्रतिस्पर्धा गरिरहेका छन् । निजी तर्फको बैंक भन्दा केही सूचकहरुमा यी बैंकको वित्तीय प्रगति लोभलाग्दो नै छ । नाफा, खुद ब्याज आम्दानी, वितरणयोग्य नाफा, प्रतिसेयर आम्दानी लगायतका मुख्य सूचकहरुमा सकरात्मक बढोत्तरी देखिएको छ ।

अब हेरौं चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारी बैंकहरुले हासिल गरेको वित्तीय प्रगतिहरु, कुन सूचकमा कुन तगडा ?

सम्पत्तिको आधारमा धनि देखियो आरविवि

सम्पत्तिको आधारमा राष्ट्रिय वाणिज्य बैंक धनि देखिएको छ । चालु आवको पहिलो त्रैमासमा बैंकको कुल सम्पत्ति ५ खर्ब ३ अर्ब ८० करोड ७ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको सम्पत्ति २४.९० प्रतिशत अर्थात् १ खर्ब ४३ करोड ३१ रुपैयाँ बढेको हो ।

यता, दोस्रो ठुलो धनीको सूचीमा रहेको नेपाल बैंकसँग पनि ३ खर्ब ४४ अर्ब ४३ करोड ५८ लाख रुपैयाँ सम्पत्ति छ । यो गत आवको पहिलो त्रैमासको तुलनामा १२.७५ प्रतिशत बढी हो । यस्तै, कृषि विकास बैंकसँग पनि हाल ३ खर्ब २९ अर्ब ७५ करोड २ लाख रुपैयाँ बराबरको सम्पत्ति छ । समिक्षा अवधिमा बैंकको सम्पत्ति १९.५२ प्रतिशत वृद्धि भएको हो ।

चुक्ता पुँजी

चुक्ता पुँजीको आधारमा कृषि विकास बैंक ठुलो छ । हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको १५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ छ । यता, नेपाल बैकको भने १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ छ ।

जगेडा कोष

जगेडा कोषको आधारमा भने राष्ट्रिय वाणिज्य बैंक बलियो देखिएको छ । हाल बैंकको यस्तो कोषमा ३७ अर्ब ४९ करोड २४ लाख रुपैयाँ छ । यता, नेपाल बैंकको भने २३ अर्ब २० करोड ३ लाख रुपैयाँ रहेको छ । यस्तै, कृषि विकास बैंकको जगेडा कोषमा भने १५ अर्ब ९९ करोड ३६ लाख रुपैयाँ छ ।

निक्षेप संकलन

समिक्षा अवधिमा सबैभन्दा धेरै निक्षेप राष्ट्रिय वाणिज्य बैंकले संकलन गरेको छ । बैंकले ४ खर्ब १५ अर्ब ३० करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यो गत आवको पहिलो त्रैमासको तुलनामा भने २७.५४ प्रतिशत बढी हो । यस्तै, नेपाल बैंकले २ खर्ब ८६ अर्ब २५ करोड ७० लाख र कृषि विकासले २ खर्ब ६० अर्ब १० करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

कर्जा लगानी

कर्जा लगानी पनि पनि राष्ट्रिय वाणिज्य बैंक नै अगाडि देखिएको छ । समिक्षा अवधिमा बैंकले २ खर्ब ६७ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यता, नेपाल बैंकले २ खर्ब ९ अर्ब ७० करोड ८४ लाख र कृषि विकासले २ खर्ब ४ अर्ब ९७ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।

खुद ब्याज आम्दानी

समिक्षा अवधिमा राष्ट्रिय बैंकको खुद ब्याज आम्दानी बढी देखिएको छ । बैंकले यस्तो आम्दानी १६.६७ प्रतिशत बढाएर २ अर्ब ३३ करोड १८ लाख रुपैयाँ पुर्याएको छ । समिक्षा अवधिमा नेपाल बैंकले ऋणीहरुबाट २ अर्ब २० करोड ८२ लाख र कृषि विकासले १ अर्ब ५४ करोड ४० लाख रुपैयाँ ब्याज उठाएका छन् । यद्यीप, यो गत आवको पहिलो त्रैमासको तुलनामा क्रमशः ०.४३ प्रतिशत र २४.१८ प्रतिशत कमी हो ।

खुद नाफा

खुद नाफामा भने कृषि विकास बैंकले छलाङ मारेको छ । गत आवको पहिलो त्रैमासमा बैंक ८८ करोड ८० लाख रुपैयाँ नोक्सानी थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने बैंक १९ करोड ९ लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ ।

यता, नेपाल बैंकको नाफामा पनि चमत्कारिक सुधार देखिएको छ । समिक्षा अवधिमा बैंकको नाफा ३३२.९८ प्रतिशत वृद्धि भई ६० करोड २१ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको छ । बैंक रकमको आधार भने नेपाल बैंक पहिलो सूचीमा छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको नाफा भने भारी गिरावट देखिएको छ । गत आवको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा ८२.४० प्रतिशत घटेर १५ करोड १३ लाख रुपैयाँ कायम भएको छ ।

वितरणयोग्य नाफा

चालु आवको पहिलो त्रैमासमा तीनै वटा सरकारी बैंकको वितरणयोग्य नाफा धनात्मक नै छ । समिक्षा अवधिमा कृषि विकास बैंकको २ अर्ब ७९ करोड ३१ लाख ११ हजार रुपैयाँ देखिएको छ । यस्तै, नेपाल बैंकको ९४ करोड ७९ लाख र राष्ट्रिय वाणिज्य २२ करोड ४६ लाख ६४ हजार रुपैयाँ छ ।

संचालन नाफा

समिक्षा अवधिमा बैंकहरुको संचालन नाफामा पनि बढोत्तरी देखिएको छ । वित्तीय विवरणअनुसार कृषि विकास बैंकको यस्तो नाफा २९ करोड ८१ लाख रुपैयाँ छ । गत आवको पहिलो त्रैमासमा बैंकको यस्तो नाफा ऋणात्मक थियो । यस्तै, नेपाल बैंकको संचालन नाफा ६९ करोड ५ लाख र राष्ट्रिय वाणिज्य बैंकको २१ करोड ३७ लाख रुपैयाँ रहेको छ ।

खराब कर्जा

समिक्षा अवधिमा सरकारी बैंकहरुको खराब कर्जा पनि औसतमा वृद्धि भएको देखिन्छ । गत आवको तुलनामा कृषि विकास बैंकले भने केही सुधार गरि ४.७८ प्रतिशत झारेको छ । गत आवको पहिलो त्रैमासमा बैंकसँग ५.३३ प्रतिशत खराब कर्जा रहेको थियो । यता, नेपाल बैंकको ३.९५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ४.२३ प्रतिशत पुगेको छ ।

प्रतिसेयर आम्दानी (इपिएस)

समिक्षा अवधिमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी (इपिएस) नेपाल बैंकको धेरै छ । पहिलो त्रैमासमा बैंकको यस्तो आम्दानी १६.३९ रुपैयाँ कायम छ । यो गत आवको सोही अवधिको तुलनामा भने १२.५१ रुपैयाँ बढेको हो । यस्तै, समिक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकको इपिएस ३.८७ रुपैयाँ र कृषि विकासको ३.२५ रुपैयाँ छ ।

प्रतिसेयर नेटवर्थ

प्रतिसेयर नेटवर्थ भने राष्ट्रिय वाणिज्य बैंक अघि देखिएको छ । पहिलो त्रैमासमा बैंकको प्रतिसेयर नेटवर्थ ३३९.९१ रुपैयाँ छ । यद्यपि, यो गत आवको सोही अवधिको तुलनामा भने केही कमी हो । यता, नेपाल बैंकको प्रतिसेयर नेटवर्थ २६४.७१ रुपैयाँ र कृषि विकासको २३७.८३ रुपैयाँ कायम भएको छ ।

आधार दर एकल अंकमै
समिक्षा अवधिमा तीनै वटा बैंकको आधार दर भने एकल अंकमै छ । सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.१५ प्रतिशत कायम भएको छ । यता, नेपाल बैंकको ६.७२ प्रतिशत र कृषि विकासको ७.०७ प्रतिशत छ । हाल यी बैंकहरुबाट कर्जा लिँदा एकल अंकको ब्याजदरमै ऋण लिन सकिने अवस्था छ ।


प्रतिक्रिया दिनुहोस्