४ महिनामा १९ अर्ब ८० करोडको वैदेशिक लगानी प्रतिबद्धता
काठमाडौं । ४ महिनामा १९ अर्ब ८० करोड १२ लाख २९ हजार २ सय ५० रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। स्वचालित प्रणाली, स्वीकृति र सेयर खरिदलगायतमा विदेशी लगानीकर्ताले उक्त परिमाणको लगानी भित्र्याउने प्रतिबद्धता जनाएको उद्योग विभागले जनाएको छ।
विभागका अनुसार उक्त लगानीमध्ये स्वचालित प्रणालीबाट ४ महिनामा १०९ उद्योगका लागि १ अर्ब ६२ करोड ७३ लाख ५७ हजार, अप्रुभल रुट (स्वीकृति लिएर)बाट १५४ उद्योगका लागि १७ अर्ब ३ करोड ७७ लाख ५६ हजार ४ सय रुपैयाँबराबर लगानी प्रतिबद्धता आएको छ ।
यसबाहेक सेयर खरिदलगायतमा २५ उद्योगका लागि १ अर्ब १३ करोड ६१ लाख १५ हजार ८ सय ५० रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ ।
गत कात्तिकमा मात्रै विदेशी लगानीकर्ताले स्वचालित रुटबाट ६१ करोड ३७ लाख ९६ हजार ८ सय रुपैयाँ ३६ उद्योगमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।
सबैभन्दा बढी साना उद्योगमा लगानी प्रतिबद्धता धेरै आएको छ। पर्यटनमा सबैभन्दा बढी, त्यसपछि सेवा, उत्पादन, कृषि, ऊर्जा, खनिज र सूचना प्रविधि क्षेत्रमा लगानी प्रतिबद्धता आएको छ।













