राष्ट्र बैंकमा पैसा राख्ने क्रम किन घट्यो ?

काठमाडौँ । बैंकहरुले नेपाल राष्ट्र बैंकमा लगेर पैसा (निक्षेप) राख्ने सुविधाको उपयोग घटाउन थालेका छन् । केन्द्रिय बैंकले यसै वर्षदेखि सुरु गरेको स्थायी निक्षेप सुविधाको उपयोग कम हुन थालेको देखिएको छ ।
बैंकमा निक्षेप रकम ज्यादै धेरै भयो भने सस्तो ब्याजमा राष्ट्र बैंकमा लगेर पैसा राख्न सकिन्छ । २–३ दिनका लागि राखिने यस्तो पैसामा बैंकहरुले थोरै ब्याप पाउँछन् । ब्याजदर करिडोरको कार्यान्वयनलाई पूर्णता दिन राष्ट्र बैंकले निकै ठिलागरी यो उपकरण कार्यान्वयनमा ल्याएको छ ।
यस्तो उपकरणले बैंकहरु तरलता बढी भएको बेलामा ब्याजदरलाई शून्य स्तरमै घटाउने परिस्थितिबाट जोगाउँछ । निक्षेप निरुत्साहित गर्दा वित्तीय प्रणाली ज्यादा उतारचढावपूर्ण हुने र यसले देशबाट पूँजी पलायनको संभावना पनि बढाउने भन्दै राष्ट्र बैंकले घाटै सहेर भए पनि निक्षेप किनिदिने गरेको छ ।
तर असोज अन्तिमतिर निकै धेरै प्रयोगमा आएको स्थायी निक्षेप सुविधा पछिल्ला दिनमा कमैमात्र उपयोग भएको देखिन्छ । यसले बैंकहरु बोलकबोलमार्फत् हुने निक्षेप संकलनमा लगानी गर्न र तरलताको ठूलो हिस्सा कर्जामै बदल्न पनि प्रयासरत रहेको देखिएको छ ।
त्यसमाथि दशैँ अघि पनि असोजका सुरुआति सातामा धेरै कम पैसा एसडीएफमा राखिएको र दर्शैको पैसा बैंकमा फिर्ता आएपछि यसरी पैसा राख्ने क्रम बढेको देखिन्छ ।
तर बैंकमा तरलता भने घटिसकेको छैन । राष्ट्र बैंककै अनुसार गत आइतबार नेपाली वित्तीय प्रणालीमा ९७ अर्ब २१ करोड ५९ लाख रुपैयाँ अधिक तरलता रहेको देखिन्छ ।