ट्रम्पको आग्रहपछि एप्पलले भारतमा आइफोन उत्पादन बढाउने योजना रोक्ला ? « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

ट्रम्पको आग्रहपछि एप्पलले भारतमा आइफोन उत्पादन बढाउने योजना रोक्ला ?



काठमाडौं । भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व र त्यसपछिका घटनाक्रमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतीय संस्थापनसँग ज्यादा खुसी देखिँदैनन् ।

ट्रम्पले लगातार दक्षिण एसियाको युद्ध रोक्न आफू र आफ्नो प्रशासनले असाधारण सफलता हासिल गरेको बताइरहँदा भारतले ट्रम्पको दाबीलाई स्वीकार गरेन ।

पाकिस्तानले अमेरिका सहितका देशलाई धन्यवाद दिइरहँदा भारतले ‘केवल पाकिस्तानी गुहारका कारण आफूले युद्ध रोकेको’ भन्ने आशयले सूचना सम्प्रेषित गरिरह्यो । अमेरिकी भूमिकालाई भारतले स्वीकार नै नगरेपछि ट्रम्प आफैँ पछि हट्नु पर्यो ।

यसपछि ट्रम्पले एप्पल कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कूकसँग भारतमा आइफोन नबनाउन आग्रह गरेको बताए । चुनाव अघिदेखि नै युक्रेन र प्यालेस्टाइनको गाजामा भइरहेका युद्ध रोक्ने प्रतिबद्धता जनाएका ट्रम्प त्यसो गर्न सकिरहेका छैनन् ।

यस्तो बेला ‘फेस सेभिङ’ गर्न भारत–पाकिस्तानको बीचमा छिर्न खोजेका उनलाई भारतको ‘अस्वीकार’ले नराम्रो धक्का लाग्यो । सम्भवतः आफ्नो आत्मसम्मानमा चोट पुर्याएको महसुस भएपछि ट्रम्प भारतबाट अमेरिकी कम्पनीहरुलाई बाहिर निकाल्ने कोसिमा देखिएको हुनसक्ने कतिपयको बुझाइ छ ।

जे होस्, उनले एप्पललाई भारतमा होइन, अमेरिकामै आइफोन उत्पादन गर्न आग्रह गरे । ‘तपाइँ भारतमा कारखाना खोलिरहनु भएको छ भन्ने मैले सुनेको छु । तर म चाहँदिन कि भारतमा (आईफोन) बनाउनुस्’, ट्रम्पले सीईओ कूकसँग आफूले गरेको आग्रहबारे प्रेस वार्तामा बताएका छन् ।

उनले ‘यदी कूक भारतलाई मद्दत गर्न चाहन्छन् भने त ठीकै हो, तर भारत दुनियाँमा सबैभन्दा धेरै कर लगाउने देशमध्ये एक हो’ भनेर पुरानै आरोप दोहोराए ।

ट्रम्पले पश्चिम एसियाली खाडी राष्ट्रहरुको भ्रमणका दौरान भारतले अमेरिकी सामानमा शून्य भन्सार सुविधा दिने प्रस्ताव गरेको दाबी पनि गरे ।

यद्यपि, भारतीय विदेश मन्त्री सुब्रह्मण्यम जयशङ्करले अमेरिकासँग व्यापार वार्ता अहिले पनि भइरहेको बताएका छन् । ‘कुराकानी चलिरहेको छ । यो वार्ता निकै जटील छ । जबसम्म सबैकुरामा सहमति बन्दैन, तबसम्म कुनै कुरा पनि सुनिश्चित छैन’, उनले भने ।

एप्पलले सन् २०१७ बाट नै भारतमा उत्पादन सुरु गरेको थियो । यो उत्पादन हरेक साल बढ्दै गएको छ । पछिल्लो आर्थिक वर्षमा एप्पलले भारतमा मात्रै करीब २२ अर्ब अमेरिकी डलर बराबरको मूल्य पर्ने आईफोन उत्पादन गरेको थियो ।

यो भनेको अघिल्लो सालको तुलनामा ६० प्रतिशत बढी हो । भारतको आर्थिक वर्ष २०२४/२५ मा १७ अर्ब ४० करोड अमेरिकी डलर बराबरको आइफोन भारतबाट निर्यात गरेको थियो ।

यसै महिनामात्रै एप्पलले अमेरिकी बजारमा बिक्ने ज्यादातर आइफोन र अन्य उत्पादनलाई चीनबाट बाहिर निकाल्ने बताएको थियो । कम्पनीका सीईओ टिम कूकले नै केही दिन अघिमात्र लगानीकर्ताहरुसँग भनेका थिए, ‘अमेरिकी बजारमा बन्ने अधिकतर आइफोन भारतमा बन्ने छ भने आईप्याड र आईवाचजस्ता प्रडक्ट भियतनाममा बनाइने छ ।’

अहिले नै पनि संसारमा उत्पादन हुने कुल आईफोनमध्ये २० प्रतिशत भारतमा उत्पादन हुन्छ । एप्पलले अब यसलाई अझै बढाउने योजना अघि सारेको छ । एक विशाल बजारका रुपमा भारतको उदय पनि एप्पलको यस्तो योजनाको मुख्य कारण हो ।

भारतमा पछिल्ला केही वर्षयता आइफोनको विक्री लगातार बढ्दै गएको छ । तर चीनको बजारमा आइफोनको विक्री घट्न थालेको छ ।

यद्यपि, अहिले पनि एप्पलका उत्पादनको सबैभन्दा ठूलो ‘हब’ चीन नै हो । भलै हालका वर्षमा एप्पलसहित कयौँ बहुराष्ट्रिय कम्पनीहरु भारतमा प्रवेश गरिरहेका छन् ।

विश्लेषकहरुका अनुसार बदलिँदो विश्व परिवेशमा एप्पल कम्पनी आफ्नो समग्र उत्पादन श्रृङ्खलामा केवल चीनमा मात्रै निर्भर हुन चाहँदैन । अमेरिकामा डोनाल्ड ट्रम्प पुनः राष्ट्रपति बनेयता चीनसँगको ब्यापार युद्ध फेरि एक पल्ट चर्किएको छ ।

केही दिन अघिमात्रै अमेरिका र चीन आगामी ९० दिनका लागि भारी मात्रामा कर घटाउन राजी भएका छन् । त्यसपछि पनि वार्ता गर्ने सहमति बनेको छ । तर अझै पनि चीनको उत्पादनमा ३० प्रतिशत कर कायमै रहने छ ।

विश्लेषकहरु अझै पनि यस प्रकारको ब्यापार राजस्वको विषयमा अनिश्चितता बर्करार छ । महशूलको युद्धमा अमेरिकाले भविष्यमा के गर्छ भन्ने अनुमान लगाउन पनि मुश्किल छ । तर हालका लागि चीनभन्दा भारतबाट अमेरिकामा वस्तु निर्यात गर्दा निकै कम महशुल लाग्छ ।

यस्तो अवस्थामा एप्पलको प्राथमिकता भारतमा उत्पादन बढाउनेतर्फ नै केन्द्रित हुने जानकार बताउँछन् ।

एप्पलले भारतमा आइफोन उत्पादन गर्दा रोजगारीका लागि पनि ठूलो मद्दत मिलेको छ । नौ महिना अघिको एक प्रतिवेदनले एप्पलका वस्तु उत्पादन गरिरहेका र त्यससँग जोडिएका कम्पनीहरुमा १ लाख ६४ हजारभन्दा धेरै मानिस प्रत्येक्ष रोजगारीमा जोडिएको उल्लेख छ ।

भारतमा आईफोनको उत्पादन तीन कम्पनीले गर्छन् । फक्सकन, पेगाट्रन र टाटा इलेक्ट्रोनिक्सले आइफोन उत्पादन गरिरहेका छन् । ताइवानी निर्माता विस्ट्रन ग्रुपले पनि भारतको कर्नाटकमा आइफोन एसेम्बलिङ प्लान्ट स्थापना गरेको थियो । तर यसलाई टाटा इलेक्ट्रोनिक्सले अधिग्रहण गरिदियो ।

विश्लेषकहरु भारतको साटो अमेरिकामा आईफोन उत्पादन गर्न एप्पलका लागि त्यति सजिलो हुनेछैन । अमेरिकाको श्रमिक ज्यालादर उच्च पर्ने भएकाले त्यहाँ आइफोन उत्पादन गर्नु खर्चिलो पर्ने र यसले मूल्य बढ्ने उनीहरुको भनाइ छ ।

तर ट्रम्पको उक्त आग्रहपश्चात् एप्पले भारतमा उत्पादन बढाउने योजनामाथि पुनर्विचार गर्न सक्छ कि सक्दैन भनेर प्रश्न पनि उठिरहेको छ । विश्लेषकहरु यसको संभावना कमैमात्र देख्छन् । कम्पनीहरु आफ्ना हरेक निर्णयलाई ‘नाफा–नोक्सान’को तराजूमा तौलिन्छन् ।

विश्लेषकहरुका अनुसार एप्पलका लागि भारत आउनु एक ‘कमर्शियल’ निर्णय थियो । ताकी चीनमाथिको उसको निर्भरता घटाउन सकियोस् । यसका लागि कम्पनीले भारतमा संसाधन र मौका दुबै देख्यो र आयो । अब भारतमा एप्पल स्थापित भइसकेको छ । उसले पुरा ‘इकोसिस्टम’ तयार पारिसकेको छ ।

यस्तो अवस्थामा एप्पलका लागि भारतबाट निस्कन कुनै सहज निर्णय नहुने जानकार बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्