सिबिफिनले किन माग्दै छ बैंकको गोप्य सूचना ? सफ्टवयरको भित्रि जानकारी माग्न थालेपछि बैंकर हैरान

काठमााडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुले एउटा मञ्च तयार पारेका छन्, ‘बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)’ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले भिन्दाभिन्दै क्लब बनाएर मौद्रिक नीति र राष्ट्र बैंकका निर्णयहरुमा सामुहिक लबिङ गर्न थालेपछि मालिकहरुले पनि यस्तै संस्थाको खाँचो देखेर सिबिफिनको स्थापना भएको थियो ।
सीईओहरुले बैंकको सञ्चालन र व्यवस्थापनमा मालिकको भूमिकालाई खुम्च्याउँदै लाने केन्द्रिय बैंकको योजनालाई सघाउन थालेपछि मालिहरु एकजुट बने ।
तर अब त्यही संस्थाले बैंकको आन्तरिक प्रणालीबारे गोप्य सूचनाहरु माग गर्न थालेपछि बैंकर नै हैरानमा परेका छन् । हालैमात्र सिबिफिनले हरेक बैंक तथा वित्तीय संस्थाको ‘अपरेटिङ सिस्टम’बारे गोप्य विवरणहरु माग गरेर पत्राचार गरेको छ ।
उक्त पत्रमा हरेक बैंकको सूचना प्रविधी प्रणालीका बारेमा विस्तृत विवरण मागिएको छ । त्यस्तो प्रणाली कहिले र कुन कम्पनीसँग किनिएको हो, कस्तो खालको सम्झौता भएको छ, कति पैसामा किनिएको हो, मर्मतको लागत कति हुन्छ, कस्ताकस्ता सहायक प्रणालीहरु त्यसमा जोडिएका छन् भन्नेजस्ता कयौँ प्रश्न सिबिफिनले गरेको छ ।
बैंकको सूचना प्रविधिसम्बन्धी अडिट गर्ने काम नेपाल राष्ट्र बैंकले नै गर्छ । प्रणालीको सुरक्षा, साइबर जोखिम, डेटा सुरक्षा, प्रतिरक्षाजस्ता हरेक पाटोलाई केन्द्रिय बैंकले ‘अडिट’ गर्ने गर्छ । यस्तो काममा सिबिफिनको कुनै भूमिका हुँदैन । सिबिफिन वा बैंकर्स संघजस्ता गैरसरकारी संस्थाहरुलाई यस किसिमको विवरण माग्ने र त्यसमाथि जाँचबुझ गर्ने कानूनी हैसियत र उनीहरुको दक्षता पनि छैन ।
तै पनि बैंक तथा वित्तीय संस्थाका अध्यक्ष एवम् सञ्चालकहरुको उक्त क्लबले विवरण माग्न थालेपछि बैंकरहरु अन्योलमा परेका छन् । कतिपय बैंकरले सुरक्षा जोखिमलाई असर नपर्ने गरी मोटामोटी विवरण दिने तयारी गरेका छन् भने कतिपयले विवरण दिने कि नदिने भनेर रोकिरहेका छन् ।
सिबिफिनले तेस्रो पक्षलाई सहभागि गराएर यसबारे अध्ययन गर्न खोजेका कारण बैंकका गोप्य विवरणहरु दिँदा गोपनीयता भंग हुने एक बैंकर बताउँछन् । ‘यसो गर्ने हो भने त सबै कुरा छताछुल्ल हुन्छ । बैंकको साइबर सुरक्षामा समेत यी गतिविधीले जोखिम निम्त्याउँछन्’ ती बैंकर भन्छन् ।
यसबारे आफूहरुले नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण गराउन चाहेको, तर त्यसो गर्दा सञ्चालक र प्रमुख कार्यकारी बीच द्वेष बढ्ने जोखिमले बैंकरहरु चुपचाप बसेको ती बैंकरले सुनाए । ‘यो विवरण माग्नमा कसैले मास्टर माइन्ड लगाइरहेको हुनसक्छ । तर हाम्रा साहूजीहरुलाई खर्च घटाउने भूतले सताएको छ’ ती बैंकरले थपे ।