व्यवसाय वृद्धिमा आक्रामक देखिए बीमा कम्पनीहरु, व्यापारसँगै दायरा पनि बढ्यो

काठमाडौं । नेपाली बीमा बजारले विस्तारै गति लिँदैछ । पछिल्लो समय बीमा कम्पनीहरुको व्यवसायका आकार र दायरा पनि बढ्दै गएको छ ।
बीमा व्यवसाय साढे १० प्रतिशत वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को फागुन मसान्तसम्म आइपुग्दा कम्पनीहरुले १ खर्ब ३८ अर्ब ४ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
यो गत वर्षको तुलनामा भने १०.५६ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा पनि कम्पनीहरुले १ खर्ब २४ अर्ब ८५ करोड ९० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । हाल १४–१४ वटा ठुला जीवन तथा निर्जीवन र ७ वटा लघुबीमा कम्पनीहरु संचालनमा छन् ।
कोभिड महामारी, आर्थिक संकट लगायतका निकै प्रभावित भएको बीमा व्यवसाय पछिल्लो समयमा भने सकरात्मक रुपमा वृद्धि भइरहेको छ । आर्थिक शिथिलताकै कारण व्यवसाय बढ्नै निकै कठिन भईरहेको अवस्था थियो । तर, पछिल्लो समय भने मासिक रुपमा निरन्तर बढी रहेको छ । हाल आर्थिक गतिविधि पनि बढ्न थालेको छ, जसले बीमा व्यवसायको आँकडा पनि बढ्दै गएको छ ।
प्राधिकरणका अनुसार जीवन बीमा व्यवसायको ग्रोथ ११ प्रतिशत देखिन्छ । चालु आवको आठ महिनामा कम्पनीहरुले १ खर्ब ९ अर्ब ४३ करोड ५९ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् । यो गत आवको तुलनामा भने ११ प्रतिशत अर्थात् १० अर्ब ८४ करोड रुपैयाँ बढी हो । गत आवको फागुन मसान्तसम्ममा भने कम्पनीहरुले ९८ अर्ब ५९ करोड ६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
समिक्षा अवधिमा कम्पनीहरुको नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन पनि १७.१४ प्रतिशत बढाएका छन् । कम्पनीहरुले सो अवधिमा २३ अर्ब ८० करोड ८० लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्रएका छन् । जबकि, गत वर्षको सो अवधिमा भने १८ अर्ब ७२ करोड ५१ लाख रुपैयाँ मात्रै प्रिमियम कलेक्शन गरेका थिए ।
यस्तै, जीवन बीमा कम्पनीहरुले नविकरण मार्फत भने ८५ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुको यस्तो बीमा शुल्क ७.२२ प्रतिशत वृद्धि भएको देखिन्छ । हाल कुल सक्रिय जीवन बीमालेखको संख्या १ करोड ४२ लाख ३८ हजार ६४८ छन् । सक्रिय जीवन बीमाको संख्या ३.१२ प्रतिशत वृद्धि भएता पनि जारी बीमालेखको संख्या भने १७.६ प्रतिशत घटेको देखिन्छ । गत वर्षको फागुन मसान्तसम्ममा कम्पनीहरुले ४६ लाख ५३ हजार ७२९ वटा बीमालेख जारी गरेका थिए । तर, यो वर्षको सोही अवधिमा भने घटेर ३८ लाख ३४ हजार ५४४ वटा मात्रै जीवन बीमालेख जारी गरेका छन् ।
यता, निर्जीवन बीमा व्यवसाय पनि झन्डै ९ प्रतिशत वृद्धि भएको छ । प्राधिकरणका अनुसार आठ महिनामा कम्पनीहरुले २८ अर्ब ६० करोड ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत वर्षको फागुन मसान्तसम्मको तुलनामा भने ८.९१ प्रतिशत मात्रै धेरै हो । जबकि, गत वर्षको सो अवधिमा भने कम्पनीहरुले १९ लाख ५९ हजार ३८६ वटा निर्जीवन बीमालेख बिक्री गरि २६ अर्ब २६ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । प्राधिकरणका अनुसार निर्जीवन बीमालेख बिक्रीदर पनि ५.८२ प्रतिशत वृद्धि भएको छ । समिक्षा अवधिमा कम्पनीहरुले २० लाख ७३ हजार ४६३ वटा बीमालेख बिक्री गरेका छन् ।
प्राधिकरणका अनुसार बीमा व्यवसायसँगै दायरा पनि बढेको छ । हाल कुल जनसंख्याको ४४४.१७ प्रतिशत जनसंख्यामा बीमा पहुँच पुगेको देखिन्छ । जबकि, गत वर्षको फागुनमा ४३.१६ प्रतिशतमा सीमित रहेको थियो ।
आर्थिक शिथिलताले कम्पनीहरुको व्यापार नै नकरात्मक असर गरिरहेको थियो । अर्थतन्त्र चलायमान नहुँदा व्यवसायको आकार पनि घट्दो थियो । बीमाको दायरा पनि खुम्चिँदो नै थियो । तर, पछिल्लो समय भने केही आर्थिक गतिविधिसँगै कम्पनीहरुको व्यापारमा पनि बढोत्तरी देखिएको छ ।
प्राधिकरणका अनुसार गत माघमा ४३.९४ प्रतिशत, पुस मसान्तसम्ममा पनि ४३.६२ प्रतिशतमा बीमा पहुँच पुगेको थियो।
यस्तै, गत मंसिरसम्म पनि ४३.०२ प्रतिशत जनसंख्या बीमाको दायारामा थिए । यस्तै, कात्तिकसम्म ४२.९२ प्रतिशत, असोजसम्म ४२.८४ प्रतिशत, भदौसम्म ४२.९२ प्रतिशत र साउनसम्म भने ४२.७० प्रतिशतमा बीमाको पहुँच पुगेको थियो ।