बैंकिङ्ग प्रणालीमा अधिक तरलता, २.७८ प्रतिशत बिन्दुले सस्तियो कर्जाको ब्याजदर « Arthapath.com
५ मंसिर २०८१, बुधबार

बैंकिङ्ग प्रणालीमा अधिक तरलता, २.७८ प्रतिशत बिन्दुले सस्तियो कर्जाको ब्याजदर



काठमाडौं । कर्जाको ब्याजदर निरन्तर घट्दो क्रममा छ । पछिल्लो एक वर्षको अवधिमा नै कर्जाको ब्याजदर साढे दुई प्रतिशत बिन्दुले सस्तिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको असोजमा वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर १२.११ प्रतिशत थियो । तर, यो वर्षको समिक्षा महिनामा भने २.७८ प्रतिशत बिन्दु घटेर एकल अंकलमा झरेको छ । असोजमा यस्तो ब्याजदर ९.३३ प्रतिशत कायम भएको छ ।

यता, विकास बैंकहरुको कर्जाको ब्याजदर पनि एक वर्षमा ३.२८ प्रतिशत घटेको छ । गत आवको असोजमा १३.९१ प्रतिशत रहेको थियो । तर, यो वर्षको समिक्षा महिनामा आइपुग्दा भने विकास बैंकहरुको कर्जाको औसत ब्याजदर १०.६३ प्रतिशत कायम भएको छ ।

यस्तै, वित्त कम्पनीहरुको कर्जाको औसत ब्याजदर पनि हाल ११.८६ प्रतिशत कायम भएको छ। यो गत आवको असोजको तुलनामा २.७५ प्रतिशत बिन्दु घटेको हो । गत आवको सो महिनामा यस्तो ब्याजदर १४.६१ प्रतिशत रहेको थियो ।

हाल बैंकिङ्ग प्रणालीमा तरलता अर्थात् लगानीयोग्य रकम बढी छ । गत आइतबारसम्म बैंकिङ प्रणालीमा ६६ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप पुगेको छ । कुल कर्जा लगानी पनि ५२ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप संकलनको तुलनामा कर्जा लगानी सुस्त नै छ ।

तर, कर्जाको माग भने न्युन छ । बैंकहरुमा लगानीयोग्य रकम फालाफाल हुँदा पनि उद्योग, व्यवसायी र अन्य क्षेत्रबाट कर्जाको माग न्युन छ । यसरी महिनैपिच्छे ब्याजदरद घटेको छ । कर्जाको माग नबढ्दा निक्षेपको ब्याजदर पनि निरन्तर घट्दै आएको छ, जसले कर्जाको ब्याजदर पनि घटीरहेको छ । निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागतमा पनि घटेको छ ।

कात्तिक महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेप तर्फ औसत ६.१८ प्रतिशत ब्याज प्रदान गरेका थिए । तर, मंसिर महिनाका लागि भने ०.२१७४ प्रतिशत बिन्दु घटाएका छन् । मंसिर महिनामामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा औसत ५.९७०३ प्रतिशत ब्याज प्रदान गर्ने भएका हुन् । यसरी निक्षेपको ब्याजदर निरन्तर घटीरहेको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकको निक्षेपको ब्याजदर पनि एक वर्षमा २.६६ प्रतिशत बिन्दु घटेर ५.२४ प्रतिशत कायम भएको छ । यस्तै, विकास बैंकको निक्षेपको ब्याजदर पनि ३.४२ प्रतिशत, वित्त कम्पनीको २.९८ प्रतिशत घटेर क्रमशः ५.९४ प्रतिशत र ७.२१ प्रतिशत कायम भएको छ ।

लागत घट्दा बैंकहरुको आधार दर (बेस रेट) पनि घट्दै गएको छ । एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको आधार दर २.६५ प्रतिशत बिन्दु घटेको छ । असोज महिनामा बैंकहरुको औसत आधार ७.२९ प्रतिशत कायम भएको छ । यस्तै, विकास बैंकको ९.१३ प्रतिशत र वित्त कम्पनीको १०.३५ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्