विदेशी बजारमा अचारको माग बढ्दै, ३ वर्षमा झन्डै ३७ करोडको अचार निर्यात « Arthapath.com
२९ कार्तिक २०८१, बिहीबार

विदेशी बजारमा अचारको माग बढ्दै, ३ वर्षमा झन्डै ३७ करोडको अचार निर्यात



काठमाडौं । विदेशी बजारमा अचारको माग बढेसँगै यसको निर्यात पनि बढ्न थालेको छ । नेपालले हालसम्म झन्डै ३७ करोड रुपैयाँ बराबरको अचार निर्यात गरिसकेको छ । सरकारले अचार निर्यात गर्न छुट्टै शिर्षक खडा गरेयता ३६ करोड ७७ लाख २७ हजार रुपैयाँको अचार निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । त्यसअघि अन्य शिर्षकमा अचार निर्यात हुने गरेको थियो ।

सरकारले आर्थिक वर्ष ०७७/७८ देखि मात्रै निर्यात सूचीमा ‘अचार’ शीर्षक सिर्जना गरेको थियो। त्यसयता नेपालले ६ लाख ९८ हजार ८३७ केजी अचार निर्यात गरेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा अचारको माग बढ्दै गइरहेको छ । चालु आर्थिक वर्षको ३ महिनामा मात्रै ७ करोड ८० लाख ३१ हजार रुपैयाँको अचार निर्यात भएको देखिनछ ।

नेपालबाट अस्ट्रेलिया, इटाली, जापान, बेलायत र अमेरिका लगायत देशमा बढी मात्रामा अचार निर्यात हुने गरेको छ । त्यसैगरी, बेल्जियम, क्यानडा, चीन, जर्मन, हङकङ र कोरियामा पनि अचार निर्यात हुने गरेको छ ।

पहिलेपहिले आन्तरिक बजारमा मात्र अचार खपत हुने गरे पनि अहिले अन्तर्राष्ट्रिय बजारमा समेत अचारको माग बढ्न थालेको छ । नेपालबाट लप्सी, मुला, गाँजर, करेला, अकबरे खुर्सानी, अमलाको अचार निर्यात हुने गरेको छ । पछिल्लो समय मासुका परिकारबाट बनेका (बफ, चिकेन, माछा)लगायतका विभिन्न प्रकारका अचार समेत निर्यात हुने थालेको छ।

नेपालले गत आर्थिक वर्ष ०८०/८१ मा नेपालले १५ करोड ८ लाख १७ हजार रुपैयाँ बराबरको १ लाख ८२ हजार ९४२ किलो अचार निर्यात गरेको थियो।

गत आर्थिक वर्ष सबैभन्दा बढी अस्ट्रेलियामा ६ करोड ८१ लाख ३१ हजार रुपैयाँ, इटालीमा १ करोड ७४ लाख ६० हजार, अमेरिकामा १ करोड ६२ लाख २४ हजार, जापानमा १ करोड १७ लाख २५ हजार र बेलायतमा १ करोड ३ लाख १० हजार रुपैयाँको अचार निर्यात भएको थियो।

आर्थिक वर्ष ०७९/८० मा १० करोड २ लाख १४ हजार रुपैयाँ बराबरको अचार निर्यात भएका थियो। सो आर्थिक वर्षमा ३ लाख ७१ हजर ११२ केजी अचार निर्यात भएको विभागको तथ्यांकले देखाएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७८/७९ मा ३ करोड ८६ लाख ६४ हजार रुपैयाँको अचार निर्यात भएको थियो। आर्थिक वर्ष ०७७/७८ मा ३९ लाख २२ हजार रुपैयाँको निर्यात भएको थियो।

अचार आयातको तुलनामा निर्यात बढी हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । नेपालमा चीन, भारत, अस्ट्रेलिया र यूएईबाट अचार आयात हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्